भारतले चामल निर्यात रोकेपछि नेपालको सतर्कता, देशभरका गोदाममा भण्डारण गर्न निर्देशन



काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपाल सरकारले सर्तकता अपनाएको छ । नेपाल सरकारले आगामी दिनमा देखा पर्न सक्ने संकटबारे अनुमान गर्दै विभिन्न कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

भारतले आन्तरिक उत्पादन निकै कम भएकाले आगामी दिनमा खाद्य संकटको सामान गर्न नपरोस् भन्दै आफ्ना नागरिकलाई खाद्य सुरक्षाको लागि निर्यात बन्द गरेको जनाएको छ । भारतले बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ ।

भारतबाट निर्यात हुने चामलमध्ये बासमतीबाहेकको चामलको हिस्सा करिब २५ प्रतिशत छ । भारतबाट थाइल्यान्ड, इटाली, स्पेन, श्रीलंका, अमेरिका, नेपाललगायतका १५० भन्दा बढी देशमा चामल निर्यात हुन्छ ।

सन् २०२१–२२ मा भारतबाट २ करोड १२ लाख टन चामल निर्यात भएको थियो । भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा यसको प्रत्यक्ष असर पर्ने व्यवसायीहरु बताउँछन्।

नेपालमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन गर्ने सरकारले योजना बनाएको छ । मुख्य सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ६६औं बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

त्यसक्रममा मुख्य सचिव अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा उपब्ध गोदामसमेत प्रयोग गरी आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्न मुख्य सचिव अर्यालले निर्देशन दिएको जानकारी दिए ।

नेपालले अधिकांश चामल भारतबाट आयात गर्ने भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका महासचिव दिपककुमार पौडेल बताउँछन् । उनकाअनुसार नेपालमा उत्पादन भएको धानले बजारमा माग धान्दैन । व्यवसायीहरुले भारतबाट आयात गरेर प्रशोधन गर्दै बजारमा बिक्री गर्ने हो । भारत सरकारले निर्यातमा प्रतिबन्ध गरेको अवस्थामा मूल्यमा प्रत्यक्ष असर देखिने भएको छ ।

‘नेपालले वार्षिक ६ लाख मेट्रिक टन ल्याउने कोटाको व्यवस्था छ,’ उनले क्लिकमान्डुसँग भने, ‘सरकारले तोकेको कोटाको कम हिस्सा मात्रै ल्याउन बाँकी छ । जसले गर्दा आगामी दिनमा चामलको मूल्य बढ्नेछ ।’

गत सेप्टेम्बरमा बासमतीबाहेकको अन्य चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा हप्तादिनमै चामलको मूल्य बढेको थियो । सो बेला व्यवसायीहरुले प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बढाएका थिए । त्यस्तै, भारत सरकारले निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा चामलको मूल्य बढ्ने व्यवसायीहरुले अनुमान गरेका छन् ।

नेपालले गत वर्षको जेठसम्ममा ७५ करोड ६४ लाख रुपैयाँको १८ अर्ब ९० करोड ७८ लाख रुपैयाँको ५० करोड ६७ लाख केजी धान आयात गरेको थियो । भन्सार विभागका अनुसार गत वर्षको ११ महिनाको अवधिमा १४ अर्ब ४४ करोड ३६ लाख रुपैयाँको नन–पोलिस चामल र २८ करोड ३० लाख रुपैयाँको ब्रोकन राइस नेपालले आयात गरेको थियो ।


क्लिकमान्डु