सेयर बजारमा विदेशी लगानी आवश्यकता कि बाध्यता ?
विश्व पुँजी बजारले विकास गरेको प्रविधि र कार्यशैली हामीले सहजरुपमा अनूकरण त गरिरहेका छौं, तर अत्यन्तै रुग्ण रुपमा । ‘झिङ्गा मारी टाँसी’ हो यस्तै अनुरुपको सिको सिद्दान्तको जगमा रहेर । आजको भूमण्डलीकृत विश्वबजार एउटा सानो संगठन सरह भइसकेको छ ।
लगानीको दृष्टिबाट कुनै पनि देशको सीमा अवरोध हुन छाडिसक्यो । जसका पछिल्ला उदाहरणहरु विश्व पुँजी बजारमा सहजै देख्न सकिन्छ । भारतलगायत विश्वका परिष्कृत पुँजी बजारमा देखिने विदेशी लगानीले त्यस क्षेत्रको पुँजी बजारको विकासमा टेवा पुर्याएको छ ।
भारतले करिब २४-२५ वर्ष अघिदेखि नै आफ्नो पुँजी बजारमा विदेशी लगानीलाई पूर्णरुपमा स्वागत गरेको थियो । जसको फलस्वरुप भारतको पुँजी बजार पुँजीकरणको दृष्टिबाट आज विश्वको ठूलो बजारहरुको गणनाभित्र पर्न थालिसकेको छ । यति मात्र होइन, भारतले विश्व पुँजीबजारले अवलम्बन गरेका विभिन्न सूत्रहरुका साथै आफ्नो किसिमको औजारहरुको पनि विकास गरिरहेको छ ।
सन् १९९० पछि भारतले आफ्नो दायराहरु क्रमिक रुपमा फैलाइरहेको छ । भारतको पुँजी बजार विश्व चासोको विषय भएको छ। आमरुपमा विदेशी प्रत्यक्ष लगानी र विदेशी संस्थागत लगानीलाई एकै ठाउँमा राखेर हेरिन्छ । हाम्रो सन्दर्भमा यी दुबै किसिमका लगानीको अनुभव हाम्रो अर्थतन्त्रलाई छैन ।
त्यसकारण बुझ्न के जरुरी हुन्छ भने, संस्थागत लगानी केवल धितोपत्र बजारमा ‘लगानी’ को हेतुले गरिन्छ, जुन छोटो समयका लागि हुन्छ । यसमा प्रत्यक्ष लगानीको तुलनमा पुँजी बढी चलायमान हुन्छ । साथै, व्यक्तिले संस्थागत लगानीको सीमाभित्र बसेर लगानी गर्न सक्छ, जुन विदेशी प्रत्यक्ष लगानीद्वारा असम्भव हुन्छ ।
नेपालमा पनि पुँजी बजारमा विदेशी लगानी भित्र्याउने र बजारका अंकहरुलाई गुणात्मक रुपमा वृद्धि गराउने आशाको खेती भहिरहेको छ । अझ भन्नु पर्दा यसैको आडमा बजारलाई तरङ्गित गर्ने र दिग्भ्रमित गराउने प्रयास पनि बेलाबेला हुने गर्छ । विदेशी लगानी देशमा भित्रिनु अत्यन्तै सकारात्मक कुरा हो । तर यसको सही व्यवस्थापन गर्न सकिएन भने कुनै पनि बेला हाम्रो बामे सरिरहेको पुँजी बजार थला पर्नसक्छ ।
त्यसकारण लगानी स्वागत गर्नुभन्दा पहिले यसका दुबै पक्षहरुको सूक्ष्म अध्ययन गर्न जरुरी हुन्छ । नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको माध्यमबाट मात्र पुँजी लगानी गर्न ढोका खोलिनुपर्छ र गैरआवासीय लगानीकर्ताको पनि त्यही व्यवस्थाअनुसार लगानी खुलाउनुपर्छ ।
नेपालको पुँजी बजारको आकारअनुसार सजिलै संस्थागत लगानी भित्रिँदैन । तर गैरआवासीय नेपालीको लगानी भित्रिन सक्छ । सुरुका दिनदेखि नै उचित अनुगमन तथा व्यवस्था गर्न जरुरी हुन्छ । गैरआवासीय नेपालीलाई पुँजी बजारमा गरिने लगानीको सीमा तथा धितोपत्र राफसाफ गर्न सकिने न्यूनतम अवधि तोकिनुपर्छ । किनभने पुँजी बजारमा यस्ता विदेशी लगानी आउँदा बजार संवेदनशील हुन्छ र धेरैजसो बजारमा सकारात्मक प्रभाव पर्छ र पुँजी बाहिरिँदा नकारात्मक प्रभाव पर्छ ।
संस्थागत लगानीकर्ता त्यस्तो संस्था हो, जो आफ्नो देश बाहिर गठन गरिन्छ र जसको प्रमुख उद्देश्य धितोपत्रमा लगानी गर्ने हुन्छ । जस्तै पेन्सन कोष, सामूहिक लगानी कोष, बैंक, विश्व विद्यालय कोषआदि । विदेशी संस्थागत लगानी अर्न्तगत यसले सिधैं आफ्ना लागि अथवा आफ्ना व्यक्तिगत ग्राहक, दुबैका लागि लगानी गर्न सक्छ ।
नियामक निकायले यस्ता सस्थागत लगानीकर्ताहरुलाई लगानीको अनुमति दिनुभन्दा अगाडि त्यस संस्थाको अनुभव, योग्यता, आर्थिक स्थिति, इमान्दारी, स्पष्टता आदिको अध्ययन गरेर मात्र दिनुपर्छ । विदेशी संस्थागत लगानीको गठन प्रक्रियासम्बन्धी देशको मान्यताअनुसार भएको हुनुपर्छ । साथै जुन देशको पुँजीबजारमा लगानी गर्ने हो, त्यस देशको केन्द्रीय बैंकको पूर्वस्वीकृति अत्यन्तै जरुरी हुन्छ ।
संस्थागत लगानीको उचित व्यवस्थापनको कारण बजारमा पुँजी वृद्धि हुनुको साथै धितोपत्र कारोबार बढाउँछ । अनि बजार मूल्य अनावश्यक रुपमा चलायमान हुन्छ । हाम्रो जस्तो संस्थागत सुशासन निकै कमजोर भएको बजारमा विदेशी लगानीको कारण अनावश्यक चलखेल हुँदैन भनेर विश्वास गर्न सकिन्न । यस्ता किसिमका लगानीहरु के उद्देश्यका साथ गरिएको छ भन्न सकिने अवस्था निकै न्यून हुन्छ ।
किनभने विदेशी संस्थागत लगानीकर्ता नाफा मात्रको उद्देश्यका साथ आउँदैनन्, उनीहरुको प्रमुख उद्देश्य आफ्नो लगानीमा विविधिकरण ल्याउनु पनि हुन्छ । सेयर बजार र विदेशी लगानीमा सकारात्मक सहसम्बन्ध हुन्छ । विगत केहि वर्षदेखि भारतीय पुँजी बजारमा गरिएको विदेशी लगानीको कारण त्यस बजारमा आएको चढावले यसको पुष्टि गर्छ ।
यद्यपि यस्ता लगानीका कारण भारतको अर्थराजनीतिमा गलत तरङ्ग पनि सँगै लिएर आएको छ । यस्ता लगानीका कारण संस्थागत राजनीति मौलाएको हामी महसूस गर्न सक्छौ । हाम्रो सर्न्दभमा सरकार संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा स्वागत गर्न तयारी गरिरहेको देखिन्छ । विदेशी लगानीले हाम्रो पुँजी बजारको पुँजीकरण बढ्नुको साथै प्रविधिको पनि विकास गर्न सकिन्छ ।
हाम्रा नियामक निकायले यस्ता लगानी भित्रिएसँगै साना लगानीकर्ताको अधिकार सुरक्षित गर्न सक्नुपर्छ । यसका लागि विदेशी लगानीकर्तालाई एउटा धितोपत्रमा शुरुमा १५ देखि २० प्रतिशतसम्म मात्र लगानी गर्ने अनुमति दिनुपर्छ । धेरैजसो विदेशी लगानीकर्ताहरुले आफ्नो पुँजीको जोखिम कम गर्न विभिन्न धितोपत्र बजारमा लगानी बिस्तार गर्छन् ।
त्यसकारण उनीहरुको पुँजी कुन समयमा धितोपत्र बजारमा भित्रन्छ, कुन समयमा बाहिरन्छ भन्न सकिन्न । यस्तो पुँजी चालको जोखिम कम गर्न सरकारले सीमा तोक्नु जरुरी हुन्छ । विदेशी भित्राउनुभन्दा अगाडि सरकार हाम्रो बजारको प्रविधिमा लगानी गर्न तयार हुनुपर्छ । कमजोर प्रविधिमा खेल्न यस्ता पोख्त विदेशीलाई ठूलो कुरा हुन्न ।
धितोपत्र बजारको कारोबार समय निकै न्यून छ । त्यसकारण यसको समय केही बढाउन पनि पहल गरिनुपर्छ । कागजी धितोपत्रलाई विद्युतीय प्रणालीमा समावेश गरिनु अर्को महन्वपूर्ण पक्ष हो । साथै धितोपत्र अपराधमा कारबाही गर्न कडा कानुनको पनि व्यवस्था गर्न जरुरी छ ।