सरकारले चलाउन सकेन चोभार सुख्खा बन्दरगाह, निजी क्षेत्रलाई ५ वर्ष चलाउन दिने



काठमाडौं । चोभार सुख्खा बन्दरगाहको सञ्चालन सरकारले गर्न नसकेपछि निजी क्षेत्रलाई यसको जिम्मा दिइने भएको छ । बन्दरगाहको सञ्चालन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले टेण्डर आह्वान गर्दै पाँच वर्षका लागि बन्दरगाह सञ्चालनमा दिइने जानकारी दिएको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै समितिले बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइन लागेको बताएको छ। उक्त सूचनाकाअनुसार ५ वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा नीति क्षेत्रलाई दिने गरि टेण्डर आह्वान गरेको हो ।

सूचनाकाअनुसार आगामी ४५ दिनभित्र इच्छुक कम्पनीले बोलपत्रका लागि आवेदन दिन सक्नेछन् । भदौ २२ गतेसम्म बोलपत्र भर्न सकिनेछ। आवेदन दिने कम्पनीहरुका लागि बन्दरगाह व्यवस्थापन तथा टर्मिनल व्यवस्थापन, वेयरहाउस, यातायात, क्लियरिङ एण्ड फरवार्डिङ लगायतका कामहरुमा कम्तीमा ५ वर्षदेखि संलग्न भएको र विगत तीन वर्षको औसत कारोबार कम्तीमा ६० लाख भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

२२० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैंकको सहयोगमा निर्माण गरिएको थियो । १ अर्ब ५६७ करोड ऋण सहयोगमा निर्माण गरिएको बन्दरगाह सञ्चालनमा आउँदा सोचेजस्तो व्यापार यहाँबाट भएको छैन ।

२०७८/७९ चैत २२ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको चोभार बन्दरगाह राम्रोसँग प्रयोगमा आउन सकेको छैन । यसअघि पनि चोभार बन्दरगाहको आधार भागलाई पार्किङ तथा लजिस्टिक सेन्टर बनाउने भन्दै छलफल समेत भएको थियो । सञ्चालनमा आएको ११ महिनामा ३० करोडको मात्रै आयात भएपछि उक्त बन्दरगाहको आधा क्षेत्रलाई पार्किङ तथा लजिस्टिक सेन्टरका रुपमा सञ्चालन गर्ने विषय पनि चर्चामा आएको थियो ।

हाल भने बन्दरगाहलाई निजी क्षेत्रलाई सञ्चालनका लागि दिइने भन्दै टेण्डर आह्वान भएको छ ।

अघिल्लो आवमा देशभरमध्ये ०.०४ प्रतिशत आयात चोभारबाट

आव २०७८/७९ चैतबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहबाट सो आवमा कुल ९ करोड ८८ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने ५ करोड बराबरको निर्यात भएको थियो । देशमा हुने कुल व्यापारमध्ये आयातमा ०.०१ प्रतिशत र निर्यातमा ०।०००९ प्रतिशत मात्रै निर्यात चोभार बन्दरगाहबाट भएको थियो ।

अघिल्लो आव अर्थात २०७९/८० मा भने चोभार बन्दरगाहबाट भएको आयात ६४ करोड २३ लाख रुपैयाँको आयात भएको थियो भने निर्यात १४ करोड ४२ लाख रुपैयाँको भएको थियो । यो भनेको देशको कुल व्यापारमध्ये आयाततर्फ ०.०४ प्रतिशत र निर्याततर्फ ०.०१ प्रतिशत मात्रै हिस्सा हो ।


क्लिकमान्डु