रेमिट्यान्स खातामार्फत ८८ अर्ब निक्षेप परिचालन, मुद्दती निक्षेप नै ८६ प्रतिशत



काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स)बाट खोलिएको खातामार्फत ८८ अर्ब निक्षेप परिचालन भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले २०८० वैशाख मसान्तसम्ममा रेमिट्यान्स खातामार्फत ८८ अर्ब निक्षेप परिचालन गरेका हुन् । यसमध्ये मुद्दती निक्षेपको अंश ८६.४ प्रतिशत छ ।

नेपालमा बैंकहरुले करेन्ट डिपोजिट, सेभिङ डिपोजिट, कल डिपोजिट र फिक्स्ड डिपोजिट (मुद्दति निक्षेप) गरी ४ प्रकारका निक्षेप खाता सञ्चालन गरेका छन् । मुद्दति निक्षेप भनेको कुनै निश्चित र लामो समयावधि तोकेर राखिएको निक्षेप हो ।

बैंकहरुले मुद्दती निक्षेपमा प्राप्त स्रोतका आधारमा लामो समयका लागि कर्जा लगानी गर्छन् । बैंकहरुको कर्जा लगानी गर्ने क्षमता कति लामो समयका लागि कति परिमाणमा मुद्दति निक्षेप संकलन छ भन्नेले निर्धारण गर्छ ।

त्यस्तै बचतकर्ताले पनि लामो समयका लागि राख्ने रकम उपभोगमा खर्च हुन पाउँदैन भने ब्याज पनि बढी प्राप्त हुन्छ । त्यसकारण रेमिट्यान्स खातामा पनि मुद्दती निक्षेपको अंश ८६ प्रतिशतभन्दा बढी हुनुले वैदेशिक रोजगारीमा रहेकाहरुले पठाएको पैसा उपभोगमा भन्दा बढी बचतमा गएको छ भन्ने स्पष्ट गर्छ ।

नयाँ र बढी आय हुने श्रम गन्तव्य मुलुकमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति र विप्रेषण आप्रवाहलाई गरिएको प्रोत्साहनले आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशत र अमेरिकी डलरमा १३ प्रतिशतले वृद्धि भएको छ । कोभिडको असर कम भएसँगै वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या उल्लेख्य रहे पनि आर्थिक वर्ष २०७९/८० मा उच्च स्तरमा विप्रेषण आप्रवाह भएका आधारमा आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाहको वृद्धिदर भने सामान्य रहने केन्द्रीय बैंकको आकलन छ ।

चालु आवको जेठसम्ममै ४ लाख ५९ हजार ४१५ नयाँ तथा २ लाख ६० हजार २६२ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

गत वर्षको ११ महिनामा ३ लाख १३ हजार ३६७ नयाँ तथा २ लाख ५९ हजार ९१ जना पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए ।


क्लिकमान्डु