भारतमा १ खर्ब लगानी गर्ने चिनियाँ कम्पनी बिवाईडीको प्रस्ताव अस्वीकृत



एजेन्सी । चिनियाँ विद्युतीय गाडी बनाउने कम्पनी बिवाईडी मोटर्सले आफ्नो उत्पादन कारखाना भारतमा स्थापना गर्ने प्रस्तावलाई भारत सरकारले अस्वीकार गरेको छ ।

बिवाईडीले भारतमा १ बिलियन अमेरिकी डलर (१ खर्ब ३१ अर्ब १० करोड ७१ लाख नेपाली रुपैयाँ) लगानी गर्दै विद्युतीय गाडी उत्पादन कारखाना खोल्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई भारत सरकारले अस्वीकार गरेसँगै चिनियाँ कम्पनीले भारतमा आफ्नो कारखाना खोल्न नपाउने भएको छ ।

सञ्चारमाध्यम इकोनोमिक्स टाइम्सको रिपोर्टअनुसार बिवाईडीले भारतको हैदराबादस्थित मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिडेट (एमईआईएल)सँगको साझेदारीमा विद्युतीय गाडी बनाउने कारखाना स्थापना गर्न खोजेको थियो । यसका लागि कम्पनीले भारतको उद्योग तथा आन्तरिक व्यापार संवर्धन विभागमा प्रस्ताव पनि प्रस्तुत गरेको थियो ।

तर, उक्त निकायले कम्पनीलाई भारतमा लगानी गर्न नदिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विभागले भारतका अन्य निकायसँग पनि यो विषयमा सल्लाह मागेको थियो । त्यस्तै, भारतीय निकायहरुले सुरक्षाको विषयलाई लिएर पनि प्रश्नहरु उठाएका थिए । जसपश्चात बिवाईडीको १ खर्बभन्दा ठूलो लगानी गर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ ।

हाल भारतमा बिवाईडीले विद्युतीय एसयूभी अटो थ्रि र विद्युतीय सेडान इसिक्स गाडी बिक्री गर्दै आइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीले भारतमा नयाँ गाडी पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।

हाल विश्वभरमा नै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरुमा बिवाईडी प्रमुखमध्येमा पर्छ । बिक्रीको हिसाबले बिवाईडी विश्वभरमै सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माण गर्ने कम्पनी हो ।


क्लिकमान्डु