सुबिसु केबलनेटको प्रयोगकर्ता बढ्दा एकै वर्ष गर्‍यो पौने ४ अर्ब आम्दानी



काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले एकै वर्ष पौने ४ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् १९९९ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको छ ।

कम्पनीले देशभर फाइबर र बेल इन्टरनेटसँगै डिजिटल टीभीको सेवा प्रदान गर्दै आएको छ । नेपालको तेस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ७ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२२ मा कर्पोरेट सेग्मेन्टबाट उच्च सब्स्क्राइबर बढ्दा व्यापार बढेको जनाएको छ । कपनीले सन् २०२२ मा २४.०६ प्रतिशतले नाफा कमाएको छ ।

सन् २०२१ मा २२.०५ प्रतिशतले नाफा कमाएको थियो । कम्पनीले एप्रु रेन्जबाउन्डमार्फत् ग्राहकहरुबाट वार्षिक १० हजार २३ रुपैयाँदेखि १० हजार ४१ रुपैयाँ लिएको थियो । पछिल्लो समय बजारमा इन्टरनेट सेवा प्रदायकबीच उच्च प्रतिस्पर्धा हुँदा मूल्य भने घटेको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ५२ प्रतिशत रिटेल ग्राहकबाट गरेको छ । त्यस्तै, सन् २०२३ को ६ महिनामा ५७ प्रतिशतले ग्राहक बढेका छन् । सन् २०२३ को ६ महिनाको अवधिमा कर्पोरेट ग्राहक २७ प्रतिशत र अन्य विभिन्न आयोजनामार्फत् २० प्रतिशत ग्राहक थपिएका छन् । कम्पनीको आम्दानीमा रिटेल सब्स्क्राइबरको उच्च उपस्थिति रहेको उल्लेख छ ।

कम्पनीले सेवा दिँदै आएकोमध्ये इन्टरप्राइज इन्टरनेटबाट ८ प्रतिशत, इन्टरप्राइज इन्ट्रानेटबाट १७ प्रतिशत र टीभी सर्भिस क्षेत्रबाट ७ प्रतिशत आम्दानी गरेको जनाएको छ ।

सुरेन्द्र श्रेष्ठ अध्यक्ष रहेको सेवा प्रादयक कम्पनीले ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागिक १ अर्ब ८८ करोड ५७ लाख रुपैयाँ अर्थातु एफोर रेटिङ पाएको छ ।

कम्पनीले नेपाली बजारको इन्टरनेट क्षेत्रको १० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीको देशभर २ लाख ६० हजार ग्राहक छन् । कम्पनीको उपत्यकामा १० वटा स्टेशन र देशभर ३० वटा शाखा छन् । साथै, कम्पनीले देशभर १५७ वटा फ्रेन्चाइजको सेवा दिँदै आएको छ ।

देशभर अहिले ६२ वटा इजाजतप्राप्त आइएसपी कम्पनी छन् । जसमा देशभर २६ लाख ३० हजार ग्राहक छन् ।


क्लिकमान्डु