वैदेशिक लगानी प्रतिबद्धता ३४% ले घट्यो, लगानीकर्ताले लाभांश र रोयल्टीसहित १७ अर्ब लैजान प्रस्ताव



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष वैदेशिक लगानी प्रतिबद्धता ३४.२३ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा विश्वका विभिन्न देशबाट ५८ अर्ब ४० करोड २७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। तर, आव २०७९/८० मा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ मात्र लगानी प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षमा विश्वका विभिन्न देशका लगानीकर्ताले ३२७ वटा नयाँ उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागका अनुसार साउनमा २ अर्ब ६४ करोड ९० लाख, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ८५ करोड ४७ लाख, कात्तिकमा ३ अर्ब ६५ करोड र मंसिरमा ८० करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

त्यसैगरी, पुसमा ४ अर्ब ८५ करोड २० लाख, माघमा १ अर्ब ३९ करोड ६ लाख, फागुनमा १ अर्ब ९२ करोड ९० लाख, चैतमा ७ अर्ब ५५ करोड १८ लाख, वैशाखमा १ अर्ब ६४ करोड ८३ लाख, जेठमा ४ अर्ब ९६ करोड ५३ लाख र असारमा ३ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) गरी १३८ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ । ती उद्योगले १६ अर्ब २४ करोड ९३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

अघिल्लो आर्थिक वर्षमा नयाँ लगानी र एसपीए/एसएसए र टीटीए गरी ५४ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार हालसम्ममा विश्वका विभिन्न देशबाट ४ खर्ब ५६ अर्ब ३८ करोड १० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।

गत आर्थिक वर्षमा ठूला ५ वटा, मध्यम २५ वटा र साना २९७ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।

सेवा क्षेत्र र पर्यटनमा विदेशी लगानी बढी आकर्षण

नेपालमा विश्वका विभिन्न देशबाट लगानी प्रतिबद्धता जनाउँदा सेवा क्षेत्रमा बढी आकर्षण देखिएको छ । गत वर्ष ३२७ वटा उद्योग दर्ता हुँदा सेवा क्षेत्र र पर्यटन क्षेत्रमा १३४-१३४ वटा उद्योग दर्ता भएका छन् ।

त्यसैगरी, गत आर्थिक वर्षमा उत्पादन क्षेत्रमा २९ वटा, सूचना र प्रविधि क्षेत्रमा १६ वटा, पूर्वाधार क्षेत्रमा १० वटा, मिनिरल क्षेत्रमा २ वटा र ऊर्जा र कृषि क्षेत्रमा १-१ उद्योग दर्ता भएका छन् ।

१७ अर्ब रुपैयाँ लाभांशसहित रोयल्टी लैजान प्रस्ताव

गत आर्थिक वर्षमा ३८ अर्ब नयाँ लगानी प्रतिबद्धता जनाउँदा १७ अर्ब रुपैयाँ रकम  लाभांशसहित रोयल्टी लैजान प्रस्ताव आएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा विदेशी लगानीकर्ताले स्वदेशमा लगानी गरेबापत नाफा कमाएको रकम १७ अर्ब ३ करोड ४९ लाख रुपैयाँ लैजान प्रस्ताव गरेका हुन् ।

विदेशी लगानीकर्ताले १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश र बाँकी ३ अर्ब १९ करोड १ लाख रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेका छन् । गत वर्ष २ अर्ब ३३ करोड ३६ लाख नेपाली रुपैयाँ, २१ लाख २६ हजार अमेरिकी डलर, ३५ करोड ६६ लाख भारतीय रुपैयाँ र ४९ हजार युरो विदेशमा रोयल्टी लैजान प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु