नगद अनुदानले फलामजन्य वस्तुको निर्यात हालसम्मकै उच्च, १० अर्बको निकासी



काठमाडौं । सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेपछि हालसम्मकै उच्च निकासी भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा विभिन्न ३६ वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा १५ दिनभित्रै नगद जम्मा गरिदिने व्यवस्था गरेको थियो, जसमा स्टिलजन्य वस्तु पनि समावेश छ ।

सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेपछि चालु आर्थिक वर्षको ११ महिनामा हालसम्मकै उच्च निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार जेठसम्ममा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँको ७ करोड ५६ लाख ९२ हजार केजी स्टिलजन्य वस्तु निर्यात भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब २९ करोड २८ लाख रुपैयाँको आइरन र स्टिलजन्य वस्तु निर्यात गरेको थियो । साथै, गत वर्ष नेपालबाट ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आथिक वर्षको सोही अवधिमा २००.६ प्रतिशतले बढी निर्यात बढेको हो ।

नेपालले अधिकांश स्टिलजन्य सामग्री भारतमा निर्यात गरेको छ । नेपालले भारतमा मात्रै ९ अर्ब १६ करोड ७६ लाख रुपैयाँको ७ करोड ५२ लाख ८३ हजार किलो स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

त्यस्तै रोमनियामा ७ करोड २२ लाख रुपैयाँको  ४ लाख ९ हजार केजी र ताइवानमा २ लाख रुपैयाँको ११ सय ५० किलो स्टिलजन्य वस्तु निर्यात गरेको छ ।

सरकारले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवा पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशत निर्यात अनुदान पाउने व्यवस्था गरेको छ ।

चुलिँदो व्यापार घाटा कम गर्न र आन्तरिक उत्पादन बढाउँदै विदेशी मुद्राको भण्डारण बलियो बनाउने उद्देश्यले सरकारले निर्यातमा प्रोत्साहन गर्दै ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा चालु आर्थिक वर्षको बजेटमा गरेको हो । बजेटमा अनुदानको व्यवस्था गरेसँगै निर्यातमा उछाल आएको छ ।

साढे १ खर्बको स्टिलजन्य वस्तु तथा कच्चा पदार्थ आयात

नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा साढे १ खर्ब रुपैयाँको स्टिलजन्य वस्तु तथा कच्चा पदार्थ आयात गरेको छ । विभागको तथ्यांकअनुसार  १ खर्ब ५३ अर्ब ८५ करोड ६२ लाख रुपैयाँको १ अर्ब ८५ करोड ४१ लाख ९२ हजार किलो आयात भएको हो । उक्त आयातित वस्तुबाट नेपालले २८ अर्ब २ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले ११ महिनाको अवधिमा भियतनामबाट २ करोड ५५ लाख, अमेरिकाबाट १७ करोड  ५७ लाख, बेलायतबाट २ अर्ब ७१ करोड ७४ लाख, थाइल्यान्डबाट १३ करोड ३ लाख, ताइवानबाट १४ करोड २५ लाख र स्विडेनबाट ६५ करोड ९२ लाख रुपैयाँको स्टिलजन्य वस्तु तथा स्टिलजन्य कच्चा पदार्थ आयात गरेको छ ।

त्यसैगरी, कतारबाट १ करोड ३५ लाख, पोल्यान्डबाट ७ करोड ८७ लाख, नेदरल्यान्डबाट ९ करोड १६ लाख, मलेसियाबाट ४ अर्ब २० करोड ९२ लाख, कुवेतबाट २ करोड २४ लाख, दक्षिण कोरियाबाट ४ करोड ४० लाख, आयरल्यान्डबाट ६ करोड ७८ लाख र इन्डोनेसियाबाट ३ अर्ब ५६ करोड १३ लाख रुपैयाँको स्टिलजन्य वस्तु तथा स्टिलजन्य कच्चा पदार्थ आयात भएको छ ।

विभागका अनुसार भारतबाट ११ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब २४ करोड ७२ लाख, जर्मनीबाट १९ करोड २९ लाख , फ्रान्स २ करोड ३१ लाख, चीनबाट ९ अर्ब ५ करोड ६५ लाख, बेल्जियमबाट १९ करोड २२ लाख र अष्ट्रियाबाट १ करोड १४ लाख रुपैयाँको स्टिलजन्य वस्तु तथा स्टिलजन्य कच्चा पदार्थ आयात भएको छ ।


क्लिकमान्डु