कृषि पर्यटनको गन्तव्य बन्दै पर्वतको गेप्ताङ



काठमाडौं । गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् ।

विहादी गाउँपालिकामा अवस्थित पैयुँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित वडा नं ५ उरामपोखराको मगर बस्ती गेप्ताङ गाउँको घरबास पर्यटन नमुना कृषि पर्यटनको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेको हो ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको गेप्ताङ र आसापासका क्षेत्रको विकासमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयास थालेको छ । प्याराग्लाइडिङको परीक्षण सफल भएको बस्तीमाथिको लुप्रेङडाँडा, हातेमालो चोकदेखि गोर्ल्याङधाम पुग्ने पैदल मार्ग छेवैको गेप्ताङको मगर बस्ती अहिले पाहुना बिसाउने थलोका रूपमा स्थापित हुँदै गएको छ ।

पाहुना गाउँमा पुग्दा स्थानीय मगर समुदायले मगर जातिको सालैजो र मारुनीमा नचाउँदै स्वागत गर्ने गरेका छन् । मगर संस्कृतिको पुरानो चलन जीवित रहेको यस बस्तीमा पछिल्ला दिनहरुमा घरबास पर्यटनले समेत महत्व पाएको छ ।

गेप्ताङ सामुदायिक घरबास ‘होमस्टे’मा गरिएको स्वागत र स्थानीय रुपमा उत्पादन हुने खाद्यान्न तथा आवास शैली सहरी होहल्लाबाट मुक्त हुँदै शान्त र मनोरम हावापानीमा रमाउन चाहनेका लागि गन्तव्य बनेको हो ।

स्थानीय जंगलमै पाइने सिस्नो, ढकायो र कोदो तथा फापरको ढिँडोका पारखीलाई गेप्ताङले लोभ्याउँदै आएको छ । मगर संस्कृतिको बटुक अर्को परिकार हो । स्थानीय होमस्टे सञ्चालक शेरबहादुर थापा मगरका अनुसार २०७० सालदेखि नै होमस्टेको अभ्यास गर्दै आएकामा २०७५ सालदेखि वैधानिक रुपमा होमस्टे सञ्चालन गरिएको छ ।

करिब ३५ घरधुरी रहेको गेप्ताङमा पर्यटक र कृषि मन्त्रालयको पाक शिक्षा तालिम पाएपछि स्थानीय परिकारले महत्व पाउन थालेको हो । अहिले दैनिक १० देखि १५ जनासम्म घुम्न र बस्न तथा प्याराग्लाइडिङ गर्न आउनेको दर बढेपछि घरबास सञ्चालकको व्यापार व्यवसाय फस्टाउँदै गएको छ ।

सामुदायिक होमस्टेका पदाधिकारीको सक्रियतामा घर बाँडेर पाहुनाको व्यवस्थापन गर्दै आएको थापाले बताए । स्थानीय जातजाति, संस्कृति अवलोकन गर्दै भाषा र संस्कृतिमा रमाउनेका लागि पनि होमस्टे अहिले गन्तव्य बनेको स्थानीयवासी ऋषिराम भुसालको भनाइ छ । मगर जातिको संस्कार सालैजो, मागी, कौडा, घाटु नाचबाट ख्याति पाएका कारण पनि अहिले अध्येताहरुको पनि आकर्षण बढेको उनले बताए ।

हालै मात्र गण्डकी प्रदेशको नियमित कार्यक्रम कृषकसँग कृषिमन्त्रीका लागि गन्तव्य र स्थानीय व्यवस्थापनको मौका पाएको गेप्ताङ कृषि र पर्यटनलाई जोड्ने अवसरसँगै रैथाने बाली अध्ययन पकेट क्षेत्रका रुपमा सहजीकरण गर्ने मन्त्रालयको योजना हात पार्न सफल भएको छ ।

गण्डकी प्रदेश सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न र स्थानीय संस्कृतिको जगेर्ना तथा उजागर गर्न पनि होमस्टे महत्वपूर्ण रहेको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए ।

स्थानीय रुपमा उत्पादन हुने खाद्यान्नको पाक शिक्षा पाएपछि आगन्तुकलाई परिकार खुवाउन सहज भएको वडाध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिए । कृषि र पर्यटनलाई जोडेर विहादी गाउँपालिकाले रैथाने खाद्यान्नको गन्तव्य बनाउन प्रयास गरिरहेको उनको भनाइ छ । स्थानीय बालीसँगै गाउँमै उत्पादित खाद्यान्नका परिकार बनाउने तालिम सञ्चालन गरेर घरबास प्रवर्धन गराउन लागिपरेको घरबास सञ्चालकहरुले बताएका छन् ।


क्लिकमान्डु