किन आकासियो आँपको मूल्य ?



काठमाडौं । स्वदेशी उत्पादन आँप सकिँदै गएपछि मूल्य महंगिदै गएको छ । जेठ अन्तिम हप्ताबाट पर्याप्त मात्रामा पाउन थालेको आँपको सिजन सकिँदै गएपछि बजारमा महंगिन थालेको हो ।

बजारमा मौसमअनुसार फलफूल भित्रिने गर्छ । उक्त समयमा मूल्य सस्तिन गई उपभोक्ताले सस्तो मूल्यमा उपभोग गर्न पाउँछन् । त्यस्तै, अहिले भनेको आँपको सिजन हो । त्यसैले बजारमा जताततै आँप देख्न सकिन्छ ।

जेठको अन्तिमबाट पर्याप्त मात्रामा पाइन थालेको आँपको सिजन सकिन लागेको छ । साथै, स्वदेशी उत्पादित आँप बजारमा कम मात्रामा भित्रिरहेका छन् । बजारमा स्वदेशी आँप भित्रिन छोडेसँगै मूल्य बढ्न थालेको छ ।

सिजनमा नेपालमै पर्याप्त मात्रामा आँप उत्पादन हुँदा आयात हुँदैन । तर, नेपाली बजारमा आँपको सिजन सकिँदै जाँदा भारतबाट आयात हुने गरेको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्थामा प्रतिकेजी ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भएको थियो । तर, आन्तरिक बजारमा स्वदेशी उत्पादन आउन छोडसँगै हप्तादिनमै मूल्य ह्वात्तै बढेको छ ।

दुई हप्तासम्म औसम मूल्य प्रतिकेजी ७५ रुपैयाँमा बिक्री भएको आँप मूल्य अहिले बढेर प्रतिकेजी १३० रुपैयाँसम्म बिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार गत असार १६ गते मालदह आँपको औसत मूल्य थियो भने दसहरी आँपको मूल्य प्रतिकेजी ८६.६७ रुपैयाँ तोकेको थियो ।

त्यसैगरी, गत असार २१ गते मालदह आँपको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । तर, एक हप्तापछि मालदह आँपको मूल्य प्रतिकेजी १३० रुपैयाँ र दसहरी आँपको मूल्य १२५ रुपैयाँ कायम भएको छ ।

साथै, बजारमा चोसा आँपको औसत मूल्य प्रतिकेजी १०५ रुपैयाँ र कलकत्ते आँपको मूल्य ६६.६७ रुपैयाँ तोकेको छ । विकास समितिले बजारमा उपलब्ध भएको वस्तुअनुसार मूल्य तय गर्दै आएको छ । उक्त तथ्याङ्कले स्वदेशी आँप बजारमा कम आउन थालेपछि भारतीय आँप आयात हुन थालेको स्पष्ट गर्छ ।

कुलेश्वर फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले स्वदेशी आँपको सिजन सकिएसँगै भारतीय आँप भित्रिन थालेको बताए । उनकाअनुसार फलफूलमा राजा मानिने आँपको सिजनमा आन्तरिक उत्पादनले बजार धान्दै आएको छ । तर, स्वदेशी उत्पादनको सिजन सकिनै लाग्दा भारतबाट आयात हुन थालेको छ ।

‘आँपको सिजनमा अन्य फलफूलको खपत निकै कम हुन्छ । आन्तरिक उत्पादनको आँप बजारमा आउँदा प्रतिकेजी ७० रुपैयाँमा उपभोग गर्न पाउँछन् । तर, पछिल्ला हप्तादेखि स्वदेशी उत्पादन सकिँदै जाँदा मूल्य ह्वात्तै बढेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत अन्य विभिन्न जिल्लाको आँप बजारमा पाउन सकिन्छ । सिजन सुरु भएसँगै दैनिक एक सय टन भित्रिएको आँप अहिले आपूर्ति कम हुन थालेको उनको भनाइ छ ।

त्यस्तै, आन्तरिक उत्पादनको आपूर्ति कम हुन थालेपछि नेपाली व्यवसायीहरुले भारतको आँप नेपाली बजारमा ल्याउन सुरु गरेका छन् । साथै, आयातित आँप स्वदेशीभन्दा महंगो मूल्य पर्ने उनले बताए ।


क्लिकमान्डु