ललिता निवासको जग्गा धितोमा ११ बैंकको २ अर्ब ४१ करोड बढी लगानी, कुन बैंकको कति ?



काठमाडौं । ललिता निवासको जग्गा धितोमा बैंक तथा वित्तीय संस्था २२ जना व्यक्ति र १ कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको पाइएको छ । उनीहरुले जग्गा किन्न कर्जा लिएको र त्यही जग्गा बैंकमा धितो राखेको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले ललिता निवासको जग्गा किन्नेहरुलाई धमाधम पक्राउ गर्न थालेपछि उक्त जग्गा धितो राखेर लिएको बैंकको ऋण के हुन्छ ? भन्ने चासो बढेको छ । किनभने, बैंकको लगानी भनेको सर्वसाधारणको निक्षेप हो ।

विबादास्पद जग्गा किन्नका लागि बैंक, फाइनान्स कम्पनीदेखि सहकारीबाट समेत कर्जा लिएको पाइएको छ । ललिता निवासको जग्गा धितोमा राखेर १० लाखदेखि ६९ करोड रुपैयाँभन्दा बढीसम्म पनि कर्जा लिएको पाइएको छ । उक्त जग्गा किन्न धितो राखेर कर्जा दिएपनि कतिपय बैंक तथा वित्तीय संस्था मर्जर समेत भइसकेका छन् ।

नेपाल बैंकबाट भारती पाण्डेले २०७३ जेठ २६ गते १० लाख कर्जा लिएकी छिन् । हिमालयन बैंक संगिता कोठारी राखेथाले २०७३ असार १६ गते ३ करोड ३१ लाख कर्जा लिएकी थिइन् ।

तत्कालिन यती डेभलपमेन्ट बैंकबाट सन्दीप ढकालले २०७१ पुस ३ गते ४९ लाख रुपैयाँ जग्गा धितो राखेर कर्जा लिएको पाइएको छ ।

ग्लोबल आईएमई बैंक शोभाकान्त र उमा कुमारीले २०७० माद्द ८ गते ३ करोड ७५ लाख, बैंक अफ एशियाबाट प्रविण ताम्राकारले ७५ लाख ७८ हजार १२५ रुपैयाँ कर्जा लिएका छन् । उनले २०६५ फागुन २८ गते उक्त कर्जा लिएका हुन् ।

काठमाण्डप डेभलपमेन्ट बैंकबाट नितु गुरुङले १ करोड ४० लाख कर्जा लिएकी छिन् । उनले २०७० कात्तिक ११ गते कर्जा लिएको पाइएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकबाट पुरुषोत्तम पौडेलले ६९ करोड १० लाख कर्जा लिएका छन् । उनले २०६३ साल माघ २३ गते २६ करोड र २०७२ असार २४ गते ललिता निवासको जग्गा धितो राखेर ४३ करोड १० लाख रुपैयाँ कर्जा लिएको पाइएको छ । यस्तै उक्त बैंकबाट इन्दु शर्मा ६९ करोड १० लाख रुपैयाँ कर्जा २०६४ वैशाख २३ गते कर्जा लिएको पाइएको छ । उनले वैशाख २३ गते २६ करोड र २०७३ असोज १७ गते ४३ करोड १० लाख कर्जा लिएको पाइएको छ । २०६१ साल चैत २९ गते विवेक कुमार सुवेदीले बैंकबाट १० करोड कर्जा लिएका थिए ।

नेपाल डेभलपमेन्ट एन्ड इमप्लायमेन्ट प्रमोसन बैंक नुतन श्रेष्ठले २० लाख लिएका छन् । उनले २०६४ साउन १४ गते कर्जा लिएकी थिइन । प्राइम बैंकबाट सन्ध्या शाक्यले २ करोड ४२ लाख रुपैयाँ २०६६ माघ ११ गते ६० लाख र २०७१ जेठ ११ गते १८ करोड २० लाख ऋण लिएका थिए ।

लक्ष्मी बैंकबाट सरला गुरुङले २०७१ माघ १९ गते १८ करोड ३५ लाख, कामना गुरुङले २०७१ माघ १९ गते १४ करोड ३५ लाख र कल्याण गुरुङले २०७१ माघ १९ गते १४ करोड ३५ लाख कर्जा लिएका थिए ।

तत्कालिन किष्ट बैंकबाट सरस्वती घले गुरुङ र सरला गुरुङले १० करोड रुपैयाँ जग्गा धितो राखेर कर्जा लिएको पाइएको छ । उक्त कर्जा २०६८ मंसिर ६ गते लिएको पाइएको छ ।

यस्तै आईएमई फाइनान्स इन्स्टिच्युटबाट उमाकुमारी ढकाल र माधवी सुवेदीले १ करोड ९० लाख रुपैयाँ कर्जा २०६७ असोज २५ गते कर्जा लिएका थिए ।

२०६६ असार २६ गते तत्कालिन युनिक फाइनान्स इन्स्टिच्युसनलबाट बद्री लक्ष्मी श्रेष्ठले १ करोड कर्जा लिएका थिए ।

मन्ती गोर्खालीले तत्कालिन युनिक फाइनान्सबाट २०६७ चैत २२ गते २ करोड कर्जा ललिता निवासको जग्गा धितो राखेर निकालेकी थिइन् ।

आर्या तारा बचत तथा ऋण सहकारी संस्थाबाट केशव तुलाधरले २०७३ असार १६ गते २ करोड कर्जा लिएको पाइएको छ ।

तत्कालिन एनआईडीसी डेभलपमेन्ट बैंकबाट डिएलएफ डेभलपर्स १५ करोड कर्जा २०७१ वैशाख २ गते लिएको पाइएको छ । उक्त कम्पनीका सञ्चालक कैलाशचन्द्र गोयल हुन् । यो हाल राष्ट्रिय वाणिज्य बैंकसँग मर्जर भएको छ ।

बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि व्यापारीसम्मले हत्याइएको पाइएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको देखिएको जनाएको छ ।

यही प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ९ जना प्रहरी हिरासतमा रहेका छन् ।


क्लिकमान्डु