फिल्म हलदेखि क्यासिनोसम्मलाई बालेनको निर्देशन: टिकट डिजिटल गरेर महानगरलाई पहुँच दिनू



काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन करका करदताहरुलाई डिजिटल प्रणालीमा प्रवेश गर्न निर्देशन दिँदै सिनेमा हल, क्यासिनो तथा मनोरन्जन व्यवसायहरुलाई पत्र काटेको छ ।

महानगरले मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्ने भएमा त्यसलाई डिजिटल प्रणालीमा तीन दिनभित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भएमा महानगरको पत्र प्राप्त भएको ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याएर त्यसमा महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।

महानगरले ओकुलर होल्डिङ्स, गोपीकृष्ण मुभिज प्रालि, के एल सिनेमा सिटी, कोर प्लान विल्डर्स प्रा.लि, अष्टनारायण पिक्चर्स, कलंकी सिनेमा, सार्थक इन्टरटेनमेन्ट, दरबार सिनेम्याक्स, रञ्जना सिनेप्लेक्स, सेन्ट्रल सिनेमाज, सिने डि सेफ, विश्वज्योति सिनेमा, सिनेमार्क भुविज, सिनेस्टार प्रालि, छाँया सिनेमाज, लोत्से इन्टरटेनमेन्ट, काठमाडौं फनपार्कलाई पत्र काटेको छ । त्यस्तै, क्यासिनो सञ्चालन गरिरहेका माजोङ्ग इन्टरटेनमेन्ट, बोलीज क्यासिनो, प्राइड इन्टरटेनमेन्ट, एटलान्टिक रिक्रियसन, वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट, डेल्टिन नेपाललाई पत्र काट्दै डिजिटल प्रणाली सञ्चालनमा ल्याएर त्यसमा महानगरको राजस्व विभागलाई पहुँच दिन निर्देशन दिएको हो ।

अब यी मनोरञ्जन व्यवसाय सञ्चालकहरुले आफ्नो क्षेत्रमा मनोरञ्जनको सेवा लिन आउन ग्राहकले प्रवेश गर्दाको विवरण डिजिटल रुपमा राखि महानगरको पनि पहुँच त्यसमा दिनुपर्ने हुन्छ । महानगर स्रोतकाअनुसार महानगरले राजस्व संकलनका लागि विभिन्न निकायहरु पारदर्शी हुनुपर्ने भन्दै यी निकायहरुलाई आफ्नो प्रवेश शुल्कको हकमा पारदर्शी बन्नका लागि यस्तो निर्देशन दिएको हो ।

काठमाडौं महानगरमा चलचत्रि घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर, नाटकघर, फनपार्क, वाटर गार्डेन, बाल उद्यानलगायतलाई कर लगाइने व्यवस्था गरिएको छ । मनोरञ्जन व्यवसायबाट प्राप्त हुने मनोरञ्जन कर स्थानीय तहले उठाउन पाउँछ ।

करदाताले बुझाउनुपर्ने कर महिना समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्छ ।

बागमती प्रदेशअन्तर्गत रहेका स्थानीय तहहरुमा चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकलाई बिक्री गरिएको टिकटमा प्रतिटिकट ५ प्रतिशत, क्यासिनो प्रवेश गर्ने ग्राहकमा प्रतिव्यक्ति ५० रुपैयाँ, फनपार्क, वाटर गार्डेन, पार्क प्रवेश प्रतिटिकटमा ३ प्रतिशत तथा सांस्कृतिक प्रदर्शन हल, जुम्बा, फुटसल, स्वीमिङ पुल, थिएटर, नाटकघर लगायतमा ५ प्रतिशतको दरले करको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकामा पनि सोही व्यवस्थाअनुसार मनोरञ्जन व्यवसाय सञ्चालन गरिरहेकाहरुले महानगरलाई कर तिर्नु पर्छ ।

यस्ता व्यवसाय सञ्चालन गर्नेहरुले तोकिएको मितिमा कर नबुझाएमा सम्बन्धित स्थानीय तहले करदातालाई कर तिर्न व्यवस्था गरिएको अवधि नाघेको मितिले तीन महिनासम्मका लागि कर रकमको १० प्रतिशत र सो अवधिमा पनि कर नबुझाएमा बुझाउनु पर्ने कर रकमको १५ प्रतिशतका दरले वार्षिक ब्याज लगाएर रकम असुल गर्न पाउने व्यवस्था रहेको छ ।


क्लिकमान्डु