५ लाखमा आउने स्याउको कन्टेनर ११ लाखमा भित्रिन थाल्यो, बजारमा प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री



काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि तरकारी तथा फलफूलको आयातमा भार थपिएको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर खारेज गरिएको भ्याटले अधिकांश वस्तुको आयातमा प्रभाव परेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै भ्याट छुट खारेज गरेको थियो । सरकारले भ्याट छुट खारेज गरेको अधिकांश तरकारी तथा फलफूल दोब्बर मूल्यमा आयात गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ ।

सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ती वस्तुमा दिँदै आएको छुट खारेज गरेको घोषणा गरेका थिए ।

सरकारले तरकारीसहित एभोकेडो, स्याउ, नास्पती, क्विन्स (श्रीफल), खुर्पानी, चेरीहरु, अमिलो चेरीहरु, स्ट्रबेरी, रैस्पबेरी, ब्ल्याकबेरी, मलबेरी र लोकानबेरी, कालो, सेतो वा रातो किसमिस वा दाख वा मुनक्का र गुस्बेरीहरु, क्रेनबेरी, बिलबेरी, अन्य भ्याक्सिननियम जातिका फलहरुको छुट भ्याट खारेज गरेको छ । सरकारले फलफूलको आयातमा भ्याट खारेज गरेसँगै आयात गर्ने रकम दोब्बरले बढेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल फलफूलमा पूण परनिर्भर छ । त्यसमा पनि वर्षभरी नै खपत हुने स्याउमा उच्च परनिर्भर छ । स्याउमा परनिर्भर भएको अवस्थामा सरकारले भ्याट लाग्ने व्यवस्थाले झनै आयात प्रभावित भएको व्यवसायीको भनाइ छ ।

सरकारले स्याउमा लिएको नीतिले आयातमा उच्च मूल्य तिरेर ल्याउनुपर्ने अवस्था छ भने अर्कोतर्फ उपभोक्तालाई मंहगोमा खरिद गरी उपभोग गर्नुपर्ने भएको छ । नेपालले विशेषगरी अहिले चीनबाट उच्च मात्रामा स्याउ आयात गर्दै आएको छ । चीनबाट आयात हुने स्याउको उच्च माग हुँदा व्यवसायीहरुले महंगो रकम तिरेर पनि पैठरी गरिरहेका छन् ।

त्यस्तै, अहिले चीनमा स्याउ बिक्री गर्ने अन्तिम सिजन हो । जसले गर्दा चीनमै प्रतिकार्टुन १३ सय देखि १४ सय रुपैयाँले बढेको कुलेश्वर फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँ बताउँछन् । उनकाअनुसार चीनमा अहिले स्याउको अन्तिम सिजन भएकाले अभाव हुँदै गएको छ । तर, बजारमा उच्च माग हुँदा त्यहाँका व्यवसायीहरुले प्रतिकार्टुन नै १४ सय रुपैयाँसम्म बढाएका छन् । चीनमा प्रतिकेजी नै ६० देखि ७० रुपैयाँ पर्दा प्रतिकार्टुन ६ हजार रुपैयाँमा खरिद गरी ल्याइरहेको उनको भनाइ छ ।

चीनका व्यवसायीहरुले स्याउको मूल्य बढाएर निर्यात गरिरहेको अवस्थामा नेपालले थप बजेटमार्फत् भ्याट लाग्ने निर्णयले महंगोमा खरिद गरी महंगोमा नै बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘चीनले नेपालमा मात्रै होइन विश्वभर स्याउ निर्यात गर्छ । कोल्ड स्टोरमा राखिएको स्याउको माग उच्च छ । जसले गर्दा चीनकै बजारमा मूल्य महंगिएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘उक्त स्याउ आयात भइसकेपछि नेपालमा पनि महंगो हुने भइहाल्यो।’

त्यति मात्रै नभएर सरकारले स्याउ आयातमा भ्याट लाग्ने बनाएपछि विगतमा ५ लाखमा नेपाल आउने कन्टेनर अहिले ११ लाखमा भित्रिन थालेको उनको भनाइ छ । उनकाअनुसार सरकारले भ्याट लाग्ने नीतिले आयातमा खर्च दोब्बर बढीले बढेको छ । आयातमा व्यवसायीले दोब्बर बढी मूल्यले तिरेर नेपाल स्याउ भित्र्याउँदा उपभोक्तालाई प्रत्यक्ष असर परेको हो ।

भ्याट खारेज नीतिले उपभोक्तालाई बढी मार

सरकारले भ्याट खारेज गर्ने नीतिले उपभोक्तालाई मात्रै असर परेको अध्यक्ष बानियाँको भनाइ छ । ‘राज्यले व्यवसायीलाई छोड्दैनन् । व्यवसायीले पनि उपभोक्तालाई छोड्दैनन्,’ उनले भने, ‘समग्र नीतिले बढी प्रभाव पर्ने भनेको उपभोक्ता नै हो ।’

व्यवसायीहरुले बजारको मागअनुसार आयात गरी नाफा राखेर बिक्री गर्ने हो । व्यवसायीहरुले महंगोमा ल्याएर सस्तोमा बिक्री गर्ने भन्ने हुँदैन । सरकारले व्यवसायीबाट भ्याट लिन्छन् भने व्यवसायीले सोही भ्याट जोडर बजारमा बिक्री गर्छन् । जसले गर्दा बजारमा महंगोमा वस्तु खरिद गर्न उपभोक्ता बाध्य छन् । त्यस्तै, सरकारले भ्याट खारेज गरेसँगै एक महिनाको अवधिमा स्याउको मूल्य प्रतिकेजी एक सय रुपैयाँले बढेको छ ।

बजेट घोषणा गर्नुअघि कालिमाटी फलफूल तथा तरकारी विकास समितिले स्याउको औसत मूल्य प्रतिकेजी २६६ रुपैयाँ तोकेको थियो । तर, अहिले सोही स्याउको मूल्य बढेर औसतमा प्रतिकेजी ३२५ रुपैयाँ तोकेको छ । साथै, समितिले अधिकतम मूल्य ३५० रुपैयाँ र न्यूनतम मूल्य ३ सय रुपैयाँ तोकेको छ ।

सरकारले तोकेको मूल्य नै उच्च बढीरहेको अवस्थामा अहिले बजारमा प्रतिकेजी स्याउको मूल्य ४ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

स्याउको मूल्य भदौदेखि भने सस्तो हुने व्यवसायीहरुको अनुमान छ । साउन महिनापछि भारतको स्याउ नेपाल भित्रिने र असोजपछि चीनबाट पनि थरीथरीका स्याउ नेपाली बजारमा पाइने भएकाले सस्तो हुने व्यवसायीहरुको भनाइ छ ।

११ महिनामा साढे ६ अर्बको आयात

स्याउमा परनिर्भर रहेको नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा साढे ६ अर्ब बढीको आयात गरेको छ । नेपालले ११ महिनाको अवधिमा ६ अर्ब ६७ करोड ५२ लाख रुपैयाँको ७ करोड ९५ लाख ९० हजार केजी स्याउ आयात भन्सार विभागको तथ्याङ्क छ ।

नेपालले सो अवधिमा ४ अर्ब ७३ करोड ७५ लाख रुपैयाँको ५ करोड १ लाख ५३ हजार केजी स्याउ चीनबाट आयात गरेको छ । त्यस्तै, भारतबाट १ अर्ब ९३ करोड रुपैयाँको २ करोड ९३ लाख ८१ हजार केजी, स्वीजरल्यान्डबाट २७ लाख रुपैयाँको ३५ हजार केजी र अमेरिकाबाट ५० लाख रुपैयाँको २० हजार केजी स्याउ आयात गरेको तथ्यांक छ ।


अरिष्मा मोक्तान