‘वाग्नर समूह’को विद्रोहमा ६ हेलिकप्टर र एक विमानसहित रुसलाई कति भयो क्षति ?



एजेन्सी । केही दिनअघि रुसमा राष्ट्रपति पुटिनविरुद्ध सैन्य ‘मार्च’ भएको थियो । निजी सैनिक समूहका रुपमा रहेको ‘वाग्नर समूह’ले पुटिनविरुद्ध विद्रोह गरेको थियो । सैनिक मार्चसहित वाग्नर समूहका लडाकुहरु मस्कोतर्फ गएका थिए ।

तर, पछि पुटिन र वाग्नर समूहबीच सहमति भयो र रुसमा देखिएको गम्भीर समस्या टर्न पुग्यो । धेरैले सैनिक कुको रुपमा परिभाषित गरेको यो घटनाक्रम एकाएक आयो र एकाएक हरायो ।

तर, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका लडाकुहरुसँग भएको संघर्षका क्रममा आफ्ना पाइलटहरु मारिएको बताएका छन् । यो लडाइका क्रममा केही विमानहरु पनि नस्ट भएको उनले बताएका छन् । २६ जुनमा आफ्नो अभिव्यक्तिमा पुटिनले मारिएका पाइलटलाई ‘हिरो पाइलट’ भएको उल्लेख गरे ।

पुटिनले वाग्नर समूहले गरेको विद्रोहमा कति सैनिकको मृत्यु भयो वा कति विमानहरु नस्ट भए भन्ने विषयमा स्पष्ट रुपमा भने बताएका छैनन् । वाग्नर समूहका प्रमुख गेवगेनी प्रिगोजिनले भने आफ्ना सैनिकहरुले रुसको विमानमाथि हमला गरेको स्वीकारेका छन् ।

रुसी विमानले मस्कोतर्फ गइरहेका आफ्ना सैनिकहरुमाथि रकेट हमला गर्दै बमहरुको वर्षा गराइएको प्रिगोजिनले बताएका थिए । वाग्नर समूहको विद्रोहलाई रोक्न रुसी सैनिकले यस्तो कदम चालेको उनको भनाइ छ । रुसी सैनिकको यस्तो कदमपछि आफूहरुले बाध्य भएर रुसी विमानमाथि आक्रमण गर्नु परेको उल्लेख गरेका छन् ।

अर्कातिर, युक्रेनका अधिकारीहरुले भने वाग्नर समूहले रुसको ६ वटा हेलिकप्टर र एक विमान नस्ट गरेको दाबी गरेका छन् ।

गत शनिबार वाग्नर सूमहका लडाकुहरुले रुसको राजधानी मस्कोतर्फ अघि बढेका थिए । ६ हेलिकप्टर र एक विमान नस्ट गरिएको घटना पनि शनिबार कै रहेको दाबी गरिएको छ । टेलिग्राम, जुन इन्क्रिप्टेड म्यासेजिङ एपका रुपमा चर्चित छ, त्यहाँ पनि यो दाबीलाई पुष्टि गर्ने किसिमका अन्य कैयौं दाबीहरु अघि आएका छन् ।

वाग्नर समूह र रुसी सैनिकबीच भएको लडाइका कैयौं भिडियोहरु पनि सार्वजनिक भएका छन् । यी भिडियोहरुबाट कांतेमिरोवको शहर नजिकै एक विमानलाई खसालिएको पुष्टि हुन्छ ।

कैयौं सामाजिक सञ्जालमा घटनाका विस्तृत विवरणहरु आएका छन् । यी रिपोर्टहरुलाई आधार मान्ने हो भने वाग्नर समूहको हमलामा रुसी सशस्त्र सेनाले एक महत्वपूर्ण विमान इल्युशिन आईआई–२२ गुमाएको छ । यो विमानमा भएको क्षतिसहितको तस्बिरहरु सामाजिक सञ्जालमा आएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका यी तस्बिरहरुमा विमान आईआई–२२ एम हुन सक्ने देखिन्छ, जुन आईआई–२२ को परिस्कृत स्वरुप हो । विमानमा ‘रुसी एयर फोर्स’ पनि लेखिएको देखिन्छ ।

त्यस्तै, वाग्नर समूहसँगको द्वन्द्वमा रुसी सैनिकको एक एयरबोर्न कमान्ड पोस्टमा पनि क्षति पुगेको छ । युद्धको क्रममा सैनिकलाई नियन्त्रण गर्नका लागि बनाइने एयरबोर्न कमान्ड पोस्ट मुख्य कमान्ड सेन्टरको फ्रन्ट लाइनबाट टाढा रहेका सैनिकहरुलाई सम्पर्क गर्ने ठाउँको रुपमा पनि रहने गर्छ । रिपोर्टकाअनुसार यस्तै एक कमान्ड पोस्टमा ६ हेलिकप्टरहरुलाई खसालिएको छ ।

यीमध्ये दुई सैनिक हतियारसहितका अट्याक हेलिकप्टर पनि रहेका छन् । त्यस्तै, ती हेलिकप्टरहरु विद्युतीय युद्धका लागि प्रयोग हुने हेलिकप्टर रहेका छन् भने एक हेलिकप्टर विभिन्न वस्तु तथा सामानको ढुवानीका लागि प्रयोग हुने हेलिकप्टर रहेको छ।

वाग्नर समूहले खसालेको दाबी गरिएका ६ हेलिकप्टरमध्ये एक हेलिकप्टर पावलोस्क नजिकै देखिएको छ । त्यहाँ देखिएको हेलिकप्टरको अवस्था क्षतिग्रस्त रहेको छ । तस्बिरमा देखिएअनुसार यो एमआई–८ हेलिकप्टर हो ।

यो हेलिकप्टर आधुनिक विद्युतीय वारफेयर प्रणालीसहितका हुन्छ । यी हेलिकप्टरहरुलाई डिजाइन गर्दाबाट नै जमिन र एयर राडार, एयर डिफेन्स सिस्टम तथा विमानभेदी हतियारहरुसँग लड्ने किसिमले निर्माण गरिएको हुन्छ । यो बाहेक यी हेलिकप्टरहरुले विद्युतीय जानकारीहरु पनि संकलन गर्न सक्छन् ।

रुसले यो लडाइका क्रममा के कतिको मृत्यु भयो भन्ने बताएको छैन । वाग्नर समूहका प्रमुख प्रिगोजिनले भने आफ्नो समूहका कसैको पनि मृत्यु नभएको तर कैयौं लडाकुहरु घाइते भएको बताएका छन् ।

वाग्नर समूह एक नीजि सैनिक कम्पनी हो, जुन अहिले रुसका लागि सबैभन्दा ठूलो खतराको रुपमा देखिएको विज्ञहरुले बताइरहेका छन् ।

प्रायः आफ्नो हिंस्रक शैलीका लागि चर्चित रहेको यो समूहले गत शनिबार रुसको राजधानी मस्कोतर्फ मार्च गरेको थियो, जसलाई विद्रोहको रुपमा लिइयो । रुसका राष्ट्रपति भ्यालिमिर पुटिनका विश्वासपात्र मानिएका येवगेनी प्रिगोजिन प्रमुख रहेको यो समूहको यो विद्रोहलाई भने पुटिनले धोका बताइरहेका छन् ।

अहिलेलाई वाग्नर समूहले गरेको विद्रोह थामिएको छ । समूहका प्रमुख प्रिगोजिन हाल बेलारुसतर्फ गएका छन् भने उनको समूहमाथि रुसको सैनिकले कुनै पनि किसिमको कारबाही नगर्ने भन्ने सहमति भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

किन भयो तनाव ?

हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना गर्दै आएका थिए । उनीहरूबीच युद्धको रणनीतिबारे तीव्र मतभेद थियो ।

गत शनिवार वाग्नरका लडाकुहरू युक्रेनस्थित आफू खटेको क्षेत्रबाट रुसको सीमाभित्र फर्किएर दक्षिणी सहर रोस्तोभ-अन-डनमा प्रवेश गरेका थिए ।

घटनाक्रम तीव्र गतिमा अगाडि बढ्यो र उनीहरूले मस्कोतर्फ कुच गरे । त्यस क्रममा उनीहरूले उत्तरमा पर्ने भोरोनेज सहरको सैन्य संरचनाहरू पनि नियन्त्रणमा लिए ।

क्रेम्लिनलाई राजधानी मस्कोसहित थुप्रै स्थानहरूमा सुरक्षा कडा बनाउन दबाव दिँदै भाडाका लडाकुहरू राजधानीतर्फ अघि बढेका थिए । त्यतिबेला त्यहाँका नगरप्रमुखले सर्वसाधारण नागरिकहरूलाई यात्रा नगर्न आह्वान गरेका थिए ।

आवश्यक परेको खण्डमा वाग्नर लडाकुहरूविरुद्ध लड्न हजारौँ विशिष्ट चेचेन सेनाहरू मस्कोतर्फ लागेको चेतावनीहरू समेत दिइएको थियो ।

रुसी टीभी च्यानल रोसिया ट्वेन्टीफोरका अनुसार बेलारुसी नेता अलेक्ज्यान्डर लुकाशेन्को र प्रिगोजिनको भेटवार्तापछि अचानक शनिवार साँझ अवस्था साम्य पार्ने सहमति भएको थियो ।


क्लिकमान्डु