९५ वर्षीय बिके श्रेष्ठले एभरेष्ट बैंकको अध्यक्ष छाड्ने, कसले सम्हाल्छ अर्बौंको साम्राज्य ?



काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले बैंकको अध्यक्ष पद छाड्ने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पटक-पटक बिश्राम गर्न आग्रह गरेपछि श्रेष्ठले बैंक छाड्ने भएका हुन् ।

९५ वर्षका श्रेष्ठ लामो समयदेखि बैंकको अध्यक्ष छन् । नेपाल राष्ट्र बैंकले २०७६ साउन २० गते जारी गरेको बैंकका सञ्चालक र सीइओको उमेर सम्बन्धी निर्देशनसँगै श्रेष्ठ पदमुक्त भएका थिए । राष्ट्र बैंकले सञ्चालकका हकमा ७४ वर्ष र सीइओका हकमा ६९ वर्षको उमेर हद तोकेको थियो ।

तर, प्राइम बैंकका सीइओ नारायणदाश मानन्धर राष्ट्र बैंकको उक्त निर्देशन विरुद्ध अदालत गएका थिए । अदालतले राष्ट्र बैंकलाई उक्त निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । उमेरको विषय संबेदनशील भएकाले ऐनमार्फत् व्यवस्था गर्न अदालतले सुझाएको थियो । अदालतको उक्त आदेशसँग बिकेले पनि बैंकको अध्यक्षमा निरन्तरता पाएका थिए।

त्यसयता बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन भएको छैन । तसर्थ राष्ट्र बैंकले उमेरको विषयलाई लिएर कुनै पनि बैंक तथा वित्तीय कम्पनीका सञ्चालक तथा सीइओको उमेरका विषयमा आधिकारिक निर्देशन दिन मिल्दैन ।

तर, राष्ट्र बैंकका अधिकारीहरुले भने बिके श्रेष्ठलाई उमेरका कारण बिश्राम गर्न सुझाव एवं दबाब दिँदै आएका थिए । राष्ट्र बैंकको निरन्तरको दबाबपछि श्रेष्ठले आगामी साधारणसभाबाट अध्यक्ष पद छाड्ने घोषणा गरेका हुन् ।

‘श्रेष्ठ आफैंले र सीइओ सुदेश खालिङमार्फत् राष्ट्र बैंकलाई आगामी साधारणसभापछि सञ्चालक समितिमा नबस्ने जानकारी गराइसकेका छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले उहाँलाई धेरै बुढो हुनुभयो, बैंकजस्तो प्रतिस्पर्धी र प्राविधिक व्यवसायबाट अब बिश्राम लिनुस् भनेर सुझाएका थियौ।’

बैंकले अबको ६ महिनाभित्र साधारणसभा गर्छ र उक्त साधारणसभाबाट बिकेले औपचारिकरुपमा बैंकको सञ्चालक समितिबाट बिदा लिने जानकारी आफूहरुलाई गराएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

कसले सम्हाल्ला बिकेको साम्राज्य ?

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको बहिर्गमनसँगै नयाँ अध्यक्षमा कसको संभावना छ ? बिकेले कस्तो रणनीति बनाउँदैछन् ? भन्ने बारेमा यो आलेख केन्द्रित छ ।

किनभने एभरेष्ट बैंकलाई श्रेष्ठले आजसम्म ‘वान म्यान आर्मी’ को रुपमा सञ्चालन गर्दै आएका थिए ।

सन् १९९४ सालमा नेपालमा एभरेष्ट बैंकको स्थापना भएको हो । स्थापनाकालमा बैंकको अध्यक्षमा मैत्रदेव पाठक थिए । राजा बिरेन्द्रका मितसमेत रहेका पाठक ६/७ वर्षसम्म अध्यक्ष भए । पछि बिकेले पाठकलाई हटाएर आफू अध्यक्ष बने ।

एभरेष्ट बैंकमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत संस्थापक सेयर छ । त्यस्तै, ३०.७८ प्रतिशत सर्वसाधारणको छ बाँकी रहेको ४९.१९ प्रतिशत सेयर बैंकका अध्यक्ष बिके श्रेष्ठकै हो भन्दा फरक पर्दैन ।

त्यसका केही तथ्य र आधारहरु छन् ।

२०७९ असार मसान्तसम्मको विवरणअनुसार सबैभन्दा बढी सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ।

बैंकमा बिकेकी छोरी प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.८४ प्रतिशत अर्थात् १ करोड ३९ लाख ८७ हजार ७०९ कित्ता रहेको छ । बिकेका नाममा १२.३५ प्रतिशत अर्थात् ८६ लाख ५६ हजार ६२९ कित्ता सेयर छ ।

यस्तै बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ८६ लाख ५६ हजार ६२९ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् १७ लाख ६९ हजार ५७० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् १७ लाख ६९ हजार ५६९ कित्ता सेयर स्वामित्व रहेको छ । उनीहरु सबै बिकेका नातेदार हुन् ।

यस्तै शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात् ११ लाख १३ हजार ३४७ कित्ता, अरुण मान शेरचनको ०.९४ प्रतिशत अर्थात् ८ लाख ८६ हजार १५४ कित्ता र होटल स्नो लायन होटलको ९.३१ प्रतिशत अर्थात् ८७ लाख ७३ हजार ७४७ कित्ता सेयर स्वामित्व रहेको छ । यो होटेल सञ्चालनमा छैन । होटेल र होटेल भएको घरको पूर्णस्वामित्व उनै बिके श्रेष्ठको नाममा छ ।

सर्वसाधारणको भने ४०.७७ प्रतिशत अर्थात सेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा पनि बिके र उनका नातेदारहरुको ठूलो मात्रामा सेयर स्वामित्व रहेको बैंकका अधिकारीहरु बताउँछन् ।

शान्तदेब पाठक बैंकका संस्थापक अध्यक्ष मैत्रदेव पाठकका छोरा हुन् । कमलपोखरीस्थित सिटीसेन्टरबाट कुमारी फिल्म हलतिर आउँदाको पहिलो मोडमै उनको घर छ ।

आनन्दरत्न तुलाधरका नाममा भएको ०.७५ प्रतिशत बिकेले आफ्नो परिवारको स्वामित्वमा ल्याइसकेका छन् । तुलाधरका त्रिपूरेश्वरस्थित ब्लू बर्ड मलका मालिक हुन् ।

बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।

त्यसैगरी, अरुणमान शेरचन संस्थापकका तर्फबाट बैंकको सञ्चालक समिति सदस्य छन् । उनी बिके श्रेष्ठका अत्यन्तै विश्वासपात्र हुन् । शेरचनका नाममा पनि बिकेले लगानी गरेको जानकारहरु बताउँछन् । ३ वर्षअघि एभरेष्ट बैंकको ३.२१ सेयर होल्ड गरेका सेरचनसँग अहिले ०.९४ प्रतिशत मात्रै हुनुले शेरचनको सेयर पनि बिकेले आफ्नो र आफ्नो परिवारको नाममा ल्याइसकेको बुझ्न सकिन्छ ।

‘अरुणमान बिकेजीको अत्यन्तै विश्वासपात्र हुन्, उनले पनि लाभांश पाउनेवित्तिकै चेक काटेर बिकेजीलाई चेक काटेर पैसा दिन्थे,’ स्रोतले भन्यो, ‘बिकेजी नहुँदा उनले नै सञ्चालक समितिको बैठकको अध्यक्षता गर्थे ।’

स्रोतहरुका अनुसार अध्यक्ष बिकेले शेरचनलाई बैंकको अध्यक्ष बनाउने संभावना सबैभन्दा बलियो छ ।

‘शेरचनजीले बिकेसँग अरु व्यवसायमा पनि साझेदारी गर्नुभएको छ, बिकेजीसँग बैंकको ४० प्रतिशतभन्दा बढी सस्थापक सेयर र दोस्रो बजारबाट पनि आफन्तहरुको नाममा झन्डै १० प्रतिशत किनेर राखेकाले एभरेष्टमा बिकेजीले जे भन्यो त्यही हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले अब उहाँले शेरचनजीलाई नै डमी अध्यक्ष बनाएर पछाडिबाट आफूले बैंक चलाउनुहुन्छ ।’

वित्तीय सूचकहरुका आधारलाई हेर्ने हो भने एभरेष्ट बैंक अब्बल छ । बिजनेश ग्रोथ, नाफा र लगानीकर्तालाई दिने प्रतिफलका आधारमा एभरेष्ट निकै राम्रो मानिन्छ ।

छोराछोरीको संभावना कति ?

बिकेका एक छोरा मुकुन्द र छोरी प्रतिमा सहित जम्मा तीन सन्तान छन् । छोरा मुकुन्द पनि ६४/६५ वर्षका भइसके । संयुक्त राष्ट्र संघमा काम गरेर रिटायर्ड भएका मुकुन्द अहिले भारतस्थित एसबिएल कम्पनीको व्यवस्थापन सम्हालेर बसेका छन्। एसबिएल कम्पनीको अध्यक्ष बिके नै हुन् । व्यवस्थापन मात्रै छोरा मुकुन्दले हेर्छन् । यो कम्पनीले होमियोपेथिक औषधि, आयुर्वेदिक औषधि र कस्मेटिक उत्पादन तथा बिक्री वितरण गर्छ ।

बिकेले पहिले नै छोरा मुकुन्दलाई नेपाल ल्याउन खोजेका थिए । तर, मुकुन्दले नेपाल त कुनैपनि हालतमा नआउने बरु भारतसम्म भए आउँछु भन्ने अडान लिएपछि उनलाई एसबिएलको जिम्मा दिइएको हो ।

बिकेकी छोरी प्रतिमा नेपालमै बस्छिन् । बिहे गरिसकेकी छोरीलाई बिकेले आफूसँगै राखेका छन् । र, उनलाई आफ्नो सम्पूर्ण कारोबारमा संलग्न गराएका छन् ।

प्रतिमासँग बैंकको अध्यक्ष भएर काम गर्नसक्ने क्षमता नभएको स्रोतहरुको दाबी छ ।

‘प्रतिमासँग बैंकिङबारे त्यति ठूलो ज्ञान छैन, त्यसैले बिकेले उनलाई अध्यक्ष बनाउँछन् जस्तो मलाई लाग्दैन,’ उच्च स्रोतले भन्यो, ‘छोरा मुकुन्द त नेपाल नै आउँदैनन्, त्यसैले शेरचनजीलाई नै अध्यक्ष बनाएर बिकेले पर्दा पछाडिबाट बैंक हाँक्छन् ।’

अर्को संभावना भनेको बिकेका नाती प्रतिक श्रेष्ठको । उनी पनि भारतको सिक्किममा बस्छन् । त्यहाँस्थित बिकेको मदिरा कम्पनी नाती प्रतिकले सम्हाल्छन् । प्रतिकले हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठकी छोरीसँग बिबाह गरेका छन् । उनीहरु सिक्किम छोड्न रुचाउँदैनन् ।


सोभित थपलिया