कुन महानगरको कति बजेट ?



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि देशभरका ६ महानगरले बजेट प्रस्तुत गरेका छन् । कानुनत: असार १० भित्र पेस गर्नुपर्ने बजेट सबै महानगरपालिकाले प्रस्तुत गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । आइतबार काठमाडौं महानगरपालिकी उपप्रमुख सुनिता डंगोलले महानगरमध्येकै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेकी हुन् । चालु आवको तुलनामा काठमाडौं महानगरपालिकाले आगामी आवमा झन्डै १३ करोड धेरैको बजेट प्रस्तुत गरेको छ । चालु आवमा महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको थियो ।

आगामी आवका लागि प्रस्तुत भएको महानगरको बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले आव २०८०/८१ का लागि बजेट असार ६ गते नै ल्याएको छ । वीगन्जले ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको हो । चालु आव २०७९/८० को तुलनामा वीरगन्जले ल्याएको बजेट १ अर्ब २३ करोड कम अर्थात ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार रुपैयाँको छ ।

चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार (७७ प्रतिशत) र पुँजीगततर्फ ६९ करोड ७९ लाख १५ हजार (२२ प्रतिशत) रुपैयाँ विनियोजन गरिएको महानगरका उपप्रमुख इम्तियाज आलमले बताएका छन् । त्यस्तै, वित्तीय व्यवस्थातर्फ महानगरले ३ करोड ६३ लाख २४ हजार (१ प्रतिशत) विनियोजन गरेको छ ।

त्यस्तै, विराटनगर महानगरपालिकाले आगामी आवका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । शनिबार महानगपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । चालु आवको तुलनामा विराटनगर महानगरपालिकाले झन्डै १ अर्ब कम बजेट ल्याएको हो । चालु आवमा विराटनगरले ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आवको बजेटअन्तर्गत विराटनगर महानगरपालिकलो पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुयैयाँ विनियोजन गरेको छ भने चालुतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, बित्तिय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  

भरतपुर महानगरपालिकाले आगामी आव २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यो आकारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८४ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट प्राप्त ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको अधिकारीले बजेट प्रस्तुत गर्दै बताए ।

भरतपुरले चालु आवमा ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

त्यस्तै, ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आइतबार यो आकारको बजेट प्रस्तुत गरेकी हुन् । ललितपुरको बजेटमध्ये पुँजिगततर्फ ४ अर्ब २१ लाख ४६ हजार विनियोजन भएको छ भने चालु खर्चतर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको शाक्यले बताएकी छन् ।

आगामी आवका लागि ललितपुरले ल्याएको बजेट चालु आवको भन्दा धेरै हो । ललितपुरको चालु आवको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको थियो ।

त्यस्तै, पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले यो आकारको बजेट प्रस्तुत गरेकी हुन् ।

कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।

पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो । पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।


क्लिकमान्डु