विराटनगरको बजेट: गुरुयोजनासहितको आयोजना बैंक, गर्व गर्न लायक प्रादेशिक राजधानी (पूर्णपाठ)



विराटनगर । विराटनगर महानगरपालिकाले ऐतिहासिक गरिमा र पूर्वाधारका हिसाबले गर्व गर्न लायक प्रादेशिक राजधानीका रुपमा विकास गर्न गुरुयोजनासहितको आयोजना बैंक तयार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले योजनाका आधारमा आयोजना बैंकमा राष्ट्रिय-अन्तर्राष्ट्रिय एवं दातृ निकायको सहयोग परिचालन गरिने जानकारी गराइन् ।

त्यस्तै निजी क्षेत्रको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम, नगर बस सञ्चालन, स्मार्ट सिटी तथा फोहरमैला व्यवस्थापन कार्य अघि बढाइने उल्लेख छ ।

महानगरको आर्थिक विकासका लागि अत्यावश्यक विशेष आर्थिक क्षेत्र, प्रादेशिक बसपार्क, हवाई मैदान विस्तार, रिङरोड निर्माण, बाईपास सडक, रंगशाला, संग्रहालयजस्ता आन्तरिक स्रोतबाट मात्र सञ्चालन गर्न नसकिने योजना सहयोगी र साझेदार संस्थाहरुको सहयोगमा कार्यान्वयनमा ल्याउन पहल गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार (स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षातर्फ ६७ करोड ९४ लाख), सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान महानगरले गरेको छ ।

आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयूडीपीबाट निर्माण भएकालगायतका पिच सडकसमेत गरी मर्मतसम्भार १० करोड, सडक बत्तीतर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख,फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९ करोड २४ लाख र प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजस्व ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय ९९ करोड ५० लाख, जनसहभागिता १० करोड, आन्तरिक ऋण १० करोड, अन्य संघसंस्थाबाट ३ करोड र नगद मौज्दातबापत २ करोड आय हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु