बैंक वित्तीय संस्थाको सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको रकममा ४८% वृद्धि



काठमाडौं । बैंक वित्तीय संस्थाहरुले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) का लागि छुट्याएको रकम करिब ५० प्रतिशतले बढेको छ । १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम ४८ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्ममा बैंक वित्तीय संस्थाले लोन लस प्रोभिजनका लागि १ खर्ब १० अर्ब ३० करोड रुपैयाँ छुट्याएका थिए । १० महिनाको अवधिमा यो रकम ४८ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले मात्रै लोन लस प्रोभिजनका लागि १ खर्ब ४२ अर्ब ४९ करोड ६० लाख रुपैयाँ छुट्याएका छन् । साउनको तुलनामा यो ४९.३५ प्रतिशतले बढेको हो । साउनमा ९५ अर्ब ४० करोड ९० लाख रुपैयाँ थियो ।

बैंकहरुमा खराब कर्जा बढ्दै जाँदा उक्त रकम लोन लस प्रोभिजनका लागि छुट्याइएको हो । बैंकहरुले प्रवाह गरेको कर्जा नउठ्ने समस्या बढ्दै गएको छ ।

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको लोन लस प्रोभिजन ४८ प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा ३.५२ प्रतिशतले बढेर वैशाख मसान्तसम्म ४८ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा ४७ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा न्यून प्रतिशतले वृद्धि हुँदा लोन लस प्रोभिजनका लागि छुट्याएको रकम भने निकै बढेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकले मात्रै प्रवाह गरेको कर्जा ३.४ प्रतिशतले बढेर ४३ खर्ब २० अर्ब २१ करोड ८० लाख पुगेको छ । साउनमा यो रकम ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार सबैभन्दा बढी रकम ग्लोबल आइएमई बैंकले वैशाख मसान्तसम्म १४ अर्ब ७ करोड ५१ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याएको छ । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले वैशाख मसान्तसम्म १२ अर्ब ९५ करोड ४१ रुपैयाँ छुट्याएको छ ।

कुमारी बैंकले ११ अर्ब ८१ करोड ५० लाख, हिमालयन बैंकले १० अर्ब १२ करोड ७४ लाख र राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब २८ करोड ९२ लाख रुपैयाँ छुट्याएका छन् ।

यस्तै प्रभु बैंकले ८ अर्ब ७४ करोड ४० लाख, कृषि विकास बैंकले ७ अर्ब ४५ करोड ४० लाख, नेपाल बैंकले ६ अर्ब ३७ करोड ७४ लाख, सिद्धार्थ बैंकले ५ अर्ब ९५ करोड १९ लाख, एनएमबि बैंकले ५ अर्ब ८८ करोड ८६ लाख, प्राइम बैंकले ५ अर्ब ५० करोड ८५ लाख, एनआईसी एशिया बैंकले ५ अर्ब ३१ करोड ९३ लाख, सिटिजन्स बैंकले ४ अर्ब ६८ करोड ३५ लाख, सनराइज बैंकले ४ अर्ब १७ करोड १२ लाख, लक्ष्मी बैंकले ३ अर्ब ९० करोड ९८ लाख र सानिमा बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ छुट्याएका छन् ।

माछापुच्छ्रे बैंकले ३ अर्ब ३७ करोड ५३ लाख, नेपाल एसबीआई बैंकले ३ अर्ब २ करोड २७ लाख, एभरेष्ट बैंकले २ अर्ब ९५ करोड ३५ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २८ करोड ६२ लाख रुपैयाँ छुट्याएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु