१०० किलोवाट माथिका विद्युतीय सवारीमा कर घटाएसँगै जेठमा भित्रिए ४५ गाडी



काठमाडौं । सरकारले १०० किलोवाट माथिका विद्युतीय सवारी साधनमा कर घटाएसँगै जेठमा ४५ गाडी भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार यो वर्षको जेठ महिनामा मात्रै १०० किलोवाट माथिका ४५ विद्युतीय सवारी साधन भित्रिएको देखाउँछ ।

सरकारले गत वर्षको बजेटमार्फत् १०० किलोवाट कमका विद्युतीय गाडीलाई प्रोत्साहन गरी १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा निरुत्साहित गरेको थियो । जसले गर्दा १०० किलोवाटभन्दा माथिका विद्युतीय सवारी साधनको आयात हुनै छाडेको थियो । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै अन्तशुल्क र भन्सार दर हेरफेर गरेको थियो ।

सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको सवारी साधनको आयातमा भन्सार दर बढाएको छ । तर, १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा भन्सार दर र अन्तशुल्क घटाएको छ । सरकारले गत वर्ष १०० किलोवाटभन्दा बढीको तर २०० किलोवाट ननाघेको कार, जीप र भ्यानको भन्सार महसुल ३० प्रतिशत रहेकोमा घटाएर भन्सार दर २० प्रतिशत बनाएको छ।

सरकारले यो वर्ष अन्तशुल्क पनि घटाएको छ । गत वर्ष उक्त सवारी साधनको अन्तशुल्क ३० प्रतिशत तोकेको थियो । सरकारले यो वर्ष १० प्रतिशतले घटाएर २० प्रतिशत मात्रै कायम गरेको छ । गत वर्ष २०० किलोवाटभन्दा बढीको तर ३०० किलोवाट ननाघेको कार, जीप र भ्यानको भन्सार दर ३० प्रतिशत ४५ प्रतिशत तोकेको थियो । यो वर्ष १५ प्रतिशतले घटाएर १५ प्रतिशत कायम गरेको छ ।

अन्तशुल्क भने १० प्रतिशतले घटेको छ । गत वर्ष सोही सवारी साधन आयातका लागि ३० प्रतिशतदेखि ४५ प्रतिशतसम्म अन्तशुल्क लाग्थ्यो भने अहिले घटाएर २० प्रतिशत कायम गरेको छ ।

सरकारले गत वर्ष ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानको भन्सार दर ४५ प्रतिशत ६० प्रतिशत कायम गरेको थियो । यो वर्ष घटाएर ४० मा झारेको छ । साथै, सरकारले अन्तशुल्क ४५ देखि ६० प्रतिशतसम्म अन्तशुल्क लगाएकोमा यो वर्ष घटाएर ४५ प्रतिशतमा झारेको छ ।

सरकारले १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा सहज बनाएसँगै जेठमा गाडी उच्च आयात भएको विभागले जनाएको छ । विभागअनुसार जेठमा ४५ वटा विद्युतीय गाडी भित्रिँदा १२ करोड १५ लाख रुपैयाँको १०० किलोवाटदेखि २०० किलोवाटसम्मको ४० वटा सवारी साधन नेपाल भित्रिएका छन् ।

त्यस्तै, जेठ महिनामा १ करोड ४८ लाख रुपैयाँको २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको ३ वटा विद्युतीय गाडी भित्रिएका छन् । साथै, सरकारले आयातमा सहज बनाएसँगै ३०० किलोवाट माथिकाे २ वटा गाडी भित्रिएका छन् । यसअघि ३०० किलाेवाट माथिका विद्युतीय गाडी भित्रिएका थिएन । नेपालले उक्त सवारी साधन १ करोड ९ लाख रुपैयाँ खर्चेर भित्र्याएको छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ३८ सय ७० वटा गाडी भित्र्याएका छन् । विभागअनुसार नेपालले ११ अर्ब २३ करोड ७३ लाख रुपैयाँको विद्युतीय गाडी भित्र्याउँदा सरकारले ३ अर्ब ५ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

तथ्यांकमा नेपालले ११ महिनाको अवधिमा १० अर्ब ७७ करोड ३५ लाख रुपैयाँको १०० किलोवाटसम्मको ३७ सय ५२ वटा, ३९ करोड ७४ लाख रुपैयाँको १०० किलोवाटदेखि २०० किलोवाटसम्मको १०६ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको १० वटा विद्युतीय सवारी साधन आयात गरेका छन् ।


क्लिकमान्डु