नेप्सेको अध्यक्षमा भुपाल बराल, गर्लान् नेप्सेको पुनः संरचना ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् ।
जेठ ३२ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार अर्थ मन्त्रालयका सहसचिव भुपाल बराल नेप्सेको अध्यक्षमा नियुक्त भएका छन् ।
वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका बराललाई आइतबार नेप्सेको सञ्चालक समितिले स्वागत गरेको छ ।
नेप्सेमा अध्यक्षको रुपमा बराल आएपछि नेप्से पुनःसंरचनामा जाने विषयमा थप चासो बढेको छ ।
वैशाख अन्तिम साता नेप्से सञ्चालक समितिको बैठकले १५ प्रतिशत सेयर विदेशी रणनीतिक साझेदार र कर्मचारीलाई ३ प्रतिशतसहित ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने र नेप्सेलाई पुनःसंरचना गर्ने निर्णय गरेर अर्थ मन्त्रालयमा पठाएको थियो ।
अर्थ मन्त्रालयले उक्त प्रस्ताव स्वीकृत गरेर मन्त्रिपरिषद बैठकमा पेस गर्ने र बैठकले पारित गरेमा नेप्से पुनःसंरचनामा जान तयार भएको छ । उक्त समयमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनका लागि व्यस्त भएका कारण कुनै पनि प्रकृया अघि बढेको थिएन् ।
यस्तै त्यसलगत्तै नेप्सेका अध्यक्षको पनि सरुवा भएपछि उक्त काम अघि बढ्न सकेको थिएन । अब भने नेप्सेले अध्यक्ष पाएको छ । नेप्सेलाई पुनःसंरचना गर्न अध्यक्षले चाहेमा सम्भव हुने बताइन्छ । त्यसका लागि बरालले कस्तो सहयोग गर्नेहुन सबैको चासोको विषय समेत बनेको छ ।
धितोपत्र बोर्डले नयाँ स्टकलाई लाईसेन्स दिन लागेपछि सरकारले रोकेको छ । अहिले नयाँ ब्रोकरको लाईसेन्स रोकेको र नेप्सेलाई नै पुनःसंरचना गर्ने विषय नेप्सेले अध्यक्षलाई जानकारी गराएको नेप्सेका एक अधिकारीले बताए ।
यता नव नियुक्त अध्यक्ष बरालले आफु भर्खरै नेप्सेको अध्यक्षमा नियुक्त भएको र त्यहाँ भए गरेका कामको बारेमा अध्ययन गरेर नेप्सेलाई कसरी अघि बढाउने भन्नेमा निर्णय लिने बताए ।
यता विज्ञले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा नेप्सेलाई पुनःसंरचना गर्नुपर्ने माग केही समयदेखि उठेको छ ।
सरकारले स्वीकृति दिए नेप्सेले आगामी आर्थिक वर्षभित्रै आईपीओ निष्कासन गर्नेलगायत सबै काम सक्ने नेप्सेका सीईओ कृष्ण कार्की बताउँछन् ।
नयाँ स्टक ल्याउने विषयमा अर्थमन्त्री डा. प्रकाशरण महत पनि असन्तुष्ट भएका कारण अध्यक्ष बरालले चाहेको खण्डमा पुनःसंरचना गर्न सकिने नेप्सेका अधिकारीहरुको तर्क छ ।
हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । धितोपत्र बजार सञ्चालन नियमावलीमा भएको व्यवस्थामा स्टकको चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार नेप्सेले आफ्नो पुँजी ३ अर्ब पु¥याउन आईपीओ निष्कासन गर्ने र विदेशी रणनीतिक साझेदार खोज्न लागेको हो ।
नेप्सेले हाल भएका लगानीकर्ताबाट पैसा उठाउनेभन्दा पनि विदेशी साझेदार ल्याउने र आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । स्टक एक्सचेन्जले प्रयोग गर्ने कारोबार प्रणाली संसारका अन्य कम्तीमा ३ स्टक एक्सचेन्जमा प्रयोग भएको हुनुपर्ने व्यवस्था नियमावलीमा छ ।
तर, नेप्सेले प्रयोग गरेको कारोबार प्रणाली सार्वजनिक खरिद ऐनअनुसार नेपाली भेन्डर कम्पनीमार्फत नेपालमै बसेको र अन्य प्रयोग भएको छैन ।
विदेशी साझेदार भित्र्याउन सकेको खण्डमा विदेशी कारोबार प्रणाली भित्र्याउन सहज हुने नेप्सेको बुझाइ छ । हाल १ अर्ब निक्षेप हुँदा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, लक्ष्मी र प्रभु बैंकको ५/५ प्रतिशत र अन्यको ०.६२ प्रतिशत हिस्सा छ ।
।
नेप्सेको पुँजी ३ अर्ब पु¥याउन सेयर संरचना परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकार र राष्ट्र बैंक, वाणिज्य बैंकलगायतको ३३.३३ प्रतिशत, ग्लोबल प्रस्तावमार्फत नेप्सेको १५ प्रतिशत अर्थात् ४५ लाख कित्ता विदेशी रणनीतिक साझेदारलाई बिक्री गर्ने, गुड कर्पोरेट गभर्नेन्स भएका स्वेदशी संघ–संस्थालाई २१.६७ प्रतिशत अर्थात् ६४ लाख कित्ता बिक्री गर्ने र कर्मचारीलाई ३ प्रतिशतसहित सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने सुझाव अध्ययनले दिएको छ ।
सर्वसाधारणका लागि बुक बिल्डिङमार्फत सेयर निष्कासन गरिनेछ । आईपीओ मूल्यमा प्रिमियम थपिनेछ । नेप्से पनि सोही अनुसार अघि बढ्ने तयारीमा जुटेको छ ।
सरकारले स्वीकृत गरेपछि नेप्सेले ड्यु डेलिजेन्स अडिट (डीडीए) गरी सेयर बिक्री गर्न प्रतिसेयर मूल्य निकाल्नेछ । विदेशी साझेदार भित्र्याउँदा नयाँ प्रविधि भित्रिने, नयाँ उत्पादन भित्र्याउन पनि सहयोग र अनुभव पनि प्राप्त हुने नेप्सेको तर्क छ । नेप्सेले अहिले सेयर किनबेच मात्रै गरिरहेको छ ।
नेप्सेले विदेशी साझेदार भित्र्याउन सके नयाँ प्रविधि भित्र्याउन, डेरिभेटिभ बजार सञ्चालन गर्न, ओटिसी कारोबारलगायतमा सहयोग पुग्ने नेप्सेको तर्क छ । विदेशी साझेदार र सर्वसाधारणको लगानी भयो भने पारदर्शी र छिटोछरितो काम हुने अपेक्षा नेप्सेको छ ।