बजेटपछि घरजग्गा कारोबारमा उछाल, जेठमा ५५ हजार किनबेच



काठमाडौं । बजेटपछि घरजग्गा कारोबारमा उछाल आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि घरजग्गा क्षेत्र कारोबारमा सुधार देखिएको छ ।

सरकारले गत वैशाख ५ गते जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो ।

भू–उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्वीकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट सहज गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले गत वैशाख ५ गते जानकारी दिएकी थिइन् ।

मन्त्रालयले जग्गाको प्रयोजन एकिन गरेर मात्रै कित्ताकाट सहज गर्नु पर्ने निर्णय गरेको थियो । तर, सरकारले जग्गाको कित्ताकाट सहज बनाउने निर्णय भने हालसम्म कार्यान्वयन भने हुन सकेको छैन ।

तर, सरकारले घरजग्गा कारोबारमा सहज नीति अपनाउने प्रतिबद्धता जनाएसँगै घरजग्गा कारोबार सुधार हुन थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले देखाउँछ ।

विभागअनुसार चैतको तुलनामा वैशाखमा कारोबार घटेको थियो । गत चैत महिनामा ४९ हजार घरजग्गा किनबेच भएको थियो । वैशाखमा बढ्नुको साट्टो घटेर देशभरका मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएको थियो ।

वैशाखको तुलनामा जेठमा कारोबारमा उछाल आएको छ । तथ्याङ्क हेर्दा गत वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठ महिनामा बढी घरजग्गा किनबेच भएको छ ।

गत जेठको अन्त्यतिर सरकारले भूउपयोग नियमावली जारी गरेको थियो । सो महिना ५४ हजार ५११ घरजग्गा किनबेच भएको थियो । तर, यो वर्षको सोही महिनामा ५५ हजार ६९ वटा घरजग्गा किनबेच भएको छ । जुन यो वर्षको हालसम्मकै उच्च कारोबार भएको संख्या हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठमा ४ हजार ७१९ वटा घरजग्गा नामसारी, ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा गरेका छन् । साथै, जेठमा २९ वटा अपर्टामेन्ट बिक्री भएको विभागले जनाएको छ ।

जेठमा ५५ हजार घरजग्गा किनबेच हुँदा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा बढी किनबेच भएको देखिन्छ । उक्त मालपोत कार्यालयबाट २४ सय ६० वटा घरजग्गा किनबेच भएको छ ।

त्यसैगरी, बेलबारी मोरङबाट २ हजार ८९ वटा, नेपालगञ्ज बाँकेबाट १९ सय ७० वटा, जनकपुरधाम धनुषाबाट १८ सय ७४ वटा, पर्सा मालपोत कार्यालयबाट १५ सय ४० वटा र तौलिहवा मालपोत कार्यालयबाट १४ सय १९ वटा घरजग्गा किनबेच भएको छ ।

उपत्यकामा करिब ५ हजार घरजग्गा किनबेच

उपत्यकामा वैशाखको तुलनामा जेठमा १ हजार बढीले घरजग्गा किनबेच बढेको छ । वैशाखमा उपत्यकामा ३ हजार ६८३ वटा घरजग्गा किनबेच भएको थियो । विभागअनुसार उपत्यकामा भक्तपुरबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ ।

भक्तपुर मालपोत कार्यालयबाट जेठमा ११ सय १९ घरजग्गा किनबेच भएको छ । त्यस्तै, ललितपुर लगनखेल मालपोत कार्यालयबाट १ हजार ५९ वटा, कलंकीबाट ७५८ वटा, साँखुबाट ५७६ वटा, चावहिलबाट ४७९ वटा, मनमैजुबाट ३०६ वटा, डिल्लीबजारबाट २३५ वटा, टोखा कार्यालयबाट १७३ वटा र गोटीखेल ललितपुर मालपोत कार्यालयबाट ३० वटा घरजग्गा किनबेच भएको छ ।

३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन

जेठमा कारोबार बढेपनि राजस्व संकलन भने कम भएको छ । गत वैशाखमा ४२ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, जेठमा कारोबारमा उछाल आएपनि राजस्व संकलन भने निरास देखिएको छ । मुख्य शहरबाहेक अन्य क्षेत्रमा घरजग्गा बढी कारोबार हुँदा राजस्व संकलन भने कम देखिएको विभागले जनाएको छ ।

विभागले जेठमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले सवाँ पौने ४ अर्ब राजस्व संकलन गर्दा २८ करोड रुपैयाँ, बागमतिवापत ९ करोड ८४ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ४२ करोड २६ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब २८ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साथै, जेठमा ३६ करोड ९८ लाख रुपैयाँ छुट दिएको छ ।

राजस्व संकलनमा उपत्यकाको नै भर छ । उपत्यकामा घरजग्गा कारोबार कम भएपनि जग्गाको मूल्य उच्च हुँदा राजस्व संकलनमा ठूलो योगदान छ । जेठमा सबैभन्दा बढी लगनखेल ललितपुर मालपोत कार्यालयबाट राजस्व संकलन भएको छ । उक्त मालपोत कार्यालयबाट १७ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भक्तपुर मालपोत कार्यालयबाट १८ करोड ३३ लाख रुपैया, कलंकीबाट १५ करोड ३२ लाख रुपैयाँ, चावहिलबाट १३ करोड ४० लाख रुपैयाँ, डिल्लीबजारबाट १२ करोड ७१ लाख रुपैयाँ, चितवनबाट ११ करोड ६९ लाख रुपैयाँ र कास्कीबाट ११ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

जेठमा हालसम्मै उच्च कित्ताकाट

जेठ महिनामा हालसम्मकै उच्च कित्ताकाट भएको छ । विभागअनुसार गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता कायम भएको थियो।

त्यसैगरी, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता, कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता र मंसिरमा देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको थियो ।

माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भई ५४ हजार ४७८ वटा कित्ता, पुसमा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता र फागुन महिनामा देशभर २७ हजार ३१ वटा जग्गा वर्गीकरण गरी ६० हजार ३६१ कित्ता कायम भएको थियो ।

चैत महिनामा फागुनको तुलनामा १० हजार बढी जग्गाको वर्गीकरण भएको थियो भने वैशाखमा ३१ हजार ६९४ जग्गा वर्गीकरण भई ७० हजार ६१७ कित्ता कायम भएको थियो । जेठमा कित्ताकाट ह्वात्तै बढेर ४७ हजार ५५९ वटा जग्गा कित्ताकाट भई १ लाख ८ हजार ३०२ कित्ता कायम भएको छ । जुन यो वर्षको हालसम्मकै उच्च हो ।


क्लिकमान्डु