जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा शतप्रतिशत भन्सार बढाउँदा उद्योगी समस्यामा, कालोबजारी बढ्ने आशंका



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत जुत्ताचप्पलको कच्चा पदार्थ आयातमा शतप्रतिशत भन्सार बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै जुत्ता उत्पादनका लागि अत्यावश्यक कच्चा पदार्थ सोलको आयातमा शतप्रतिशत भन्सार बढाएका हुन् ।

सरकारले जुत्ताको आवश्यक कच्चा पदार्थको आयातमा १० प्रतिशत भन्सार तोकेको थियो । तर, नयाँ बजेटमार्फत सरकारले तीन वटा उपशीर्षकमा जुत्ताको सोल तथा अन्य कच्चा पदार्थको आयातमा १० प्रतिशतबाट बढाएर २० प्रतिशत भन्सार दर तोकेको छ ।

जुत्ताको माथिल्लो भाग र जुत्ताको पार्टपुर्जाको भन्सार दर १५ प्रतिशतबाट ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्‍याइएको छ । त्यस्तै, जुत्ताको आउटर सोल र प्लास्टिक र रबरको सोल आयातमा १० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर २० प्रतिशत बनाइएको छ ।

भन्सार बढाएपछि अधिकांश उद्योगले असन्तुष्टि जनाएका छन् । नेपाल फुटवेयर क्षेत्रमा आत्मनिर्भर भइसकेको छ । तर, उक्त फुटवेयर उत्पादनका आवश्यक कच्चा पदार्थमा भने विदेशकै भर छ । जसले गर्दा कच्चा पदार्थको आयातमा भन्सार दर बढाउँदा उद्योगमा उच्च प्रभाव परेको उद्योगीहरुले बताएका छन् ।

नेपालमा दुई प्रकारका उद्योगी छन् । ठूला उद्योगीले आफैं सोल उत्पादन गरी जुत्ता तयार गरिरहेका छन् भने साना तथा मध्यम वर्गका उद्योगीले आयातित सोल प्रयोग गरी जुत्ता उत्पादन गर्दै आएका छन् । सरकारले स्वदेशी कच्चा पदार्थ उत्पादन गर्ने उद्योगीलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेटमा उठेका प्रश्नको संसदमा जवाफ दिने क्रममा तयारी जुत्तामा ४० प्रतिशत तर पार्ट्समा कम दर भएका कारण सबै जुत्ता पार्ट्सका रुपमा आयात हुने प्रवृत्ति देखिएकाले तयारी जुत्ता र पार्ट्सको महसुल दरको अन्तर कम गरिएको बताए ।

महतले वास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए । ‘कच्चा पदार्थको आयात महसुल घटाउँदा स्वदेशी जुत्ता चप्पल उत्पादक उद्योगले विदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने र गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न सक्नेछ,’ संसदमा उनले भने ।

तर, सरकारले उद्योगीहरुको कच्चा पदार्थमा मूल्य घटाएको बताए पनि वास्तविकमा भन्सार दर बढाएको छ । जसले गर्दा भन्सार दर बढाएको प्रति उद्योगी रुष्ट भएका छन् ।

ठूला उद्योगीहरुले कच्चा पदार्थको भन्सार दर घट्नुपर्ने माग गरेका थिए । साना उद्योगीहरुले आयातित सोलमा भन्सार दर बढाउन नहुने माग गरेका थिए । सरकारले भने उद्योगीले माग गरेविपरीत बजेट ल्याएको छ ।

सरकारले ल्याएको बजेटले ठूला र साना गरी दुवै प्रकारका उद्योगीलाई फाइदा नहुने गोल्डस्टार जुत्ता बनाउने किरण सुजकी प्रबन्ध निर्देशक विदुषी राणा बताउँछिन् ।

उनका अनुसार सरकारले स्वदेशमै सोल उत्पादन गर्ने उद्योगीले आयात गर्ने कच्चा पदार्थमा भन्सार दर घटाएको छैन । अर्कोतर्फ साना तथा मध्यम वर्गले सोल आयात गरी उत्पादन गर्दै आएका उद्योगीका लागि थप भन्सार दर बढाएको छ । जसले गर्दा प्रत्यक्ष जुत्ता उद्योगमा प्रभाव परेको छ ।

‘स्वदेशी उद्योगीहरुलाई प्रोत्साहन गर्ने हो भने कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार लगाउन हुँदैन,’ उनले भनिन्, ‘सरकारले कच्चा पदार्थ आयातमा भन्सार दर घटाएमा आयातित जुत्तासँग प्रतिस्पर्धा गर्न सकिन्छ ।’ तर, अहिले सरकारले स्वदेशी उद्योगीको प्रतिस्पर्धात्मक क्षमता नै घटेको छ ।

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले सरकारले भन्सार दर घटाउनुपर्ने अवस्थामा बढाएर थप समस्यामा परेको बताए । उनका अनुसार भन्सार दर बढाउनाले बजारमा महंगीसँगै कालोबजारी बढ्नेछ ।

‘सरकारले जुत्ताका लागि आवश्यक अधिकांश कच्चा पदार्थको भन्सार दर वृद्धि गरेको छ,’ उनले भने, ‘आगामी दिनमा स्वदेशमा उत्पादन हुने जुत्ताको मूल्य २० प्रतिशतसम्म बढ्ने देखिन्छ ।’ सरकारले बजेट विनियोजन गरेको दिनदेखि नै उद्योगीहरुले छलफल तीव्र पारेका छन् । तर, सरकारले सकारात्मक प्रतिक्रिया दिए पनि व्यवहारमा नदेखिएको उनको भनाइ छ ।

नेपालका उद्योगीले आयातित कच्चा पदार्थबाट जुत्ता उत्पादन गरी आयातित जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । त्यसमाथि सरकारले स्वदेशी उद्योगलाई पलायन हुने भन्सार दर बढाएको छ । 

महासचिव ज्ञानेन्द्रप्रसाद दाहालले सरकारले जुत्ता उद्योगलाई उत्पादनमा निरुत्साहित गरेको बताए । उनकाअनुसार देशभरका उद्योगीहरुले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी बजारको मागअनुसार जुत्ता उत्पादन गर्दै आएका छन् । नेपालमा वार्षिक १० करोड जोडी जुत्ता खपत हुने अवस्थामा नेपालको उत्पादन क्षमता नै १६ करोड हाराहारी छ । तर, नेपाली बजारमा आयातित जुत्ता हाबी हुँदा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

अहिले नेपाली उद्योगले साढे ४ करोड जोडी चप्पल उत्पादन गर्दै आएका छन् भने साढे ५ करोड जोडी आयातित जुत्ताको बजार छ । संघका अनुसार अहिले नेपाली उद्योगले ३५ प्रतिशतमात्रै क्षमता उपयोग गरेका छन् ।

करिब १२ अर्ब लगानी भएको फुटवेयर क्षेत्रमा सरकारले आयातित जुत्तालाई विस्थापन गर्नका लागि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा निरुत्साहित गरेको उद्योगीहरुको भनाइ छ ।

नेपालमा १५ सय हाराहारीमा फुटवेयर उद्योग छन् । ती उद्योगले ५० हजारलाई प्रत्यक्ष रोजगारी दिएको जुत्ता उत्पादक संघ नेपालले जनाएको छ । देशभर १५ सय हाराहारीमा जुत्ता उद्योग भए पनि ठूला उद्योग १२ वटा छन् । त्यस्तै १५ वटा मध्यम स्तरका, ३ सय साना र १२ सय लघु-उद्योग छन् ।

नेपालमा ठूलाभन्दा साना उद्योग बढी भएकाले सरकारले साना उद्योगको हितमा बजेट ल्याउनुपर्नेमा सरकारले थप भन्सार बढाएर पलायन हुने अवस्था सिर्जना भएको उनले बताए ।

ठूला उद्योगीहरुले बजारमा सोल उत्पादन गरी साना उद्योगीलाई बिक्री गर्दै आएका छन् । तर, ती उद्योगबाट उत्पादित सोल पर्याप्त नभएकाले आयातित कच्चा पदार्थमै भर पर्नुपर्ने अवस्था छ । अहिलेको भन्सार दर वृद्धिले उत्पादन लागत दोब्बरले बढेको छ ।

गोल्डस्टारका प्रबन्ध निर्देशक राणाले सरकारले बजेटमार्फत ल्याएको नीतिले कालोबजारी बढ्ने बताइन् । उनले सरकारले अनुगमनलाई तीव्रता दिए मात्रै कालोबजारी रोकिने विश्वास गरिन् ।

‘सरकारले तयारी जुत्ता आयात गर्ने बेलामा जुत्ताको मूल्य र आयातकर्ताको विवरण मात्रै सार्वजनिक व्यवस्था गर्ने हो भने कालोबजारी रोक्न सकिन्छ,’ उनले भनिन् । सरकारले अनुगमनतर्फ ध्यान नदिने तर भन्सार दर बढाउने प्रति ध्यान दिँदा जुत्ता उद्योग उकास्न नसकेको हो ।

नेपालले चालू आर्थिक वर्षको १० महिनामा ८५ करोड ५४ लाख ३४ हजार रुपैयाँको १ करोड २७ लाखक ५१ हजार ४४४ जोडी सोल आयात गरेको छ । उक्त आयातित सोलबाट नेपालले २३ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले अधिकांश सोल चीनबाट आयात गर्दै आएको छ । १० महिनाको अवधिमा ८५ करोड रुपैयाँको सोल आयात गर्दा चीनबाट मात्रै ६४ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । भारतबाट २१ करोड २१ लाख र मेक्सिकोबाट ६ लाख ४१ हजार रुपैयाँको सोल आयात भएको छ ।


अरिष्मा मोक्तान