‘जनयुद्धमा सामेल नभएकाहरुले प्रचण्डबिरुद्ध मुद्दा हाले’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाएका छन् ।

सोमवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरुले प्रधानमन्त्री दाहालका बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका बताए ।

उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरुले मुद्दा हालेका बताए । उनले शान्ति प्रक्रिया भाड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए । उनले माओवादीका बिरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे । सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताए ।

उनको भनाइ जस्ताको त्यस्तै

शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भिर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ । शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । तर दुर्भाग्य एकथरी तत्वहरुले यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरुलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानून बनाएर कानूनद्वारा हल गर्नेतिर भन्दापनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडी बढिराखेका छन् । हामी गम्भिरतापूर्वक त्यसप्रकारका प्रवृत्ति, तत्व, व्यक्ति र संस्था जो सुकै भएपनि खबरदारी गर्न चाहन्छौँ । किनभने यो राज्यको साझा समस्या हो । जसले त्यो बारेमा कुनैपनि प्रकारको न सहभागिता जनाएका थिए न कुनैपनि प्रकारको अपनत्व लिएका थिए ति पक्षहरुले फेरी भाड्न खोजिरहेका छन् । त्यसकारणले विभिन्न रुपमा माओवादी पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काएर लिएर जाने जुन प्रकारको हर्कतहरु भएका छन् र पछिल्लो चरणमा केही व्यक्तिहरुले हामी जनयुद्धका हुँ भनेर अदालतमा गएर मुद्दा हाल्ने काम गरियो, मुद्दा हाल्नका निम्ति उक्साइयो ति पक्षहरुले शान्ति प्रक्रिया भाड्न चाहन्छन् । हामी के खबरदारी गर्न चाहन्छौँ भने यस प्रकारको प्रवृत्तिले देशले शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न सक्दैन । अदालतले आफैँ कानून सिर्जना गर्ने होइन । अदालतले राजनीतिक नेतृत्वद्वारा सिर्जित भएका संघीय संसदबाट प्रतिपादित भएका कानूनको व्याख्या गर्ने हो । र त्यो व्याख्या गर्नेगरी सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने यस प्रकारको क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्नेछ । बहुमत प्राप्त गरेर उहाँ संसदबाट प्रधानमन्त्रीको रुपमा आउनुभएको छ । केही तत्वहरुले उहाँलाई समेत मनोवैज्ञानिक रुपमा टर्चर गर्ने र अरु नेताहरुलाई पनि टर्चर गर्ने काम गरेका छन् । हामी त्यसको वैचारिक प्रतिवाद गर्छौं । सैद्धान्तिक प्रतिवाद गर्छांै । र पछिल्ला नयाँ पुस्ताहरुलाई गम्भिरतापूर्वक त्यो आन्दोलनलाई बुझ्नका निम्ति, त्यो मान्छेलाई हत्या गर्नको निम्ति, टुप्पी काट्नको निम्ति, जनै चुडाउनको निम्ति वा धर्म, सम्प्रदायलाई भड्काउनको निम्ति गरिएको आन्दोलन थिएन । त्यो आन्दोलन न्यायको निम्ति, स्वतन्त्रताको निम्ति, मुक्तिको निम्ति, प्रेस स्वतन्त्रताको निम्ति, निष्पक्ष निर्वाचन कायम गर्नको निम्ति, लोकतन्त्रका अरु मूल्य, मान्यता स्थापना गर्नको निम्ति त्यो आन्दोलन सुरुवात गरिएको थियो । त्यसकारण त्यो आन्दोलनलाई गलत तरिकाले प्रचार गरेर त्यसबाट नबहकिइकन त्यो आन्दोलनको सार वस्तु, त्यो आन्दोलनको त्यतिबेलाका दस्तावेजहरु, दृष्टिकोणहरु अध्ययन गर्नका निम्ति नयाँ पुस्ताका साथीहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु ।


क्लिकमान्डु