प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भएको छ ।
मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।
पाँचौं वार्षिक साधारण सभाले समूह ‘क’ संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहँदै आएका छन् ।
साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १:१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।