४० जिल्लाका १४ हजार ठाउँमा वर्डलिंकको फ्रि वाईफाई, दैनिक डेढ लाखले निःशूल्क प्रयोग गर्दै



काठमाडौं । वर्ड लिंकले सुरु गरेको ‘एक्सप्रेस वाईफाई’ परियोजनाअन्तर्गत हाल ४० जिल्लामा फ्रि वाईफाई (निःशूल्क वाईफाई) सेवा पुगेको छ । वर्ड लिंकको ‘एक्सप्रेस वाईफाई’ परियोजनाका प्रबन्धक पुनित मानन्धरकाअनुसार ४० जिल्लाका विभिन्न स्थानमा गरी १४ हजारभन्दा धेरै ठाउँमा निःशूल्क वाईफाईको सेवा पुगेको हो ।

वर्ड लिंकले सन् २०१८ बाट यो परियोजनाको सुरुवात गरेको थियो । सन् २०१८ फेब्रुअरी ६ मा नक्सालस्थित एक रेष्टुरेन्टमा नि:शूल्क वाईफाई जडान गरेसँगै यो परियोजनाको सुरुवात भएको थियो । परियोजनाका व्यवसाय प्रबन्धक (बिजनेस म्यानेजर) किशोर बज्राचार्यका अनुसार कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत यो परियोजनाको सुरुवात भएको थियो ।

बज्राचार्यले क्लिकमाण्डुसँग भने, ‘हामीले सुरुवातमा सिएसआरअन्तर्गत रहेर यो परियोजनाको सुरुवात गरेका थियौं । त्यसपछि यसलाई निरन्तरता दिँदै गएका छौं ।’

हाल वर्ड लिंकको निःशूल्क वाईफाई ४० जिल्लाका विभिन्न १४ हजारभन्दा धेरै स्थानमा जडान गरिएको छ । मुख्य गरी काठमाडौं उपत्यकाभित्र र पोखरामा निःशूल्क वाईफाईको सेवा रहेको बज्राचार्यले बताए । काठमाडौंभित्र ललितपुर महानगरपालिकाका सबै वडामा वल्र्डलिंकले निःशूल्क वाईफाईको सेवा उपलब्ध गराएको छ । त्यस्तै, भक्तपुर नगरपालिका र काठमाडौं महानगरपालिकाभित्रका पनि धेरै जसो वडामा वल्र्डलिंकको निःशूल्क वाईफाई सेवा रहेको छ ।

परियोजनाका प्रबन्धक मानन्धरकाअनुसार दैनिक जसो १ लाख ४० हजारदेखि १ लाख ५० हजार हाराहारीमा प्रयोगकर्ताहरुले निशूल्क वाईफाईको प्रयोग गर्ने गरेका छन् । उनी भन्छन्, ‘दैनिक डेढ लाखसम्म प्रयोगकर्ताहरु फ्रि वाईफाईमा कनेक्ट हुनुहुन्छ । हामीले मोनिटर गर्दा म्याक्सिमम ६ सय एमबिपिएससम्मको पिक स्पिडमा ब्याडविथको प्रयोग पुगेको छ ।’

काठमाडौं उपत्यकाका विभिन्न पालिकाबाहेक यहाँ रेस्टुरेन्ट तथा सार्वजनिक स्थल, मन्दिरलगायतमा पनि वर्डलिंकले फ्रि वाईफाईको सेवा दिइरहेको छ । पोखरामा भने मुख्य गरि रेस्टुरेन्ट तथा विभिन्न चोकहरुमा फ्रि वाईफाईको सेवा उपलब्ध रहेको बज्राचार्यले बताए ।

धेरै प्रयोगकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वर्ड लिंकले सुरु गरेको फ्रि वाईफाईको सबैभन्दा धेरै प्रयोगकर्ता काठमाडौंस्थिथत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका छन् । परियोजनाका प्रबन्धक मानन्धरका अनुसार दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ हजारभन्दा धेरै प्रयोगकर्ताहरुले फ्रि वाईफाईमा कनेक्ट हुने गरेका छन् ।

वर्ड लिंकले सबैभन्दा सुरुवातमा फ्रि वाईफाई जडान गरेको एयरपोर्ट नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हो । अहिले सोही फ्रि वाईफाईलाई दैनिक ४ हजारभन्दा धेरैले प्रयोग गरिरहेको परियोजनाका व्यापाय प्रबन्धक बज्राचार्य बताउँछन् । उनी भन्छन्, ‘एयरपोर्टमा फ्रि वाईफाई हुनुले धेरैलाई सहज भएको हाम्रो अनुमान छ । कतिपय ठाउँमा नेटवर्क नहुने, डाटाको महंगो मूल्य हुने भएकाले पनि फ्रि वाईफाईले सहयोग पुगिरहेको छ ।’

वर्ड लिंकले देशभरका धेरै एयरपोर्टहरुमा फ्रि वाईफाईको विस्तार गरेको छ । डोल्पा, मुगुजस्ता पर्यटकिय क्षेत्रहरुमा पनि फ्रि वाईफाईको सुविधा जडान गरिएको परियोजना प्रबन्धक मानन्धरले बताए । उनले भने, ‘हामीले पर्यटकको फ्लो हुने ठाउँहरुमा फ्रि वाईफाइ जडान गरेका छौं । केही दुर्गम ठाउँहरुमा भने काम हँदै छ ।’

‘एक्सप्रेस वाईफाई’ परियोजनालाई विस्तार गर्दै लैजाने रणनीति लिएको वल्डलिंकले सन् २०२३ को अन्त्यसम्ममा ३० हजार ठाएँहरुमा फ्रि वाईफाईको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । हाल जडान भएका फ्रि वाईफाइहरुमध्ये धेरै जसो रेस्टुरेन्टहरुमा छन् । यीसँगै विभिन्न सार्वजनिक स्थानहरुमा पनि यो सुविधा दिइएको बज्राचार्यले बताए । उनले भने, ‘७० प्रतिशत रेस्टुरेन्टहरुमा छन् । अब यसलाई हामीले बृद्धि गर्दै लगिरहेका छौं । यो वर्षको अन्त्यसम्ममा ३० हजार ठाउँहरुमा फ्रि वाइफाइ जडान गर्ने सोध छ ।’

काठमाडौंभित्र ६ हजार ठाउँमा

काठमाडौं उपत्यकाभित्र वर्ड लिंकले ६ हजार स्थानहरुमा फ्रि वाईफाइको सुविधा जडान गरेको छ । यीमध्ये धेरै रेस्टुरेन्टहरुमा छन् । यसबाहेकका अन्य ठाउँहरु भने काठमाडौं उपत्यका बाहिर रहेका छन् । उपत्यकाबाहिरका पोखरा, चितवनजस्ता ठूला शहरहरुमा धेरै र अन्य शहरहरुमा पनि यसलाई विस्तार गरेर १४ हजार स्थानमा यसलाई पुर्याएको छ।

‘यो परियोजनाको मुख्य लक्ष्य भनेकै सर्वसाधारणका लागि सुविधा हो,’ बज्राचार्यले भने, ‘हामीले इन्टरनेट प्रयोग गर्न चाहनेले सहजै गर्न सकुन भनेर पनि यो परियोजना सुरु गरेका थियौं । यसलाई निरन्तरता दिनुको कारण नेपालमा इन्टरनेट महंगो हुनु, कतिपय ठाउँमा अत्यावश्यक पर्दा इन्टरनेट नहुनुजस्ता कारण हुन । फ्रि वाइफाइ भएका कारण आपत परेकै बेला पनि इन्टरनेटको पहुँचमा पुग्न सक्ने अवस्था भएको छ ।’

रेस्टुरेन्टहरुमा फ्रि वाइफाइ जडान गर्नका लागि सम्बन्धितसँग १५ हजार लिने गरिएको उनले बताए । उनले भने, ‘यो एक पटक लिइने पैसा हो । जडान गरिने उपकरणको बेवास्ता नहोस र अपनत्व महसुस होस भनेर यो शूल्क लिइन्छ । त्यो बाहेकका सुविधाहरु फ्रिमा हुन्छन् ।’

कसरी प्रयोग गर्ने वर्डलिंकको फ्रि वाईफाई ?

वर्डलिंकको ‘एक्सप्रेस वाईफाई’ परियोजनाअन्तर्गतको फ्रि वाइफाइ जडान भएको स्थानमा दुई वटा एसएसआईडी हुन्छन् । फ्रि वर्डलिंक वाईफाई र माई वर्ड लिंक वाईफाई मध्ये फ्रि वल्र्डलिंक वाईफाई जो सुकैले प्रयोग गर्न पाउँछन् । उक्त एसएसआईडीमा कनेक्ट गर्न चाहँदा क्लिक गरेर केही सेकेन्डको विज्ञापन हेर्नुपर्छ । त्यसपछिे गेट अनलाइन अप्सनमा क्लिक गर्नुपर्छ ।

पहिलो पटक वर्डलिंकको फ्रि वाईफाई चलाइरहेको प्रयोगकर्ताले यहाँ एक पटक रजिस्टर गर्नुपर्छ । फोन नम्बरमार्फत रजिस्टर गर्न सकिन्छ । त्यसपछि फोनमा आउने ‘ओटिपी’लाई राखेर प्रयोगकर्ताले फ्रि वाईफाइ चलाउन पाउँछन् ।

पहिल्यै रजिस्टर गरेका प्रयोगकर्ताको खण्डमा उक्त अप्सनमा क्लिक गरेर आफूलाई प्राप्त भएको ओटीपिलाई राखि इन्टरनेट प्रयोग गर्न पाउने बज्राचार्य बताउँछन् ।

‘त्यहि ओटिपी अरु बेला पनि प्रयोग गर्न सकिन्छ’, बज्राचार्य भन्छन्, ‘एक पटक कनेक्ट भएपछि सय एमबिपिएससम्म इन्टरनेट चलाउन पाइन्छ । त्यो सकिएपछि फेरि चलाउन ४/५ सेकेन्डको विज्ञापन हेरेर पाइन्छ । विज्ञापन हेरेपछि डेटा फेरि थपिन्छ ।’

फ्रि वर्डलिंक वाईफाईबाट इन्टरनेट प्रयोग गर्दा लिमिटेड डाटा प्रयोग गर्न पाइन्छ ।

तर, माई वर्डलिंक वाईफाई एसएसआईडीमा कनेक्ट गरेर भने प्रयोगकर्ताले अनलिमिडेट डाटा प्रयोग गर्न पाउँछन् । यसका लागि भने पहिल्यैबाट वल्र्डलिंकको ग्राहक भएको हुनुपर्छ । वर्डलिंकका ग्राहक रहेका प्रयोगकर्ताले आफ्नो वर्डलिंक वाईफाईको अनलाइन युजरनेम र पासवर्ड राखेर कनेक्ट गर्नुपर्ने बज्राचार्यले बताए ।

‘१४ हजार ठाउँहरुमा २ दुवै वटा एसएसआईडी उपलब्ध छन्,’ उनले भने, ‘प्रयोगकर्ताले आफूले मिल्ने एसएसआईडीबाट कनेक्ट गरेर चलाउन सक्छन् ।’

सार्वजनिक स्थानमा फ्रि वर्डलिंक वाईफाईमा एक उपकरणमा एक पटकका लागि १ सय एमबिपिएस डाटा पाइन्छ । रेस्टुरेन्टको हकमा यो ५ सय एमबिपिएससम्म रहेको छ । डाटा सकिएमा पुनः केही सेकेन्डको विज्ञापन हेरेमा डाटा थपिने बज्राचार्यले बताए ।

‘अहिले धेरैले ओटिपि बिर्सने समस्या आएको छ,’ उनले भने, ‘कनेक्ट गर्दा नै कसरी ओटिपि पाउने भन्ने राखिएको छ । यसका लागि रजिस्टर्ड युजरले वाइफाइ लगइन कोड लेखेर ३५४६५ मा म्यासेज पठाएमा पुनः ओटिपि आउँछ । तर, यसका लागि रजिस्टर्ड भएको हुनुपर्छ ।’


क्लिकमान्डु