वार्षिक खर्बौं रुपैयाँको टेक्सटायल आयात गर्छ भारत, नेपालबाटै किन्छ १९ अर्बको



काठमाडौं । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश भारतले संसारको आयात तथा निर्यात क्षेत्रमा ठूलो हिस्सा ओगटेको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा ओगटेको भारतले वैदेशिक व्यापारमा ठूलो योगदान पुर्‍याउँदै आएको छ ।

भारतले निर्यात गर्ने वस्तुमध्ये टेक्सटायल क्षेत्रको हिस्सा पनि ठूलो छ । टेक्सटायल र कपडा क्षेत्रमा विश्वको व्यापारमा ४ प्रतिशत हिस्सा ओगटेको भारतको अर्थतन्त्रमा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २ प्रतिशत योगदान छ । उत्पादन क्षेत्रमा भने यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन १२ प्रतिशत छ ।

भारतले सन् २०२२ मा मात्रै ४४ अर्ब ४० करोड अमेरिकी डलरको टेक्सटायल र कपडा निर्यात गरेको छ । जुन सन् २०२१ को तुलनामा ४१ प्रतिशतले बढी हो । विश्वमा अहिले टेक्सटायलको बजार ८ खर्ब ६९ अर्ब अमेरिकी डलरको छ । आगामी सन् २०२५/२६ भने १० खर्ब पुग्ने अनुमान छ ।

टेक्सटायल र कपडाको व्यापारमा विश्वको ४ प्रतिशत बजार ओगटेको भारतले भने वार्षिक खर्बौं रुपैयाँको आयात गर्दै आएको छ । भारतमा विशेषगरी चीन, भारत र पाकिस्तानबाट सस्तो मूल्यमा आयात भइरहँदा भारतका उद्योगले प्रतिस्पर्धा गरेर उच्च उत्पादन गरी बिक्री गर्न सकेका छैनन् ।

भारतमा कपडा तथा टेक्सटायल क्षेत्रमा प्रविधिको कमी, दक्ष जनशक्तिको कमी, कमजोर पूर्वाधार र ढुवानीमा समस्यालगायत अन्य विभिन्न चुनौतीका कारण भारतीय बजार आयातित टेक्सटायल र कपडामा निर्भर भएको पाइन्छ ।

भारतले सन् २०२२ को नोभेम्बरसम्ममा १ अर्ब २० करोड अमेरिकी डलरको कपडा आयात गरेकोमा सन् २०२२/२३ सम्ममा १० अर्ब अमेरिकी डलरको आयात गर्ने अनुमान छ ।

टेक्सटायल क्षेत्रमा ठूलो हिस्सा ओगटेको भारतले विश्वका विभिन्न मुलुकबाट आयात गरेर बजारको माग आपूर्ति गर्दै आएको छ । भारतले नेपालसहित अन्य विभिन्न देशबाट वार्षिक खर्बौं रुपैयाँको कपडा तथा टेक्सटायल आयात गर्दै आएको अध्ययनले देखाएको छ ।

भारतले सन् २०२१/२२ मा नेपालबाट मात्रै १४ करोड २० लाख अमेरिकी डलर (जेठ २२ को विनिमयदर अनुसार करिब १९ अर्ब रुपैयाँ) को टेक्सटायल आयात गरेको छ ।

भारतले चीनबाट उच्च टेक्सटायल आयात गर्ने गरेको छ । चीनबाट भारतले सन् २०२१/२२ मा ३ अर्ब ११ करोड ६० लाख, बंगलादेबाट ८१ करोड ९० लाख, भियतनामबाट २८ करोड, इन्डोनेसियाबाट २४ करोड ४० लाख, थाइल्यान्डबाट २२ करोड ४० लाख र दक्षिण अमेरिकाबाट १८ करोड ४० लाख अमेरिकी डलरको टेक्सटायल आयात गरेको छ ।

भारतले सन् २०२२/२३ मा १ अर्ब ३२ करोड अमेरिकी डलरको आयात गर्दा ५१ करोड २० लाख अमेरिकी डलको टेक्सटायल तथा कपडा निर्यात गरेको थियो । त्यस्तै, भारतले सन् २०२१/२२ मा २ अर्ब ८१ करोड ६० लाख, सन् २०२०/२१ मा १ अर्ब ८९ करोड ७० लाख, सन् २०१९/२० मा १ अर्ब ३२ करोड ८० लाख र सन् २०१८/१९ मा २ अर्ब १० करोड ४० लाख अमेरिकी डलरको टेक्सटायल तथा कपडा आयात गरेको थियो ।

तथ्यांकअनुसार भारतको निर्यात हिस्सा भने निकै कम छ । भारतले सन् २०२१/२२ मा ५६ करोड, सन् २०२०/२१ मा ३८ करोड ६० लाख, आव २०१९/२० मा १ अर्ब ५ करोड ७० लाख र सन् २०१८/१९ मा ६३ करोड ३० लाख अमेरिकी डलरको टेक्सटायल तथा कपडा निर्यात गरेको थियो । अध्ययनअनुसार सन् २०२३ मा टेक्सटायल तथा कपडाको निर्यात करिब १८ प्रतिशतले बढेको उल्लेख छ ।

भारतले उत्पादन गरेको टेक्सटायल र त्यससँग सम्बन्धित वस्तु सन् २०२२/२३ मा सबैभन्दा बढी अमेरिकामा निर्यात गरेको देखिन्छ । भारतले सन् २०२२/२३ मा ४९ करोड २० लाख अमेरिकी डलरको निर्यात गरेको छ ।

त्यसपछि भारतले अष्ट्रेलियामा २७ करोड ७० लाख, सिंगापुरमा १२ करोड २० लाख, स्विट्जरल्यान्डले ८ करोड १० लाख र ब्राजिलले ६ करोड ६० लाख अमेरिकी डलरको टेक्सटायल तथा त्यससँग सम्बन्धित वस्तु निर्यात गरेको छ । त्यसबाहेक अन्य देशमा पनि भारतले उत्पादित टेक्सटायल निर्यात गरेको छ ।

कृषि क्षेत्रपछि ठूलो रोजगारी सिर्जना गरेको टेक्सटायल क्षेत्रमा ४ करोड ५० लाख मानिस प्रत्यक्ष र ६ करोड मानिस अप्रत्यक्ष जोडिएका छन् । भारतले आफ्नै देशमा उत्पादन भएको कच्चा पदार्थबाट कपडा उत्पादन गर्दै आएको छ ।

कच्चा पदार्थ उत्पादनमा विश्वको सबैभन्दा ठूलो देश भारतले कटन, धागो, सिल्क तथा जुट उत्पादन गरी कपडा उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ । तर, भारतले टेक्सटायल तथा कपडा उत्पादनका लागि अन्य आवश्यक कच्चा पदार्थ म्यान मेड धागो, फ्याब्रिक र अन्य वस्तु भने विभिन्न देशबाट आयात गरी उत्पादन गर्दै आएको छ ।

टेक्सटायल तथा कपडा क्षेत्रमा विश्वको छैटौं ठूलो देश भारतले संसारका एक सयभन्दा बढी देशमा निर्यात गर्दै आएको छ । भारतले टेक्सटायल वस्तु, ह्यान्डलुम र ह्यान्डिक्राफ्ट विश्वका १ सय देशमा निर्यात गर्दै आएको छ ।

भारतमा उत्पादित अधिकांश टेक्सटायल तथा कपडा युरोपमा निर्यात हुँदै आएको छ । त्यसमा भारतबाट निर्यात हुने ४७ प्रतिशत हिस्सा अमेरिका, युरोपेली संघका २७ देश र बेलायतले ओगटेको छ । तर, रुस-युक्रेनबीचको द्वन्द्वका कारण आर्थिक मन्दी छाउँदा टेक्सटायलको माग घटेको छ । जसले गर्दा भारतले व्यापारघाटा व्यहोरिरहेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

भारतले हङकङबाट १६ करोड ३० लाख, जापानबाट १५ करोड १० लाख, अमेरिकाबाट १५ करोड, श्रीलंकाबाट १४ करोड ३० लाख, ताइवानबाट १४ करोड, स्पेनबाट ११ करोड ४० लाख र जर्मनीबाट १० करोड अमेरिकी डलरको टेक्सटायल आयात गरेको छ ।

भारत सरकारले टेक्सटायल क्षेत्रमा आत्मनिर्भर बनाउन हरेक वर्ष उच्च अनुदान दिँदै आएको छ । तर, अन्य देशको तुलनामा उत्पादन लागत उच्च र उत्पादन कम भएकाले निकै चुनौती रहेको उल्लेख छ । बजारमा गुणस्तरको कटन तथा कच्चा पदार्थ उपलब्ध नहुँदा आयातित कच्चा पदार्थबाट टेक्सटायल उत्पादन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा आयातित कपडा तथा टेक्सटायलसँग प्रतिस्पर्धा गर्न नसकेको अध्ययनले देखाएको छ ।


अरिष्मा मोक्तान