भायनेट कम्यूनिकेशनले एकै वर्ष गर्‍‍यो २ अर्ब २३ करोडको व्यापार



काठमाडौं । भायनेट कम्यूनिकेशन लिमिटेडले एकै वर्ष २ अर्ब २३ करोड बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब २३ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२० मा २ अर्ब ८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा १ अर्ब ६८ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब १४ करोड २० लाख रुपैयाँ र सन् २०१८ मा ९३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् १९९९ मा स्थापन भएको इन्टरनेट सेवा प्रदायक भायनेट २०२२ को जुलाईमा पक्लिक कम्पनी भएको हो । कम्पनीले देशभर इन्टरनेट सेवा विस्तार, कम्यूनिकेशन सोलुसन, आइपीटीभी (टिभी ओभर इन्टरनेट प्रोटोकल) र बजारको मागअनुसार भिडियोको सेवा दिँदै आएको छ । कर्पोरेट क्षेत्रसँगै रिटेल ग्राहकहरुलाई कम्पनीले देशभर सेवा दिँदै आएको छ ।

हालसम्ममा २२ वटा जिल्लामा ८३ वटा शाखाबाट सेवा दिँदै आएको कम्पनीले जनाएको छ । विनय बोहोराको ८५ प्रतिशत शेयर रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७६ करोड १५ लाख रुपैयाँको रेटिङ गराएको छ । त्यसमा रेटिङ कम्पनीले इस्यूर नट कर्पोरेटिङ क्याटागरीमा राखेको छ ।

विगत २३ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीको बजार हिस्सा करिब १० प्रतिशत छ । बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीबीच उच्च प्रतिस्पर्धा हुँदा कम्पनीको हिस्सा ९ प्रतिशतदेखि १० प्रतिशतमा सीमित भएको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीको आम्दानी सन् २०२३ मा घटेको उल्लेख छ । सन् २०२३ को ८ महिनाको अवधिमा नयाँ प्रयोगकर्ता थप्ने दरमा (वार्षिक) १७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । त्यसमा वार्षिक हिसाबले हेर्ने हो भने सन् २०२२ मा थपेको प्रयोकर्ताको तुलनामा ५२ प्रतिशतले कमी हो । त्यस्तै, बजारमा नयाँ कम्पनीहरुको प्रवेशले गर्दा मूल्यमा युद्ध भएसँगै कम्पनीको (एभेरेज पर युनिट युजर) अप्रु मेट्रिकमा पनि गिरावट आएको छ ।

सन् २०२२ को तुलनामा सन् २०२३ को ८ महिनाको अवधिमा अप्रु १० प्रतिशतले कमी आएको उल्लेख छ । साथै, नाफा पनि कमी आएको छ । सन् २०२२ मा २१ प्रतिशत नाफा कमाएको कम्पनीले सन् २०२३ को ८ महिनाको अवधिमा २५ प्रतिशत नाफा कमाएको छ । कम्पनीको करिब ८० प्रतिशत आम्दानी बागमती प्रदेशबाट हुने गर्दछ ।

नेपालमा इजाजतप्राप्त ६२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । तर त्यसमध्ये बजार भने १० वटा कम्पनीले कब्जा गरेको अवस्था छ ।


क्लिकमान्डु