अबदेखि तरकारी तथा फलफूल आयात गर्दा १३% भ्याट लाग्ने, किसानलाई राहत



काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्रोत्साहनको नीति लिएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले कृषिजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको हो ।

आयातित कृषिजन्य वस्तुमा सरकारले कर नगलाउँदा वा कम लगाउँदा आयातित कृषिजन्य उत्पादनसँग नेपाली किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको थिएन । जसका कारण आयातित कृषिजन्य वस्तुभन्दा स्वदेशी उत्पादन महँगो पर्न जाँदा कृषकले उचित मूल्य पाउन सकेका थिएनन् ।

लामो समयदेखि आन्तरिक कृषि उत्पादनलाई प्रवर्धन गर्न सरकारले आयातित कृषिजन्य वस्तुमा कर बढाउनुपर्ने माग उठ्दै आएको थियो । सो मागलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरेको हो ।

सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री डा. प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेको घोषणा गरे ।

‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले १७० वस्तुको आयातमा लाग्ने मूल्य अभिवृद्धि करको छुट खारेज छु,’ महतले बजेट घोषणामा भने ।

सरकारले आयातित तरकारी, वनस्पति तथा फलफूलमा भ्याट लाग्ने बनाएसँगै बजारमा ती वस्तु मूल्य महँगो हुने भएका छन् । तर, यसले कृषकलाई भने राहत पुग्नेछ ।

भ्याटमा छुट दिँदा उच्च आयात भई विदेशी तरकारीले बजार कब्जा गरेको अवस्था छ । जसले गर्दा विदेशी आयातित तरकारी तथा फलफूलसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सकेका थिएनन् । सरकारले यो वर्षको बजेटमार्फत किसानले उत्पादन गरेको वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ ।

सरकारले सजावट प्रयोजनाका लागि वा फूलको गुच्छा बनाउनका लागि टिपेको कोपिला वा टिपेको फूल, ताजा, सुकेको, रंगाएको, धोएको, संसेचित (इम्प्रिग्नेटेड) वा अन्य प्रकारले तयार गरेको वस्तुमा भ्याट लाग्ने जनाएको छ । त्यसमा गुलाफहरु, कार्नेसहरु, अर्किडहरु, क्रिसानथेममहरु, कुमुदिनी र अन्य छन् ।

त्यसैगरी, सरकारले प्याज र शालौट, केराउ, आलु, बोडी, पालुंगो, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ । जुन नेपाली कृषकका लागि सकारात्मक पक्ष हो ।

सरकारले तरकारीसहित एभोकाडो, स्याउ, नासपति, क्विन्स (श्रीफल), खुर्पानी, चेरी, अमिलो चेरी, स्ट्रबेरी, रेस्पबेरी, ब्ल्याकबेरी, मलबेरी र लोकानबेरी, कालो, सेतो वा रातो किसमिस वा अंगुर वा मुनक्का र गुस्बेरीहरु, क्रेनबेरी, बिलबेरी, अन्य भ्याक्सिननियम जातिका फलहरुको छुट भ्याट खारेज गरेको छ ।

किवी फ्रुट, दुराम्रहरु, हलुवाबेत आयातमा पनि अबदेखि १३ प्रतिशत भ्याट लाग्नेछ । साथै, सरकारले कफीको दानामा दिँदै आएको भ्याट छुट खारेज गरेको छ ।

त्यस्तै, सरकारले मकैको मैदा, जिनसेनको जरा, कोकाको पात, अफिमको पराल, इफेद्रा अफ्रिकी चेरीको बोक्रा, सोयाबडी मस्यौरा, नफड्केको वा नकोरेको कपास र फड्केको वा कोरेको कपासमा भ्याट लाग्ने व्यवस्था गरेको छ ।

बजेटमार्फत मट्टितेल, जीवजन्तु जस्तै, चौपाया, मासु, भेडा, खसीबोका, सँगुरलगायत मासुजन्य वस्तुको आयातमा भ्याट छुट खारेज गरेको छ । सामुद्रिक माछामासुको सम्पूर्ण वस्तुको आयातमा भ्याट छुट खारेज गरिएको छ । सरकारले ती वस्तुमा लाग्दै आएको अन्त:शुल्क पनि खारेज गरेको छ ।

कृषि विज्ञ उद्धव अधिकारीले सरकारले कृषिजन्य वस्तुको आयातमा छुट दिँदै आएको भ्याट खारेज गरेकाले कृषकलाई राहत पुगेको बताए । सरकारले आलु, प्याजलगायत अन्य वस्तुको आयातमा भ्याट लाग्नेवित्तिकै उपभोक्तालाई महँगो पर्छ, किसानले भने उपयुक्त मूल्य पाउनेछन् ।

‘यसबाट बाह्य उत्पादन निरुत्साहित हुन्छन् भने स्वदेशी किसानले मूल्य पाउँछन्,’ उनले भने, ‘उपभोक्ता भने मर्कामा पर्छन् ।’ बजारमा आयातित तरकारी तथा फलफूलसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ ।

ट्रयाक्टरहरुको भ्याट छुट खारेज

सरकारले विगतमा ट्रयाक्टरहरुमा दिँदै आएको छुट पनि खारेज गरेको छ । सरकारले सेमी ट्रेलरका लागि सडकमा गुड्ने ट्रयाक्टर र कम्प्रेसन-इग्निसन इन्टरनल कम्बसन पिष्टोन इञ्जिन भएका १८ किलोवाटसम्मका गाडीमा अबदेखि १३ प्रतिशत भ्याट लाग्ने बनाएको छ । त्यसमा १८ किलोवाट ननाघेको, १८ किलोवाट नाघेको तर ३७ किलोवाट ननाघेको, ३७ किलोवाट नाघेको तर ७५ किलोवाट ननाघेको र ७५ किलोवाट नाघेको तर १३० किलोवाट ननाघेको ट्रयाक्टरको आयातमा भ्याट लाग्नेछ ।

साथै, ५५ सिसि ननाघेको तर १५५ सिसि ननाघेको अपाङ्गा भएका व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको स्कुटर, १५५ सिसि नाघेको तर २५० सिसि ननाघेको अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको स्कुटरमा भ्याट लाग्नेछ ।

सरकारले चिप्लो, कत्रेको-धोएको ऊन, सोर्न ऊन, कार्बोनाइज्ड, खुद्रा बिक्रीको लागि नराखिएको ८५ प्रतिशत वा सोभन्दा बढी कपासको तौल भएको कपासको धागो (सिउने धागोबाहेक) सम्पूर्ण वस्तुको आयातमा भ्याट लाग्ने व्यवस्था गरेको छ ।

सरकारले मेट्रिक टनअनुसार विभिन्न २५ वटा उपशीर्षकमा वस्तुको आयातमा दिँदै आएको भ्याट छुट खारेज गरेको छ । सरकारले धागोमा भ्याट लाग्ने बनाएसँगै बजारमा धागोको मूल्य बढ्ने देखिएको छ ।

हवाईजहाजको इञ्जिनमा पनि भ्याट लाग्ने

सरकारले हवाईजहाजको इञ्जिनको पार्टपुर्जामा भ्याट लाग्ने बनाएको छ । सरकारले स्पार्क-इग्निसन रेसिप्रोकेटिङ वा रोटरी इन्टरनल कम्बसन पिष्टोन इञ्जिनहरुमा दिँदै आएको छुट खारेज गरेको छ । उक्त वस्तुभित्र लुगा सुकाउने (क्लोद्स-ड्रायर्स) पनि छ । साथै,हवाईजहाज उडाउने गियर र तिनका पार्टपुर्जा, डेक एरेस्रट वा त्यस्तै गियर र तिनका पार्टपुर्जामा सरकारले छुट भ्याट खारेज गरेको छ ।


क्लिकमान्डु