२५८६ वर्षअघि म लुम्बिनीमा हुन्थेँ भने सिद्धार्थ गौतमले दरबार छाड्दा हावादारी भन्थेँ होला



सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन गइरहेको छु । नीति तथा कार्यक्रममा माननीयज्यूहरुले सुझाव र गुनासाहरु राख्नुभएको छ । हिजो मात्र प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको हो भन्नुभएको छ ।

कुनै पनि योजना भिजन भएको नेताले गर्छन् । भिजन तथा योजना कसैलाई हावादारी पनि लाग्न सक्छ । यदि म २५८६ वर्षअगाडि लुम्बनीमा हुन्थेँ भने सिद्धार्थ गौतम जब दरबार छाडेर गए, मैले उनलाई पनि हावादारी काम गरेर जाँदै हुनुहुन्छ भन्थेँ होला । तर, आज भगवान् बुद्ध, जसले ज्ञान प्राप्त गरे, विश्वभर छाएर बसेका छन् । त्यसकारण हावादारी शब्द प्रयोग नगर्दा नै राम्रो हुने यहाँहरुलाई सुझाव दिन्छु ।

संविधान कार्यान्वयनका अभ्यास, अनुभव र उपलब्धिहरु हाम्रा लागि उत्साहजनक रहेका छन् भन्ने लेखिएको छ । मैले योभन्दा पहिले शून्य समयमा पनि यसबारेमा केही बोलेको थिएँ । मलाई त लाग्छ, मिश्रित निर्वाचन प्रणालीले संवैधानिक संकटको अवस्था ढिलोछिटो आउनेछ । मिश्रित निर्वाचन प्रणालीले ३३ प्रतिशत महिलाको सहभागिताको कारणले, सहभागिता नहुँदा कसरी हामीले व्यवस्थित गर्ने भन्ने कुरा यो सदनमा कहिले छलफल भएको पाएको छैन ।

मलाई आशा छ, अर्को निर्वाचन हुनुभन्दा केही महिना अगाडि यसबारेमा छलफल भएर अगाडि बढाउन आवश्यक देख्छु । अन्यथा, संवैधानिक संकट ढिलोछिटो आउँछ भन्ने मलाई लागेको छ ।

विकासशील राष्ट्रको रुपमा स्तरोन्नति हुन गइरहेको नेपाल, नेपाली झन्डा अंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कर्मचारी र कार्यालयको व्यवस्था भए पनि विधेयक संशोधन गर्न अगाडि बढाई कार्यान्वयन गर्न आवश्यक छ । कोलकाता बन्दरगाहमा आउनसक्ने पानीजहाजको मलेसिया, सिंगापुर, दुबईको सेवाबाट वार्षिक २ अर्बबराबरको ढुवानीबापतको रकम विदेशी मुद्रा बचत हुने र स्वदेशमा पनि रोजगारी सिर्जना हुने परिणाममुखी योजना अघि बढाउन अति आवश्यक छ ।

विकासशील राष्ट्रमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तरता अति आवश्यक रहेको, मेट्रो रेल गोदावरीबाट बूढानीलकण्ठ र थानकोटबाट भक्तपुरसम्मको यसै वर्षको बजेटमा व्यवस्था गर्नुपर्ने मेरो माग छ ।

थानकोट–चित्लाङ सुरुङमार्गलाई निरन्तरता दिएमा काठमाडौंको बसोबासमा जनसंख्याको चाप कम हुनेछ ।

आन्तरिक पर्यटन प्रवर्धनका लागि आजभन्दा ४५ वर्षअगाडि २०३४ सालमा तारागाउँ विकास समितिको स्थापना भएको थियो । तत्कालीन अवस्थामा नगरकोट, ककनी, बौद्धको अहिलेको ह्यात रिजेन्सी भएको होटल र पोखरामा तारागाउँ विकास समितिले पर्यटकका लागि होटलको व्यवस्था सुरु गरेको थियो । अहिले आएर बागलुङको ढोरपाटन, रोल्पाको से–फोक्सुण्डो, मुगुको राराताल र मुस्ताङको दामोदर कुण्डमा होटल व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको र काठमाडौंको नजिक दामन इन्द्र सरोवरमा आन्तरिक पर्यटन प्रवर्धन गर्न सकिन्छ ।

मुस्ताङमा खम्पा विद्रोह उठेपछि नेपालका हिमाली क्षेत्रका १३ जिल्लामा अहिलेसम्म हेलिकप्टर सेवा सञ्चालन नभएको अवस्था छ । आकस्मिक सेवाका लागि नेपाली नै ती जिल्लामा जानुपर्दा पनि गृह मन्त्रालयको सिफारिस, नागरिक उड्डयन मन्त्रालयको सिफारिस र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस र जिल्लाको सुरक्षा निकायको सिफारिससम्म लिएर जाने अवस्था एकदमै राम्रो होइन । नेपालभित्रका पहाडी जिल्लामा नेपाली नै जानुपर्दाको यो समस्यालाई तुरुन्त समाधान गर्न आवश्यक छ ।

कर्णाली प्रदेशको भेरी गंगा उपत्यकाको नमुना आदिम सहरको गुरुयोजना निर्माण अगाडि बढाउने कुरा नीति तथा कार्यक्रममा आए पनि ढोरपाटन एकीकृत गुरुयोजनाका लागि हामीले सम्माननीय प्रधानमन्त्रीसमक्ष निवेदन गरिसकेका छौं ।

ठूला जलविद्युत आयोजनालाई प्राथमिकता र वैदेशिक लगानी आकर्षित गर्ने नीतिअनुसार नेपालको सबैभन्दा राम्रो शतप्रतिशत उत्पादन दिन सक्ने जलाशययुक्त उत्तरगंगा आयोजना सुरु गर्नुपर्ने आवश्यकता छ ।

सरकारी गैरसरकारी आवश्यक सूचनाहरु कम्तीमा एकपटक पत्रिका र एकपटक अनलाइन न्युमा प्रकाशित गर्ने व्यवस्था गर्नुपर्छ ।

(सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्ना विचार राख्दै सांसद देवीप्रकाश भट्टचन)


क्लिकमान्डु