बालेनप्रति एउटा असहमति: पुमवंगु ज्ञां बिया छु याये त्यनागु !



ओहो ! पासाः छु दु हालखबर, झीगू थाय् बाय्‌या ख्वाः खनेमदेक हिला च्वंगु दु नि ल्हाः । अले झी पासा पिन्स गय्‌ना काया च्वंगुदुले बालेनया दच्छीया ई, छु धया च्वंगु दु ? :- मनंतुना सिवे न यक्व हे बांलाक्क ज्याः याना च्वंगु दु, वय्‌कलँ न्हापा सिबें बाँलाकेगु, भिंकेगु कुतः न याना च्वंगु हे दु । खय्‌तला स्यंगु थासे ज्याय न्ह्यथने भचा ला थाहे थाकु नि मखुला ! अथेला प्यदॅं (४ वर्ष) ला दहेदनी, भलःसा क्यागु थायॅ् ल्यंहे दनि । झीतः/जिमितः अझं भलःसा दु वयॅ्कलं यें (काठमाडौंलाई) यात नां तयॅ् बह जुइक देकि हे तिनी । का जि ला मरुसतः जुया देशय्‌मरू झ्या: तक वने त्यना, छ नं वनेगु ख लाः ? ए अष्टनाँराँ थाय्‌ला, का का नु जिनं नापं वनेका नु ।

(ओहो! साथी के छ खबर, हाम्रो ठाउँको मुहार फेरीन्दै छ हैं। के भन्छन् हाम्रा साथीहरु, बालेनको एक बर्षे कार्यकाललाई कसरी हेर्दैछन् ?

आशा गरेको भन्दा धेरै राम्रो, सुधारको प्रयास उनले गर्दैछन्। हुनत जतापनि बिग्रिएको ठाँमा सुरुवात गर्न कठिनै हुन्छ नि होइनत। तर आशा गर्ने ठाउँ धेरै छ ४ बर्ष अझै छ उनीसँग, हामीलाई बिश्वास छ उनले काठमाडौंलाई पक्कै गौरव गर्न योग्य बनाउने छन्।

म त मरुसतल हुँदै देशय् मरू झ्या:सम्म जान लागेको जाने हो तिमी पनि ? ए अष्टनारन को मा ल‌ ल‌ म पनि जान्छु। हिंड।)

साथीहरुसँग यस लेखका लेखकले केही समय अघिमात्र यस्तै संवाद गरेको थियो (यो संवादलाई नेवारीमा तयार गर्न सहयोग गर्ने वालसखा अमन बज्राचार्य र मानिक मान महर्जनलाई यक्व यक्व सुभाय् ) ।

बालेनको एक वर्षको कार्यकाल धेरै हदसम्म प्रगति उन्मुख नै रह्यो भन्ने कुरा यो संवादले देखाउँछ। अर्थतन्त्र र अर्थराजनीति सम्बन्धि लेख्ने भएका कारण बालेनको कार्यकाललाई पनि आर्थिक हिसाबले हेरौं । यसअर्थ उनको कार्यकालको सकारात्मक पक्ष भनेको चालू आबको वैशाख मसान्तसम्म ७ अर्ब ३९ करोड राजस्व संकलन गर्न सक्नु हो ।

देशको राजस्व अवस्था निराशाजनक भएको हालको अवस्थामा आर्थिक हिसाबले यो महानगरको प्रगति नै हो । यसअर्थ कानुन कार्यान्वयनमा बालेनको यो एक वर्ष राम्रो नै रह्यो । तथापी कानून कार्यान्वयन गराउन उनले अझ धेरै कठोर हुनै पर्छ । रुग्ण रूपमा रहेको काठमाडौंको फोहर व्यवस्थापनलाई उनले आफ्‌नो कार्यकाल‌को पहिलो कार्यका रूपमा लिए ।

राजनीति रंगसँगै रङ्गिएको बञ्चरे डाँडामा फोहर व्यवस्थापनको लागि उनको उपस्थितिले त्राण दिने प्रयास गरेको थियो । जुन अझै जारी छ र कार्यकाल भरी जारी नै रहने छ भन्ने अपेक्षा जनहरुको छ ।

सुरुमा उनको यस कदमको बिरोध भएता पनि अन्ततः स्थानीयलाई चित्त बुझाएर, सम्झौता गरेर फोहर व्यवस्थापन गर्न उनी सफल भए । क्षणिक गालीसँग नडगेर उनले परिपक्वता मात्र देखाएनन्, नेताहरुलाई आजको हेरर होइन भोलिको बुझेर काम गर्न सुझाएका छन् ।

फोहर व्यवस्थापनमा उनले पहिलो पटक काठमाडौंका जनतामार्फत देशलाई फोहर बर्गीकरण गरेर व्यवस्थापन गर्न सुझाए । जुन अहिले सुरुवात भएको छ र यसको सकारात्मक प्रभाव सबैतिर परेको छ । यसको साथै पार्किङको समस्या समाधान गर्न उनले कानुनी उपाय रोजे ।

पार्किङ गर्ने भन्दै कर छुट लिएर भुमिगत संरचना घर, महल बनाउने तर नगर्ने साथ नक्साविपरीत संरचना निर्माण गर्नेहरुप्रति उनी निर्मम बने। फलस्वरूप बानेश्वर दरवारमार्ग लगाएतका ठाउँहरुमा केही प्रतिशत मात्र भए पनि पार्किङको लागी ठाउँ (अन्डरग्राउण्ड) खाली भएका छन् ।

भविष्यमा यसले ठूलो आकार लिने छ भन्नेमा काठमाडौँका जनहरू विश्वस्त छन् । त्यस्तै सहरलाई कुरूप बनाएको अब्यवस्थित तारहरुलाई व्यवस्था गर्न सम्बन्धितहरुलाई उनले दवाव दिइरहेका छन् । फलस्वरूप केही क्षेत्रमा धेरै हदसम्म सुधार हुन सुरु भइसकेको छ ।

उनले सरकारी संयन्त्र र त्यसको प्रयोग गरेर गरिएको अतिक्रमण र लुटलाई केही हद सम्म निस्तेज गर्ने प्रयास गरेका छन्। जसको उदाहरण मैतिदेवी मोडको प्रहरी बिट हटाउनु, बर्षौदेखि नतिरिएको फनपार्कको कर उठाउनु, राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएर पार्किडको लागी खुला गराउनु आदी।

टुकुचा मार्फत इतिहासलाई बिउँझाउने प्रयास उनले थालेका छन्। हुनत उनले यसमा अलि बचपना देखाए भन्ने पनि लग्छ। तथापि एक शताब्दी अघिको विषयलाई उन‌ले चुनौती दिने प्रयास गरेका छन् । टुकुचा प्राकृतिक रुपमा बहन पाउनु पर्छ त्यसमा दुईमत छैन । तर टुकुचा खुला गर्दा यसले निम्त्याउने दुर्गन्धको व्यवस्थापन बारेमा सोचेर मै मेयर बालेनले कदम चालेका होलान् । यसलाई अदालतले पनि मान्यता दिएको छ, यो ढल होइन खोला नै हो। तर खोला माथि व्यक्तिगत सम्पति भएको अदालतले उल्लेख गरेको छ। तर अदालतलका यस्ता वाक्यांशले यो विषय निकै जटिल बनेको छ । आशा गरौं उनी यसमा सफल होउन् ।

उनलाई अनुरोध, उनले बुझुन् प्राकृतिक रूपमा पानी गाः हितिबाट वहन हिति प्रविधि र त्यसको श्रोतको संरक्षण हुन आवश्यक हुन्छ । तसर्थ पानीको श्रोतहरुको संरक्षण हुन आवश्यक छ । जमिन मुनि पानीको श्रोत सुरक्षित गराउन छोडिएका खाली ठाउँहरु एक पछि अर्को मास्ने कार्य बन्द गरिनु आवश्यक छ। आज सिठिनख ( हिति परम्परा अन्तर्गत पानीका मुहान, धारा, इनार र अन्य श्रोतहरुको सामुहिक रुपमा सफा गर्ने दिन। जसलाई धार्मिक पक्षसंग जोडेर गुठि गठन गरि मनाइने नखः चाड। )

तिनिख्यो (टुँडिखेल) का धेरै भाग अतिक्रमण भएको अवस्थामा पानी कसरी प्राकृतिक रुपमा आउँछ मेयरसापको ध्यान जाओस्। हिति प्रविधि, प्रणाली, प्रकार र हिती व्यवस्थापनका प्राचिन सिखको अध्ययन गरेर यसलाई पुनजागृत गर्ने प्रयास उनले गरुन् । यसले काठमाडौं उपत्यकाको खानेपानी समस्याको सामाधान केही हदसम्म गर्छ नै। तर त्यो भन्दा महत्वपूर्ण काठमाडौं उपत्यकाको जिवन्त शिल्प मध्यको एक हिति प्रविधिबारे जानकारी विश्वलाई प्रदान गर्न मद्दत गर्छ। फलस्वरूप खुला पर्यटन संग्राहलयको रुपमा यस्ता हिति र यसका अनुपम प्रविधिलाई पर्यटक सामु राख्न सकिन्छ।

उनको एक वर्षको कार्यकालमा केही विवाधित कार्यहरु पनि भए । हुनत यसलाई उनको धेरै ठूलो विवाद गर्नु पर्ने ठानेको दखिदैँन। तथापी टुकुचामा केही हदसम्म उनी चुकेकै हुन् । र्‍यापरको शालिक बनाउने, धरानका मेयरसँग सामाजिक सञ्जालमा विवाद‌मा अल्झिनु उनको चुक नै हो । त्यस्तै सुकुम्बासी बस्तीमा राज्यले उनको साथ नदिनु त्यो राज्यको चुक हो । तथापी उनै वालेनको प्रतिच्छाँयाबाट आएकाहरूको सरकार र पहुँच भएको बेला पनि राज्यको साथ नपाउनु उनको मन्त्री रिझाउन नसक्नु चुक नै हो । सायद यो चुक यसकारण उनीबाट भयो कि उनी आफ्नो कार्यक्षेत्र र कर्तव्य राम्रोसँग बुझेका छन् ।

उनलाई थाह छ के गर्नु पर्छ त्यो भन्दा ठूलो कुरो उनलाई आगामी निर्वाचनको चिन्ता भएको देखिँदैन । सायद यही कारण उनी हालका बागड बिल्लाहरुको हुलमा निकै अलग देखिन्छन् र यो विषयमा तिनलाई सम्झाउन सकिरहेका छैनन् । यसमा घरानका मेयर साम्पाङ पनि उनीसँगै देखिन्छन् ।

मार्केटिङ रुपी शक्तिशाली औजारको प्रयोग गरेर बस्तु तथा सेवाहरु मात्र होइन विचार र भाष्यहरू पनि बिक्री गरिन्छ । कब्जियत युक्त, विचार भावना र भाष्यहरू बजारीकरणको ठूलो उदाहरण हो । तर बालेनको उदय यस्ता मार्केटिङ शैलीका भावनाको उपज पक्कै होइन । अन्त्यमा बालेनप्रति लेखकको एउटा असहमति छ । उनलाई नेवारीमा नै भन्न चाहन्छु, रञ्जनालिपिमा लेख्न नआए पनि देवनागरिकमै लेख्छु । ‘पुमवंगु ज्ञां बिया छु याये त्यनागु, थ्व चाँहि अप्पो जुल का !’

सन्दर्भ काठमाडौं उपत्यका भित्रका विद्यालयहरूमा नेवारी पठनपाठन अनिवार्य गरेको बारे । लेखक आफू पनि नेवारी संवाद गर्न सक्छ केही हदसम्म । हुनत, सानोमा जानेको यो भाषा पछि प्रयोगविहीन भयो । तथापी कोही यही भाषी भेट्दा जानिनजानी यही भाषा प्रयोग गर्न खोज्छ । उसले यो भाषा विद्यालयमा सिकेको होइन ।

भाषासँग लेखकको मान्यता के छ भने भाषा लादेर सिकिँदैन । यदी यस्तो हुन्थो भने लेखकको विद्यालय जीवनमा कक्षा ८ सम्म संस्कृत भाषा अनिर्वाय पढ्नु पर्थ्यो । तर आज उसलाई त्यसको एक शब्दको पनि ज्ञान छैन । बस् संस्कृतलाई अर्थहीन पूजा गर्न जानेको छ र अर्थहिन त्यसमा गर्व गर्न बाहेक केही जानेको छैन ।

लेखकको भनाइ यति हो अपुरो ज्ञानको भार विद्यार्थीहरुमा लादेर के गर्न खोजेको? कि त यसलाई ऐच्छिक बनाइयोस् । तर एउटा सल्लाह ‘भाषा लाद्नुको सट्टा कक्षा ४ देखिका विद्यार्थीहरुलाई नेवारी सभ्यता, कला दर्शन, उपत्यकाको उत्पति, बसाइँसराई, नेवार इतरका अन्य भाषि र वर्गका मानिसको इतिहास तथा यहाँका मौलिकताको पढाइ उनीहरुलाई प्रत्यक्ष रुपमा उक्त ठाउँहरुमा संलग्न गराएर आफैंले अनुभव गरेर सिकाइयोस् ।

हिति सभ्यता, जात्रा, खानाका परिकार गुठी परम्परा, बास्तुकला, नित्य संगित, दर्शन, आदी विषयहरूमा सम्बन्धित क्षेत्रमा पुर्‍याएर अनुभव गर्ने मौका दिएर पठाउने कुरामा सूत्रपात गरोस् । यसपछि भाषा पनि उनीहरुले आफैं सिक्दै जानेछन् । यि माथिका कुराहरुमा न बुझिकन भाषा मात्र सिकेर के अर्थ छ र ? उनीहरुले भाषाको प्रयोग कहाँ गर्ने । प्रयोगहीन कुरा सिकाएर थप एउटा किताबको बोझ किन बढाएको मेयर साप !

राजधानी कुरुप छ !
म यहाँ जन्मे
हुर्कें
शिक्षित भएँ
दिक्षीत भएँ
मेरो राजधानी म के मा गर्व गरु
राजधानी कुरुप छ
मसँग गर्व गर्ने
न त्यो काँठ छ आज
न नेवा: सभ्यता नै छ जन जनमा
न लबेदामा गर्व छ
न मयलपोशमा
न त हाकुपटासी
न त खर्पन
न त आलुव र ग्वामरीमा
धिक्कार छ मेरो काठमाडौं ।

अब‌को चार वर्षपछि बालेनले आफ्नो पाँच बर्षको कार्यकाल पूरा गर्ने छन् । त्यो बेला यो कविताको स्मरण गर्न नपरोस् । काठमाडौं कुरूप छ लेख्न नपरोस् । काठमाडौको आलुव, चटामरी, ग्वामरी, गुलमरी, कुल:छी भ्वे मा दिइने पाऊँचा, पुजिने भिन्दय, गनेदय लुकुमादेय यस्ता धेरै पहिचानहरू छन् विद्यार्थीलाई सिकाउन् ।

अन्त्यमा: सकसिन्त सिथि च: ह्रे भिन्तुना (सबैमा सिथि च: आजको दिनको शुभकामना)


क्लिकमान्डु