घट्न थाल्यो ब्याजदर, वैशाखमा निक्षेप संकलन सुस्त, कर्जा प्रवाह पनि ऋणात्मक



काठमाडौं । उच्च ब्याजदरका कारण बैंकहरुमा कर्जा प्रवाह सुस्त बनेपछि ब्याजदर घट्न थालेको छ । माघ र फागुनमा भारित औसत ब्याजदर १३.०३ प्रतिशतमा स्थिर रहेकोमा चैतमा १२.८४ प्रतिशतमा झरेको हो ।

आधार दर भने पुसमा सबैभन्दा उच्च १०.९१ प्रतिशत रहेकोमा माघदेखि नै घट्न थालेको छ । चार महिनामा आधार दर ०.४८ प्रतिशत विन्दुले घटेको हो । आधार दर चार महिनामा ०.४८ विन्दुले घट्दा बैंकहरुले एक महिनाअघि ब्याजदर ०.१९ प्रतिशत विन्दुले मात्र घटाएका हुन् ।

निक्षेपको औसत ब्याजदर पनि पुसको उच्च विन्दु ८.५१ बाट ०.२५ प्रतिशत विन्दुले घटेर चैतमा ८.२६ प्रतिशतमा झरेको छ ।

अन्तिम तीन महिनाको औसत ब्याजदर १०.४६ प्रतिशत रहेकोमा वैशाखमा १०.२७ प्रतिशतमा झरेको छ ।

चालू आवको १० महिनामा २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा १ खर्ब २३ अर्ब कर्जा प्रवाह भएको छ । चैतमा मात्र ५५ अर्ब निक्षेप संकलन हुँदा २८ अर्ब ७६ करोड कर्जा प्रवाह भएको छ ।

वैशाखमा भने निक्षेप संकलन र कर्जा प्रवाह दुवै सुस्ताएको छ । वैशाखमा १३ अर्ब निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह १० अर्ब ७६ करोडले ऋणात्मक भएको छ ।

वैशाखदेखि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका छन् । त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशतमा झारेका छन् ।


क्लिकमान्डु