प्राधिकरणले ३५ करोड लगानीमा ५१ स्थानमा बनायो चार्जिङ स्टेसन, थप ११ वटा निर्माणाधीन



काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएपछि निजी क्षेत्र तथा सरकारले चार्जिङ स्टेसनमा ठूलो लगानी गरिरहेका छन् । नेपालमा विद्युतीय सवारी साधनमा बढ्दो आकर्षणका बीच चार्जिङ स्टेसन आवश्यकता महसुस भएको हो ।

नेपालले सन् २०२५ सम्ममा निजी विद्युतीय सवारी साधनको व्यापार २५ प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । साथै, सरकारले सन् २०३० सम्ममा विद्युतीय निजी सवारी साधनको व्यापार ९० प्रतिशत र सार्वजनिक सवारी साधनको व्यापार ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित विभिन्न छुटको व्यवस्था गर्दै आएको छ । तर, नीतिगत अस्थिरताका कारण व्यवसायी भने सन्तुष्ट छैनन् ।

निजी क्षेत्रले हालसम्म देशभर ५८ वटा डीसी चार्जर निर्माण गरेका छन् । त्यसपछि एसी चार्जर ३ सयभन्दा बढी र १ हजारभन्दा बढी घरमा चार्जिङ स्टेसन जडान भइसकेको छ । त्यति चार्जिङ स्टेसनले मात्रै पर्याप्त नहुने भएपछि देशभरका अधिकांश विद्युतीय सवारी कम्पनीले चार्जिङ स्टेसनमा जोड दिएका हुन् ।

सरकारले विद्युतीय सवारी साधनमा लचिलो नीति ल्याएसँगै आयात ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष ९ महिनामा नेपालमा करिब २५ सय विद्युतीय गाडी आयात भएको छ । विद्युतीय गाडीको खपत बढाउनका लागि व्यवसायीले ग्राहकलक्षित विभिन्न स्किम पनि ल्याएका छन् ।

व्यवसायीका अनुसार विद्युतीय सवारी साधनको आकर्षण बढाउन र सेवाग्राहीको सहजताका लागि प्रत्येक राजमार्गमा ५० किलोमिटरको दूरीमा चार्जिङ स्टेसन राख्नसके खपत बढ्ने अनुमान गरेका छन् । सोही अनुसार सरकार र निजी क्षेत्रले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने योजना बनाएका छन् ।

नेपाल विद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइसकेको छ भने बाँकी ११ स्थानमा निर्माण कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणले चार्जिङ क्षेत्रमा बृहत लगानी गर्ने योजना बनाएको छ ।

योजनाअनुसार निर्माण गर्नसके चार्जिङ स्टेसनमा समस्या नआउने प्राधिकरणको दाबी छ । हालसम्ममा प्राधिकरणले चार्जिङ स्टेसन निर्माणका लागि ३५ करोड रुपैयाँ खर्चिसकेको छ ।

प्राधिकरणले कहाँ-कहाँ बनायो चार्जिङ स्टेसन ?

प्राधिकरणले देशभरका बसपार्कलगायत अन्य विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाएको छ । प्राधिकरणले कतिपय स्थानमा दुई प्रकारका चार्जरको व्यवस्था गरेको छ भने कतिपय स्थानमा एउटा प्रकारको मात्रै चार्जिङ स्टेसन बनाएको छ । प्राधिकरणले जीबी/टी र सीसीएस-२ प्रकारका चार्जरको व्यवस्था गरेको हो । प्राधिकरणले आवश्कताअनुसार चार्जरको व्यवस्था गरेको जनाएको छ ।

प्राधिकरणले हालसम्म झापाको बिर्तामोड बसपार्क, दमक चार्जिङ स्टेसन केन्द्र, उदयरपुरको बेलका चार्जिङ केन्द्र, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा, सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर, मकवानपुरको हेटौंडा चार्जिङ स्टेसन रातमाटे र चितवनको पारस बसपार्कमा दुबै प्रकारका चार्जर जडान गरेको छ ।

काठमाडौंको साझा सेवा, प्रहरी पेट्रोल पम्प समाखुसी,  बनेपाको साझा सेवा, धादिङको थाक्रे गाउँपालिका, बुटवल बासपार्क, सुर्खेतको नयाँ बसपार्क, कास्कीको कालिका पेट्रोल पम्प, कैलालीको धनगढी नगरपालिका, महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिबास, दाङको लमही बसपार्क र बाँकेको कोहलपुरमा जीबी/टी र सीसीएस-२ प्रकारका चार्जर जडान गरिएको छ ।

त्यसबाहेक सुनसरी, विराटनगर बसपार्क, इनरुवा बसपार्क, चितवनको मुग्लिन पुल, ललितपुरको साझा यातायात, काठमाडौंको नेपाल पुलिस क्लब, नेपाल विद्युत प्राधिकरण, भक्तपुर तालिम केन्द्र,  कास्कीको बेगनासताल,  पर्वतको कुश्मा, सिन्धुलीगढी बसपार्क, खुर्कोट रिफ्रेस सेन्टर र कैलालीको लम्कि  बसपार्कमा एक/एक वटा चार्जर जडान गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २६ स्थानमा २६ वटा जीबी/टी प्रकारका र २५ स्थानमा २५ वटा सीसीएस-२ प्रकारका चार्जिङ जडान गरेको हो।

११ स्थानमा बन्दै

प्राधिकरणले अन्य ८ स्थानमा ११ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणका अनुसार ओखलढुंगाको घुर्मी, सिन्धुलीको मरिन र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको वालिङ चार्जिङ सेन्टर र रुपन्देहीको सैनामैना रिफ्रेस सेन्टरमा १-१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ ।

त्यसैगरी, कञ्चनपुरको महेन्द्रनगर बसपार्क र नुवाकोटको हावा घर र बसपार्क गरी दुई-दुई वटा चार्जिङ स्टेसन निर्माण भइरहेको छ । प्राधिकरणले आठ स्थानमा जीबी/टी प्रकारका ६ वटा र सीसीएस-२ प्रकारका ५ वटा चार्जिङ स्टेसनको निर्माण कार्यलाई तीव्रता दिएको हो ।


अरिष्मा मोक्तान