बैंक ग्यारेन्टी दाबी नगरीदिन उद्योगीसमक्ष बैंकरको हारगुहार
काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनका कारण उधारो लिएका व्यवसायी सम्पर्कविहीन हुँदा उद्योगी÷व्यवसायीले बैंक ग्यारेन्टी दाबी गरेर रकम उठाउन थालेपछि बैंकहरु आत्तिएका छन् । बैंक ग्यारेन्टीमार्फत् जाने रकम निकै ठूलो भएपछि बैंकहरू उद्योगी÷व्यवसायीसमक्ष पुगेर ग्यारेन्टी दाबी नगरिदिन हारगुहार गर्न थालेका हुन्।
व्यापारीले उधारो तिर्न छाडेपछि बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्ने क्रम ह्वात्तै बढेको हो । उद्योगीले धमाधम बैंक ग्यारेन्टी दाबी गर्दै रकम लिन थालेपछि बैंकिङ प्रणालीमा समस्या सिर्जना हुन थालेको छ। यसले बैंकहरुको प्रोभिजन पनि बढेको छ।
‘अहिले हरेक दिन १० देखि २० करोडको बैंक ग्यारेन्टी दाबी भइरहेको छ, यस्तो दाबी गरेको एक साताभित्र बैंकले सम्बन्धित पार्टीलाई भुक्तानी दिइसक्नुपर्ने व्यवस्था छ,’ एक बैंकरले भने, ‘ सम्बन्धित पार्टीले उक्त रकम ३ महिनाभित्र नतिरे शतप्रतिशत प्रोभिजन गर्नुपर्छ । जसले हामीलाई थप समस्या सिर्जना गरेको छ ।’
व्यवसायीले बैंक ग्यारेन्टी बुझाएर उद्योगसँग सामान उधारोमा लाँदै आएका थिए । अर्थतन्त्रमा देखिएको संकुचनका कारण बिक्री घटेको र बजारमा रहेको उधारो नउठेपछि यस्ता व्यवसायीहरु सम्पर्कबिहीन हुने क्रम बढ्दो छ ।
धेरैजसो व्यवसायीले बैंक ग्यारेन्टी लिएरमात्रै उधारो दिएका हुन्छन्। थोरैमात्रै व्यक्तिगत सम्बन्धका आधारमा उधारो जान्छ। अहिले उधारो दिने उद्योगीले बैंकसँग बैंक ग्यारेन्टी दाबी गरेर आफ्नो रकम उठाइरहेका छन् ।
‘यो आर्थिक वर्षमात्रै मैले ६० करोड रुपैयाँको हाराहारीमा बैंक ग्यारेन्टी दाबी गरेर उधारो असूल गरेँ,’ एक उद्योगीले क्लिकमान्डुसँग भने, ‘पहिला पहिला ऋण लिइदिनु पर्यो भन्दै मेरो कार्यालयमा धाउने बैंकरहरु अहिले बैंक ग्यारेन्टी दाबी नगरिदिनुपर्यो भन्दै धाइरहेका छन् ।’
त्यस्तै, अर्का एक व्यवसायीले पनि आफूले २५ करोड रुपैयाँ बराबर बैंक ग्यारेन्टी दाबी गरेर असूल गरेको बताए । अहिले बैंकहरु थप दाबी नगर्न आग्रह गर्दै आफूकहाँ धाइरहेको उनले सुनाए ।
‘०७७/७८ मा ऋण लिइदिनु पर्यो भन्दै आउने बैंकरहरु ०७८ को अन्त्यदेखि ०७९ को सुरुवाती महिनामा अचाक्ली ब्याजदर बढाएर हाम्रो फोन समेत उठाउँदैन थिए,’ ती व्यवसायीले भने, ‘अहिले बैंक ग्यारेन्टी दाबी नगरिदिन हारगुहार गर्दै धाइरहेका छन्।
विगत वर्षहरुमा केही रकम उधारो बाँकी भए पनि बैंक ग्यारेन्टी नवीकरणका लागि स्वीकृति दिने गरेको राष्ट्रिय वितरक र विभिन्न कम्पनीले अहिले भने बैंक ग्यारेन्टी दाबी गर्दै उधारो असुल गरेका हुन् । उधारोमा सामान किनेका व्यवसायी सम्पर्कमा नै नआएपछि बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्नुपरेको उद्योगीहरु बताउँछन् ।
‘पहिला हामीलाई पनि बैंकले सहजै कर्जा दिन्थ्यो, जसले गर्दा ३०/४० करोड रुपैयाँको उधारो ठूलो हुँदैन थियो,’ ती व्यवसायीले भने, ‘अहिले ब्याजदर बढेको छ, बैंकले थप कर्जा दिन मानेको छैन । उधारो कारोबारका कारण व्यवसायीको गोदाममा सामान पनि छैन । पैसा पनि दिन मान्नु हुन्न । जसले गर्दा बैंक ग्यारेन्टीमार्फत् पैसा असुल गर्नु हाम्रो बाध्यता हो ।’
खासगरी, पुसयता बैंक ग्यारेन्टी दाबी गर्ने क्रम ह्वात्तै बढेको छ । बैंक ग्यारेन्टीको भुक्तानी माग्ने क्रम बढेपछि बैंकहरुले ५ महिनादेखि नयाँ बैंक ग्यारेन्टी जारी गरेका छैनन् ।
के हो बैंक ग्यारेन्टी ?
बैंक ग्यारेन्टी भनेको हिताधिकारी अर्थात् कुनै पनि सामान विक्रेतालाई भुक्तानीको सुनिश्चितता गराउने गरी बैंकले जारी गरेको लिखत हो । सामान खरिदकर्ताले निश्चित अवधिमा कुनै रकम भुक्तानी नगरेमा बैंकले सामान विक्रेतालाई भुक्तानी गर्छ भन्ने सुनिश्चित बैंक ग्यारेन्टीको लिखतबाट गरेको हुन्छ ।
बैंकले विक्रेतालाई रकम भुक्तानीको ग्यारेन्टी अर्थात् बैंक ग्यारेन्टी जारी गर्न बैंकले ग्यारेन्टी जारी गर्न माग गर्ने पक्ष वा सामान खरिदकर्ताबाट निश्चित कमिसन लिएको हुन्छ । बैंकले १ महिना, २ महिनादेखि १ वर्षसम्मका लागि बैंक ग्यारेन्टी जारी गर्ने गर्छ । विक्रेता कम्पनीले नियमित भुक्तानी प्राप्त भएको जानकारी दिएका बैंकले ग्यारेन्टी नवीकरणसमेत गर्ने गर्छ।
बैंक ग्यारेन्टी दिइएको पक्षले रकम भुक्तानी गर्न माग गर्दा बैंकले उक्त रकम भुक्तानी गरेपछि त्यस्तो पैसालाई बैंक ग्यारेन्टी दिने पक्षको नाममा कर्जा देखाउने गर्छ । त्यसरी दिइने कर्जालाई फोर्स ऋण भनिने भएकाले कर्जाको ब्याजदर महँगो हुने गर्छ । नियमित साँवा ब्याजसमेत नतिरेका ऋणीलाई फोर्स लोन दिँदै बैंक ग्यारेन्टीको भुक्तानी गर्नुपरेको एक बैंकर बताउँछन् ।
बैंकले बैंक ग्यारेन्टी जारी गर्दा पर्याप्त धितो वा अन्य सम्पत्ति राखेको छ भने बैंक ग्यारेन्टीबापत भुक्तानी गरिएको रकम असुल गर्न सहज हुन्छ । तर, केही रकम कमिसन आम्दानीका लागि सहजै बैंक ग्यारेन्टी जारी गर्ने गरेका बैंकलाई भने बढ्दो बैंक ग्यारेन्टी दाबी भुक्तानीले समस्या पर्ने देखिन्छ ।
विगतमा उधारोमा किनेको सामान बिक्री गर्दा आएको पैसा घरजग्गा वा उपभोगमा खर्च भइसकेकाले पनि साना व्यापारीले पैसा चुक्ता गर्न सकेको छैनन् ।