गाँजामा उदार बनेपछि यसरी फेरियो थाइल्यान्ड, जडिबुटीदेखि भोजनसम्म प्रयोग



काठमाडौं । थाइल्यान्डको राजधानी बैंककको सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पर्यटकको घुइँचो लाग्ने सडक हो, सुखुमवित रोड । झिलिमिली बत्तीले झकिझकाउ यो गुलजार ठाउँले एउटा अनौठो दुनियाँको नमुना प्रस्तुत गर्छ ।

गाँजाको उपलब्धतामा अचानक भएको वृद्धिले यहाँका व्यापारीमा खुसी ल्याएको छ । किनकि, गत वर्ष जुनमा थाइल्यान्डले गाँजा कारोबारलाई कानुनी बनाउने निर्णय गरेको थियो ।

बैंककका विभिन्न ठाउँमा अहिले गाँजाको कारोबार गर्ने थुप्रै पसल खुलेका छन् । ४० भन्दा धेरै ‘औषधी’ पसल एकै ठाउँमा छन् । तर, यी औषधी पसलमा गाँजाको फूल र धुम्रपानसँग जोडिएका अन्य सामग्री बिक्री हुन्छन् । बैंककस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीको कार्यालयबाट २ किलोमिटर टाढा जाने हो भने यो दृश्य देख्न सकिन्छ ।

यसको ठीक सामुन्ने निकै चर्चित खाओ सैन रोड छ, जहाँ गाँजाकै ‘थिम’मा खुलेको सपिङ मल ‘प्लान्टोपिया’ छ ।

यो मल र अन्य पसल ग्राहकले सेवन गरेको धुम्रपान तथा गाँजाको धुँवाले छोपिन्छन् । धुँवापछाडि धुमिल रुपमा यी पसल देखिन्छन् । यो ठाउँ थाइल्यान्ड पुग्ने पर्यटकको सबैभन्दा प्रियमध्येको एक हो ।

थाइल्यान्डमा गाँजाको सेवन र कारोबारलाई बैध बनाएसँगै अहिले यसले त्यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्न थालेको छ । पर्यटकहरु मुख्यगरी यही कारणलाई लिएर बैंकक पुग्न थालेका छन् । थाइल्यान्डमा ‘विड’ नामक वेबसाइटले देशभरमा वैध रुपमा गाँजा र योसँग सम्बन्धित सामग्री बिक्री गर्ने ४ हजार पसललाई सूचीकृत गरेको छ ।

यो त्यही थाइल्यान्ड हो, जहाँ एक वर्षअघि जुन महिनासम्म गाँजाको बिक्री गरेमा ५ वर्षसम्म सजाय र खेती गरेमा १५ वर्षसम्म सजाय हुने कानुन थियो । सँगै अन्य किसिमका लागु औषधका सामग्रीको बिक्री गरेको वा उत्पादन गरेमा मृत्यृदण्डसम्म सजाय हुन्थ्यो ।

तर, एक वर्षमा थाइल्यान्डको अवस्थामा पुरै परिवर्तन आएको छ । तीव्र रुपमा भएको यो परिवर्तनले पर्यटकमाझ थाइल्यान्डलाई फरक किसिमले चिनाउने र थप पर्यटक भित्र्याउने देखिएको छ ।

थाइल्यान्डमा गाँजाको कारोबारमा सल्लाह दिने कम्पनी एलिवेटेडका संस्थापक तथा नयाँ कानुनलाई पारित गर्नका लागि संघर्ष गरेको संसदीय समितिका सदस्य रहेका किट्ट चोकपा भन्छिन्, ‘यो निकै गन्जागोल छ । तर, यो थाइल्यान्ड हो । र, गाँजाको कारोबारमा उदारीकरणको बिना मलाई आजको स्थिति हुन्थ्यो भन्ने लाग्दैन ।’

तर, चोपकाजस्ता अभियन्ताले कल्पना गरेको गाँजाको विषयमा उदारीकरण यो किसिमको भने थिएन । ‘के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयलाई स्पष्ट बनाउने कानुन चाहिन्छ हामीलाई,’ उनी भन्छिन्, ‘अहिले यसले निकै अन्योल सिर्जना गरेको छ । धेरै मानिसलाई आफ्नो सीमा कति हो भन्ने पनि थाहा छैन ।’

गाँजामा राजधानी

थाइल्यान्डमा गाँजाको विषयमा उदार नीति अपनाइए पनि यसमा केही नियम भने छन् । तर, ती नियम राम्रोसँग लागु गरिएको छैन ।

सबै किसिमका औषधी पसलमा जाँगा बेच्ने अनुमति पत्र छैन । पसलहरुलाई गाँजाको प्रयोग गर्ने ग्राहकको व्यक्तिगत विवरण लिन र दर्ता गर्न भनिएको छ । प्रशोधन नगरिएको गाँजाको फूलबाहेक अन्य कुनै पनि किसिमका उत्पादनमा टीएचसी (गाँजामा पाइने नशालु वस्तु)को मात्रा ०.२ प्रतिशतभन्दा धेरै हुन नहुने भनिएको छ ।

टीएचसी गाँजामा पाइने साइकोट्रोपिक रसायन हो । थाइल्यान्डमा यस्ता उत्पादनको अनलाइनबाट बिक्री गर्न प्रतिबन्ध लगाइएको छ ।

तर, यसका बीच पनि वितरकहरुले धेरै मात्रामा टीएचसी भएको गाँजाको अनलाइनबाट बिक्री गरिरहेका छन् । यस्ता उत्पादनमा गाँजाको मिश्रण रहेको ब्राउनी बिस्किट र चकलेट पनि सामेल छ । यस्ता वस्तुको डेलिभरी अर्डर आएको एक घण्टाभित्रमा नै गरिन्छ ।

नियमअनुसार २० वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिलाई गाँजाको बिक्री गर्न निषेध छ । तर, मोटरसाइकलमा डेलिभरी हुने यस्ता वस्तु कसले प्रयोग गरिरहेको छ वा कुन वस्तु डेलिभर भइरहेको छ भन्ने थाहा पाउने पाटो पनि छैन ।

कयौं रेस्टुरेन्टमा भाङ र गाँजाबाट बनेका खाना पनि बिक्री गरिएको छ । यस्ता रेस्टुरेन्टमा गाँजाको चिया र गाँजाको आइसक्रिम पनि उपलब्ध हुन्छ । किराना पसलका व्यापारीले पनि पानीमा गाँजा र भाङ मिसाएर बिक्री गरिरहेका छन् ।

थाइल्यान्ड प्रहरी आफैं पनि कुन कुरा कानुनी हो र कुन कुरा गैरकानुनी हो भन्ने विषयमा अन्योल भएको स्वीकार्छ । हालसम्म प्रहरीले नै पनि गाँजाको विषयमा निकै कम नियम लागू गराउन सकेको छ ।

भाङ र गाँजाको विषयमा देखाइएको उदारता र कानुनमा परिवर्तन थाइल्यान्डका लागि एउटा राजनीतिक संयोग पनि हो ।

थाइल्यान्डको सबैभन्दा ठूलो पार्टीका प्रमुख अनुतिन चरणविरुकुलले सन् २०१९ को चुनावी घोषणा पत्रमै भाङ र गाँजालाई कानुनी मान्यता दिने उल्लेख गरेका थिए । यो घोषणाले उनलाई चुनाव जित्नमा निकै मद्दत गरेको थियो ।

धेरै मानिसले भाङ र गाँजाको खेतीले गरिब किसानलाई लाभ हुने र वैकल्पिक नगदे बालीका रुपमा विकास हुने सोचेका थिए ।

थाइल्यान्डमा नयाँ सरकारका स्वास्थ्यमन्त्री बनेपछि चरणविरकुलले चुनावी प्रतिबद्धता पूरा गर्न प्रतिबन्धित नशालु पदार्थ (भाङ तथा गाँजालगायत)लाई प्रतिबन्धितको सूचीबाट हटाउने विषयलाई प्राथमिकतामा राखेका थिए ।

यता गाँजा र भाङको उत्पादनको नयाँ व्यवसायलाई नियन्त्रित गर्न नयाँ नियम तयार हुँदै थियो, उता जाँगा र भाङको ‘डिक्रिमिनलाइज (वैध बनाउने)’ गरिसकिएको थियो । कानुन बनिनसक्दै दलीय कलहमा फस्दा यसले समयमा स्वरुप लिन पाएन ।

मे २०२३ मा अर्को आमचुनाव भए पनि यो वर्षको अन्त्यसम्ममा संसदबाट कानुन पारित हुने निकै कम सम्भावना छ ।

विपक्षी पार्टीहरुले पहिल्यैबाट अनियन्त्रित गाँजाको खतराको विषयमा कुरा उठाइरहेका छन् । साथै आफूहरु सत्तामा पुगेपछि यसलाई पुनः गैरकानुनी घोषणा गर्ने चेतावनी पनि दिइरहेका छन् ।

पयर्टन आकर्षित, भविष्य अनिश्चित

थाइल्यान्ड पहिल्यैबाट पर्यटकमाझमा चर्चित ठाउँ हो । गाँजालाई वैध बनाएपछि थप चर्चित हुँदै गएको छ । यसले थाइल्यान्डमा नयाँ किसिमको पर्यटन व्यवसायलाई विकास गर्ने सम्भावना देखाएको छ ।

तर, यसको नियन्त्रण र आवश्यक कानुन निर्माण भने आवश्यक देखिन्छ । नभए अनियन्त्रित रुपमा विकास हुँदै गएमा थाइल्यान्डमा यो नयाँ किसिमको व्यवसायको भविष्य अनिश्चित देखिन्छ ।

गत वर्ष विश्वविद्यालय तहमा अध्ययनरत २१ वर्षीया छात्रा तुक्ता गाँजा व्यवसायमा प्रवेश गरेकी थिइन् । बैंकककै क्लोंग टोई जिल्लामा हर्ब क्लब नामको एक डिस्पेन्सरी र कफी सप सञ्चालनमा ल्याउन उनले १० लाख भाट (३० हजार अमेरिकी डलर) लगानी गरेकी थिइन् ।

उनले भाङको फूलका विभिन्न १६ किसिमका वस्तु बेच्ने गरेकी थिइन् । यी वस्तुको मूल्य १० अमेरिकी डलरदेखि ८० अमेरिकी डलरबराबर छ । तर, उनी अब फेरि यी वस्तुलाई गैरकानुनी बनाइने हो कि भन्ने कुराले चिन्तामा छिन् ।

अभियन्ता किट्टी चोपका भन्छिन्, ‘गाँजाको धेरै उपलब्धता भएकाले मूल्य पनि घटिरहेको छ । यहाँ धेरै मात्रामा अवैध रुपमा आयात हुन्छ । हामीले विदेशी नस्लका गाँजाखेती गरिरहेका छौं । यिनीहरुका लागि एयर कन्डिसन र घामको आवश्यकता हुन्छ ।’

उनी थाइल्यान्डकै हावापानीमा हुर्कने किसिमको गाँजा तथा भाङको नस्लमा ध्यान दिएर लागत कम गर्नुपर्ने आवश्यकता रहेको बताउँछिन् । आफूहरुलाई आफ्नो पुरानो संस्कृति र विरासततर्फ फर्किएर जान आवश्यक भएको तथा चोपका थाइल्यान्ड र गाँजाको सम्बन्ध एक-अर्कासँग जोडिएको उनको भनाइ छ ।

थाइल्यान्डमा गाँजाः जडिबुटीदेखि भोजनसम्म

थाइल्यान्डका कैयौं नागरिकहरुकाअनुसार देशमा पहिले ठूलो मात्रामा गाँजाको खेती र उपयोग हुने गरेको थियो ।

तर, आफूहरु अहिले भने यस्तो देशमा हुर्किएको बताउँछन्, जहाँ सबै किसिमका नशालु पदार्थलाई समाजका लागि खतरा र नराम्रो पाटोको रुपमा हेरिन्थ्यो । गाँजाको कारोबार नाटकीय रुपमा खुला हुनुले अचम्मित बनाएको उनीहरु बताउँछन् ।

आधिकारिक रुपमा हेर्दा लागु औषधलाई लिएर थाइल्यान्डमा निकै कडाइ गरिँदै आएको छ । १९७० को दशकको अन्त्यतिर थाइल्यान्डका पहाडी क्षेत्रका जनजातिले व्यापक गाँजाखेती गर्ने गरेका थिए । यसलाई गोल्डेन ट्र्यांगलको नामले पनि चिनिन्थ्यो । यो ठाउँ संसारभरमै उपलब्ध हुने अफिमको सबैभन्दा ठूलो स्रोतको रुपमा थियो ।

थाइल्यान्डमा गाँजालाई जडिबुटी र खानामा प्रयोग गरिने एक वस्तुको रुपमा सर्वसाधारणले उपयोग गर्दै आएका थिए । १९६० को दशकमा जब अमेरिकी सैनिकहरु ‘आराम र मनोरञ्जन’ नपाएका कारण भियतनाम युद्धको क्रममा कमजोर भएका थिए, तब उनीहरुलाई ‘थाई स्टिक’ प्राप्त भएको थियो ।

थाई स्टिक बाँसको छडी र पत्ताहरुको प्रयोग गरी त्यसभित्र गाँजा भरेर बनाइएको सिगार जस्तै हुन्थ्यो । अमेरिकी सैनिकले त्यसलाई प्रयोग गरेका थिए । अमेरिकी सैनिकले थाइल्यान्डको गाँजालाई धेरै मात्रामा अमेरिका पठाउन थालेका थिए । गोल्डेन ट्र्यांगलबाट अमेरिकामा थुप्रै किसिमका नशालु पदार्थ पठाइएको थियो ।

पछि सैनिकहरुमा परेको भियतनाम युद्धको असर कम भयो । अमेरिकाले त्यसबेला थाइल्यान्डमाथि उनीहरुले उत्पादन गर्ने गरेको लागु औषध र खेती गर्ने गरेको गाँजामाथि रोक लगाउन दबाब दिन थालेको थियो ।

सन् १९७९ मा थाइल्यान्डमा एउटा ‘लागु औषधसम्बन्धी कानुन’ ल्याइयो, जसमा मृत्युदण्डसम्मको सजाय उल्लेख गरिएको थियो । साथै, कुनै पनि किसिमका लागु औषधको प्रयोग गर्ने वा बिक्री गर्ने गरेको पाइए कडाभन्दा कडा सजाय हुने कानुन थाइल्यान्डले बनाएको थियो ।

टोम क्रुसोपोन अर्थात् ‘मिस्टर विड’

थाइल्यान्डका उद्यमी टोम क्रुसोपोनलाई अहिले धेरैले ‘मिस्टर विड’को नामले चिन्छन् । गाँजासम्बन्धी उदार नीति लिइएसँगै उनको यो परिचय बनेको हो । उनी गाँजा थाइल्यान्डसँग पहिल्यैबाट जोडिएको वस्तु भएको र अर्थतन्त्रमा पनि यसले ठूलो प्रभाव पार्न सक्ने बताउँदै आएका छन् । यसलाई वैधता दिइँदा कुनै पनि नोक्सान नभएको तर्क उनको छ ।

हाल उनले बैंककमा पसल सञ्चालन गरिरहेका छन् । पसलमा स्थानीय किसानले उत्पादन गरेका फरक-फरक किसिमका गाँजा सुन्दर बट्टामा सजाएर राखिएको हुन्छ । पसलमा गाँजाको पत्ता छापिएका टिसर्टदेखि भित्री वस्त्र र चप्पल पनि पाइन्छ ।

क्रुसोपोनजस्तै थुप्रै अन्य व्यापारी कुनै पनि किसिमको नोक्सान नभएको मान्छन् । बरु यसले नयाँ व्यवसाय र नयाँ उद्योगका लागि अवसर सिर्जना गरिदिएको उनीहरुको बुझाइ छ ।

यति हुँदाहुँदै पनि फेरि गाँजालाई अवैध करार गरेर प्रतिबन्ध लगाउन सक्ने आशंका भने उनीहरुमा छ । उनीहरु राजनीतिक दलदेखि अभियन्ताहरु माझबाट यसलाई चिकित्सा क्षेत्रमा मात्रै सीमित नगरेर व्यापारको रुपमा अघि लैजानुपर्ने कुरा गरिरहेका छन् ।

अहिले थाइल्यान्डमा गाँजाको उद्योग कुन रुपमा फस्टाइरहेको छ भन्ने धेरैले कल्पना पनि गर्न नसक्ने बताउँदै उनीहरु सरकार र राजनीतिज्ञहरुले यसलाई आम्दानीको नयाँ स्रोतको रुपमा अघि लैजानुपर्ने तर्क अघि सार्छन् ।

-बिबिसीबाट


क्लिकमान्डु