कोरोनापछि पर्यटक बढ्दा होटल व्यवसायमा उछाल, ९ वटा होटलको आम्दानी साढे २ अर्ब



काठमाडौं । कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दा होटल क्षेत्र फस्टाएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले गर्दा सन् २०२० र सन् २०२१ मा थलिएको पर्यटन क्षेत्र कोभिडपछि फस्टाउँदै गएको छ ।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर, विश्वभर कोरोना फैलिएकाले उक्त घोषणा गरेअनुसार पर्यटक आगमन हुन सकेन । त्यस्तै, सन् २०२१ सम्ममा पनि कोरोनाले गर्दा गति लिन नसकेको पर्यटन क्षेत्र २०२२ देखि फस्टाउँदै गएका विभिन्न तथ्याङ्कले देखाउँछ ।

कोभिडअघि नेपालमा वार्षिक ११ लाखको हाराहारीमा पर्यटक भित्रिन्थे । तर, कोभिडले गर्दा पर्यटक आगमनको ह्वात्तै घटेको देखिन्छ । नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटनक भित्रिएका थिए । विश्वमा कोरोना फैलिएको वर्ष सन् २०२० मा २ लाख ३० हजार ८५ जना र सन् २०२१ मा १ लाख ४९ हजार ८३३ जना पर्यटक भित्रिएका थिए । कोभिडले गर्दा पर्यटनकको आगमन घट्दा सबैभन्दा बढी प्रभाव परेको क्षेत्र हो होटल ।

पर्यटक क्षेत्रमा पर्यटकको कमी हुँदा कतिपय व्यवसायबाट पलायन भए भने कतिपय घाटा व्यहोरेर सञ्चालन गरिरहेका थिए । तर, विस्तारै कोभिडको असर घट्दै गएपछि पर्यटकको आगमन सकारात्मक देखिएको छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक भित्रिएका तथ्याङ्क छ । यता पर्यटकको आगमन बढ्दा यस क्षेत्रसँग सम्बन्धित अधिकांश क्षेत्रको व्यापार तंग्रिँदै गएको छ ।

त्यस्तै, नेपालमा पर्यटकको आगमन कम हुँदा सबैभन्दा बढी होटल क्षेत्रमा असर पुगेको थियो । सन् २०२२ यता पर्यटकको आगमन बढेसँगै होटल क्षेत्रको व्यापारमा उछाल भएको छ ।

नेपाल होटल एसोसियसन नेपालका अध्यक्ष भिनायक शाहले कोभिडपछि पर्यटकको आगमन बढ्दा व्यवसाय सुधार हुँदै गएको बताए । उनकाअनुसार कोभिडपछि पर्यटक बढ्दै गएको छ । तर, कोभिडअघिको जस्तो माग भने छैन ।

तर, विस्तारै आगामी सिजनमा भने बुकिङ आइरहेको छ । ‘अहिले औसतमा होटलहरुको २५ प्रतिशत मात्रै अकुपेन्सी छ । सो अकुपेन्सीले होटलको सञ्चालन लागत पनि उठ्दैन,’ उनले भने, ‘भोलिका दिनहरुका लागि भने बुकिङहरु राम्रो छ ।’

त्यस्तै, कोभिडअघि सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कोभिडले गर्दा उक्त लक्ष्यअनुसार काम हुन सकेन । आगामी दिनमा भने सरकारले पर्यटकहरुलाई आकर्षण गर्नका लागि कदम चाल्नुपर्ने उनको भनाइ छ ।

सरकारले पर्यटनकका लागि पूर्वाधारको उचित व्यवस्थापन गर्न सकेमा आगामी दिनमा सुधार हुँदै जाने र अर्थतन्त्रमा टेवा पुग्ने व्यवसायीहरुको भनाइ छ ।

रुपाकोट रिसोर्टको अध्यक्ष एवं होटल व्यवसायी पुष्प अधिकारीले पर्यटकको आगमन बढ्दा व्यवसाय सुधार हुँदै गएको बताए । उनकाअनुसार संख्यात्मक रुपमा पर्यटक बढेपनि खर्च गर्ने क्षमता भने घटेको देखिन्छ । जसले गर्दा व्यापारमा प्रत्यक्ष असर देखिएको छ ।

संकलित तथ्याङ्कअनुसार सन् २०२२ मा पर्यटकको आगमन बढ्दा होटलको व्यापारमा उछाल आएको देखाउँछ । त्यसैगरी, सन् २०२१ र सन् २०२० मा कोभिडले गदा कम व्यापार गरेको होटलहरुको व्यापार बढेको देखिन्छ । नेपालका होटलका व्यवसायीहरुका अनुसार सन् २०२२ मा पर्यटकको आगमन बढ्दा व्यापारमा उछाल आएको छ ।

त्यस्तै, सन् २०२२ मा देशभर रहेका विभिन्न ९ वटा तारे होटलले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । पर्यटक लक्षित निर्माण गरी सञ्चालनमा रहेका ९ वटा होटलले सन् २०२२ मा २ अर्ब ५३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

कुन होटलको आम्दानी कतिले बढ्यो ?

एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडः काठमाडौं नक्सालमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडद्वारा सञ्चालित ‘मेरियट’ होटलले एकै वर्ष १ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ। १.३५ हेक्टर क्षेत्रफलमा फैलिएका पाँच तारे होटलले सन् २०२२ मा १ अर्ब २ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा २९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा ८३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । होटलको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ७२ करोड ४० लाख रुपैयाँ बढी व्यापार गरेको छ ।

होटलमा २१४ वटा कोठा छन् । एमएस ग्रुप अफ कम्पनीजले चेन होटलको रुपमा सञ्चालनमा ल्याएको होटलले सन् २०२२ मा १ अर्ब बढी आम्दानी गर्दा कोठाको लजिङ र सर्भिसको हिस्सा ५२ प्रतिशत रहेको छ । त्यसबाहेक ४१ प्रतिशत मिटिङ, कन्फरेन्स, एक्जिभिसजन र इन्सेन्टिभ्सजस्ता कार्यक्रम हुँदा खाना र पेय पदार्थबाट ४१ प्रतिशत व्यापार गरेको उल्लेख छ ।

कम्पनीले सन् २०२२ मा २४३ प्रतिशतले व्यापार बढेको जनाएको छ । साथै, होटलको कोठाको मूल्य ४९ प्रतिशतले बढ्दा आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । कोभिडपछि पर्यटक बढ्दा व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ । सन् २०२२ मा होटलले ४१ प्रतिशत नाफा कमाएको छ । जबकी सन् २०२१ मा कम्पनीले ११.३७ प्रतिशतले नाफा कमाएको थियो ।

त्यसैगरी, सन् २०२३ को ६ महिनाको अवधिमा अकुपेन्सी रेट ६८ प्रतिशतले बढेको छ । कम्पनीको अकुपेन्सी रेट सन् २०२२ को ६ महिनाको अवधिमा ३६ प्रतिशत रहेकोमा सन् २०२३ मा बढेर ६८ प्रतिशत पुगेको छ । साथै, कम्पनीले सो अवधिमा ७४ करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले पर्यटकहरुका लागि क्यासिनो पनि व्यवस्था गरेको छ । सोही क्यासिनोबाट आम्दानी हुँदा बढी व्यापारमा टेवा पुगेको कम्पनीको भनाइ छ ।

मेरियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता गरी नेपालमा भित्रिएको इन्टरनेशनल ब्रान्ड मरियट होटल अमेरिकी कम्पनी हो ।

कम्पनीले विश्वभर होटलका फ्रेन्चाइज बिक्री गर्दै आएको छ । जसमा कम्पनीले लजिङ, होटल, आवासिय र टायमशेयर प्रोपर्टीको व्यापार गर्दै आएको छ । विश्वका १३९ वटा देशमा ३० वटा ब्रान्डको ८ हजार बढी प्रोपर्टीमा १४ लाख २३ हजार ४४ कोठा छन् ।

ठमेल प्लाजा होटल स्वीट प्रालिः ठमेल प्लाजा होटल स्वीट प्रालिले सन् ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ को जनवरीबाट सञ्चालनमा आएको होटलले सो वर्ष २ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीअनुसार सन् २०२२ मा पर्यटक बढ्दा सन् २०२१ को तलनामा ९ करोड रुपैयाँले बढी आम्दानी गरेको छ ।

रमदा इन्कोर ब्रान्डमा होटल सञ्चालन गर्दै आएको चार तारे होटल काठमाडौंमा रहेको छ । ११७० स्क्वायरमिटर क्षेत्रफलमा फैलिएको होटलमा ९० वटा कोठा छन् । कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये खाना र पेय पदार्थको ६८ प्रतिशत हिस्सा रहेको जनाएको छ । यस्तै, ३० प्रतिशत भने कोठाको अकुपेन्सीबाट भएको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ४१.७८ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा भने घाटा व्यहोरेको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ करोड ३० लाख रुपैयाँको व्यापार भइसकेको कम्पनीले जनाएको छ । कम्पनीअनुसार सन् २०२३ को ९ महिनाको अवधिमा ६८ प्रतिशतले अकुपेन्सी बढेको छ । सन् २०२२ मा २८ प्रतिशतले मात्रै अकुपेन्सी ओगटेको थियो ।

९० कोठाको क्षमता भएको होटलमा आधुनिक एनिमिटिज, एफ एण्ड बी सर्भिस, स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल र अन्य सुविधाहरु उपलब्ध छन् ।

शान्तिरमन पंगेनी अध्यक्ष रहेको कम्पनीको प्रबन्ध निर्देशक महेश फुयाल हुन् । वाइनधाम होटल एसिया प्यासिफिक कम्पनीसँग सम्झौता गरेर ठमेल होटलले फ्रेन्चाइज भित्र्याएको थियो । रमदा इन्कोर ब्रान्ड होटलको विश्वभर ८५० वटा होटल ६० भन्दा बढी देशमा छन् ।

सिटी होटलः काठमाडौंको सोल्टिमोडमा हायात प्लेस ब्रान्डमा होटल सञ्चालन गर्दै आएको सिटी होटलले सन् २०२२ मा १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२१ मो अन्त्यबाट सञ्चालनमा आएको होटलअनुसार सन् २०२२ को पहिलो वर्षमा नै करिब साढे १९ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले आम्दानी गरेकोमध्ये ४० प्रतिशत आम्दानी कोठाको लजिङ र सेवाबाट भएको जनाएको छ । त्यसपछि, खाना र पेय पदार्थलगायत मिट्री, इसेन्टिभ्स, कन्फरेन्स र एक्जिविसनबाट ५६ प्रतिशत आम्दानी गरेको छ । साथै, होटलले सन् २०२२ मा १६.०२ प्रतिशतले नाफा कमाएको छ । आगामी दिनमा भने क्षमता बढ्न गई आम्दानी बढ्ने अपेक्षा गरेको छ ।

त्यसैगरी, होटलले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

काठमाडौं सोल्टिमोडमा सञ्चालनमा रहेको पाँच तारे सिटी होटलले विदेशमा रहेका नेपालीका लागि प्रतिकित्ता सय रुपैयाँको दरले १ लाख ६७ हजार ४ सय कित्ता जारी गरेको छ । गोल्यान ग्रुपद्वारा सञ्चालित उक्त होटल ‘हायात प्लेस’ ब्रान्डमा सञ्चालन गर्दै आएको छ । होटलमा १५३ वटा कोठाको व्यवस्था छ ।

होटलमा ग्राहकका लागि आधुनिक प्रकारका सेवा सुविधा दिँदै आएको छ । होटलमा एनिमिटिस, स्पा, कन्पलरेन्स हल, क्यासिनो र अन्य सेवा सुविधाको उपलब्ध छ ।

आर एण्ड आर होटल एण्ड रिसोर्ट प्रालिः चौधरी ग्रुपको भिभान्ता होटलको व्यापारमा उछाल आएको छ । कोभिडका कारण करिब ५० प्रतिशतले घटेको आम्दानी कोभिडपछि व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ ।

कम्पनीले कोभिडको समय अर्थात् सन् २०२१ मा ९ करोड १२ लाख रुपैयाँको व्यापार गरेको थियो । तर, कोभिडपछि होटल पूर्णसञ्चानमा आउँदा सन् २०२२ मा २२ करोड ९६ लाख रुपैयाँको व्यापार गरेको छ । जसमा कम्पनीले सन् २०२२ मा ६ करोड ८६ लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा १७ करोड ६२ लाख रुपैयाँ र सन् २०१९ मा ८ करोड १४ लाख रुपैयाँको व्यापार गरेको थियो।

चौधरी ग्रुपले सन् २०१४ मा स्थापना गरेको कम्पनीले ललिततपुरको झम्सिखेलमा चार तारे होटल भिभान्त होटल सञ्चालनमा ल्याएको थियो । जसमा होटलले सन् २०१९ को जनवरीदेखि आम्दानी गर्न सुरु गरेको थियो ।

आर एण्ड आर कम्पनीले भारतीय होटल कम्पनी लिमिटेडसँग सम्झौता गरेर ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा ल्याएको हो । आर एण्ड आर कम्पनीमा चौधरी ग्रुपसँगै एनई ग्रुपको पनि स्वामित्व छ । जसमा चौधरी ग्रुपको ७५ प्रतिशत स्वामित्व छ भने २५ प्रतिशत एनई कम्पनीको स्वामित्व छ ।

होटल दियालो प्रालिः दियालो लर्ड प्लाजा ब्रान्डमा वीरगञ्जमा होटल सञ्चालन गर्दै आएको होटल दियालोले सन् २०२२ मा ९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । चार तारे होटलले सन् २०२१ मा ५ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी हेर्दा सन् २०२२ मा कोभिडको समयको तुलनामा बढेको छ । वीरगञ्जका आदर्शनगरमा २.५ हेक्टर क्षेत्रफल जग्गामा फैलिएको होटलमा ६० कोठासहित विभिन्न सुविधाको व्यवस्था छ ।

कम्पनीअनुसार सन् २०२१ मा २०२२ मा कोभिडले आम्दानीमा निकै असर पुगेको थियो । तर, सन् २०२२ मा कोभिडको असर कम भई पर्यटक बढ्दा ८१ प्रतिशतले आम्दानी बढेको जनाएको छ ।

कम्पनीको अकुपेन्सी रेट पनि ३४ प्रतिशतले बढेको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ३३.३२ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १९.८५ प्रतिशतले नाफा कमाएको थियो । होटलमा स्पा, कन्फरेन्स हल, खाना तथा पेय पदार्थको सुविधा र क्यासिनोको व्यवस्था छ । सन् २०१९ देखि सञ्चालनमा रहेको होटलको अध्यक्ष सुनिलकुमार रुङ्गाटा रहेको छ ।

कम्पनीले लर्ड इन होटल एण्ड डेभलपर लिमिटेडसँग सम्झौता गरी नेपालमा फ्रेन्चाइज भित्रिएको थियो । लर्ड लिमिटेडले भारत र नेपाल गरी ४० वटा स्थानमा लर्ड होटल एण्ड रिसोर्ट होटलको नाममा होटल सञ्चालन गर्दै आएको छ ।

माउन्ट ग्लोरी प्रालिः पर्यटकीय नगर पोखराको माउन्ट ग्लोरीको व्यापार कोभिडपछि ह्वातै बढेको छ । होटलले सन् २०२२ मा ५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

पर्यटकीय क्षेत्र पोखरामा ७.४२ हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा ६४ वटा कोठा छ । होटल माउन्ट ग्लोरी फरेस्ट रिसोर्टक एण्ड स्पा नाममा सञ्चालन छ । पर्यटकलाई स्ट्यान्र्ड होटलको सुविधा दिने उदेश्यसहित सञ्चालनमा रहेको कम्पनीले नाफा भने कमाउन सकेको छैन ।

कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा १६४ प्रतिशतले बढेको छ । होटलले सन् २०२२ मा आम्दानी गरेकोमध्ये खाना र पेयपदार्थबाट ५४ प्रतिशत आम्दानी भएको उल्लेख छ । त्यसबाहेक ४६ प्रतिशत कोठाको लजिङ र सर्भिसबाट भएको जनाएको छ । होटलले सन् २०२२ मा ९० लाख घाटा व्यहोरेको छ । सन् २०२१ मा १ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

कम्पनीमा ८ जनाको स्वामित्व छ भने सुनिलभक्त श्रेष्ठ अध्यक्ष रहेको छ ।

छायादेवी कम्प्लेक्स प्रालिः ठमेलमा रहेको छायादेवी कम्प्लेक्सको व्यापार पनि कोभिडपछि बढेको छ । पाँच तारे होटल छाया देवीले सन् २०२२ मा ५९ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १७ करोड ४९ लाख रुपैयाँ र सन् २०२० मा २९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्प्लेक्समा पाँच तारे होटलसँगै अन्य विभिन्न प्रकारका व्यापार व्यवसाय सञ्चालन छन् । कम्प्लेक्सको ७२ प्रतिशत रिटेल र कमर्सियल स्पेस रहेको छ । साथै, २८ प्रतिशत सिनेमा हाल र फुड कोर्ट रहेको छ । गलोबल होटल ब्रान्ड अलफ्ट स्टारवुड एसिया प्यासिफिक होटल एण्ड रिसोर्टसँग सम्झौता गरी भित्र्याएको फ्रेन्चाइज होटलमा १६७ वटा कोठाको व्यवस्था छ । साथै, कम्पनीले निन्द्रा हस्पिटालिटी प्रालिसँग पनि व्यवस्थापनको सम्झौता गरी व्यापार गर्दै आएको छ ।

पृथ्वीबहादुर पाण्डे, निर्मल प्रधान, दिपकमान शेरचन, मिजस मट्टचन, एम÷एस स्याकर ट्रेडिङ, एम÷एस हिमालय इन्फ्रास्ट्रक्चर फण्ड र महेश्वरप्रकाश श्रेष्ठको स्वामित्व रहेको कम्प्लेक्स सन् २०१९ देखि सञ्चालन भएको थियो ।

होटल बराही प्रालिः होटल बराही प्रालिले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ९ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा १४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीअनुसार कोभिडको समयमा थलिएको व्यापार विस्तारै तंग्रिँदै गएको जनाएको छ । सन् २०१४ देखि पोखराको लेकसाइडमा सञ्चालनमा रहेको ४ तारे होटलमा ८० वटा कोठाको व्यवस्था छ । हरिप्रसाद पौडेलको स्वामित्व रहेको होटलमा होटलसँगै सपिङ मलको पनि सुविधा छ ।

कम्पनीको व्यापार सन् २०२१ मा कोघिडले गर्दा ८३ प्रतिशतले आम्दानी घटेको थियो । तर, सन् २०२२ मा पर्यटकको आगमन बढ्दै जाँदा व्यापार रिबाउन्स हुँदै गएको जनाएको छ ।

होटल चितवन प्रालिः भरतपुर चितवनमा होटल चितवन होटलले सन् २०२२ मा १२ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । द फर्न रेसिडेन्सी ब्रान्डमा होटल सञ्चालन गर्दै आएको होटलले सन् २०२१ मा ९ करोड ७७ लाख रुपैयाँ, सन् २०२० मा ७ करोड ४३ लाख रुपैयाँ र सन् २०१९ मा ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

व्यवसायिक मलसँगै ७० वटा रिटेल स्टोर रहेको कम्प्लेक्समा ‘सीजी ल्यान्डमार्क’ ब्रान्डमा मल सञ्चालन गर्दै आएको छ ।

कम्पनीअनुसार कोभिडले गर्दा खस्किउको व्यापार सन् २०२२ देखि भने पर्यटकको आगमन बढेकाले आम्दानीमा सुधार हुँदै गएको जनाएको छ । चौधरी ग्रुपले कन्सेप्ट हस्पिटालिटी प्रालिसँग सम्झौता गरी फ्रोन्चाइज भित्र्याएको थियो । कन्सेप्ट हस्पिटालिटीले १० वटा ब्रान्डमा एक सयभन्दा बढी होटल द फर्न रेसिडेन्सीमा सञ्चालन गर्दै आएको छ । सीजी ग्रुपले भने सीजी हस्पिटालिटीसँग सम्झौता गरी द फर्न रेसिडेन्सी सञ्चालन गर्दै आएको छ ।

निरभाना चौधरीको ५३.३ प्रतिशत, सारिका चौधरीको ६.५ प्रतिशत र एम÷एस अपोलो इन्भेष्टमेन्टको ४०.२ प्रतिशत स्वामित्व रहेको तीन तारे होटलमा ४८ वटा कोठाको व्यवस्था छ ।


अरिष्मा मोक्तान