बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स: ‘मेसिन बैंकर्स’को अनवरत वृद्धि



मेसिन बैंकर्सको वृद्धि बैंकिङ क्षेत्रको सर्वांगीण रुपान्तरणका साथै सेवाग्राही र लगानीकर्ताका लागि महत्वपूर्ण उपलब्धि पनि हो ।

एजेन्सी । तपाई एचडीएफसी बैंकको कल सेन्टमा फोन गर्नुहुन्छ ?

केटी एआई जवाफ दिन्छिन्: नमस्कार, एचडीएफसी बैंकमा स्वागत छ ।

तपाईं: मेरो क्रेडिट कार्डमा कति पैसा बाँकी छ ?

केटी एआई: तपाईं आफ्नो क्रेडिट कार्डमा भएको रकमबारे विस्तृत जानकारी लिन चाहनुहुन्छ ? हो ?

तपाईं: हो ?

तपाईंको परिचय यकिन गरिसकेपछि केटी एआईले क्रेडिट कार्डमा भएको रकमबारे जानकारी दिन्छिन् । यदि बीचै फोन काटियो र पुन: गर्नुभयो भने जे कुरा हुँदै गर्दा फोन काटिएको थियो, त्यसबारे तपाईंलाई जानकारी दिइन्छ । तपाईं शुल्क तिर्नु चाहनुहुन्छ ? केटी एआईबाट तत्कालै तपाईंलाई शुल्क भुक्तानी गर्ने लिंकसहितको म्यासेज मोबाइलमा आउँछ ।

काम सकियो । यसमा कुनै पनि मानवीय हस्तक्षेप भएन ।

बैंकहरुको ग्राहक सेवामा परम्परागत कल सेन्टरबाट अन्तरक्रियात्मक भ्वाइस रेकर्डिङ (आईभीआर) हुँदै एआई-पावर बोट्स (आर्टिफिसियल इन्टेलिजेन्सयुक्त रोबोट) विकसित भएको छ । हरेक पछिल्ला दिनहरु झन्-झन् स्मार्ट भइरहेका छन् ।

केटी एआई (काल्पनिक नाम) प्राकृतिक भाषा कौशलसहितको एआई बोट्सको नयाँ पुस्ताको एउटा हिस्सा हो ।

तिनीहरुलाई ठूलो तथ्य र तथ्यांकसहित ग्राहक अन्तर्क्रियाका लागि तालिम प्रदान गरिएको हुन्छ । तिनीहरु ७ दिन र चौबिसै घण्टा काम गर्न सक्षम हुन्छन् । तपाईं र तपाईंको बैंकिङ आवश्यकता थाहा पाउन तिनीहरुलाई मेसिन लर्निङ्स अलगोरिदमम्स (एमएल अल्गोरिदम्स)सहितको ज्ञान दिइएको हुन्छ । अल्गोरिदम भनेको तथ्यांक गणना गर्न प्रयोग गरिने प्रक्रिया हो ।

‘हिजोआज, कलहरुको सानो हिस्सा पनि असाधारण र जटिल छन् र उनीहरुले सिधै मानव एजेन्टलाई निर्देशित गर्न सक्छन्,’ एचडीएफसी बैंकका चिफ डिजिटल अफिसर अञ्जनी राठौरले भनिन् ।

एउटा बलियो एआई प्रणालीको आधारशीला भनेको तथ्यांक नै हो भन्ने स्पष्ट छ । त्यसकारण बैंकिङ क्षेत्रले अहिले विभिन्न स्रोतबाट एक स्थानमा तथ्यांक संकलित गरी युद्धस्तरमा एकीकृत गर्ने काम गरिरहेका छन् ।

‘बैंकहरु अहिले सही समय र गतिमा तथ्यांक एकीकृत र प्रशोधनका लागि उद्योगहरुको तथ्यांक संकलन र भण्डारण गरिरहेका छन्,’आईसीआईसीआई बैंकका  चिफ टेक्नोलोजी अफिसर (सीटीओ) बालाजी भीभी भन्छन्, ‘यसले हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सका उपकरणको क्षमता बढाउने काम मात्र भइरहेको छैन, तथ्यांक व्यवस्थापनमा सरलीकरण पनि गरेको छ।

बैंकहरुले एआईलाई यसअघि नै व्यक्तिगत हिसाबमा क्रेडिट अन्डरराइट, जोखिम व्यवस्था र विश्लेषणका लागि प्रयोग गर्दै आएका थिए । जब एआईले एउटा बैंकबाट व्यक्तिमार्फत पहिला नै अनुमोदन र स्वीकृत भएको ग्राहकको कर्जा दिन सहयोग गर्छ भने नयाँ ग्राहक अथवा बैंकिङ पहुँचमै नभएको व्यक्तिलाई पनि कर्जा दिन सक्छ ।

यस्तो कसरी हुन्छ ?

‘बैंकले अहिले नै पनि ग्राहक पहिचानका लागि समान आवश्यकताका आधारमा हजारौं ग्राहकका व्यक्तिगत विवरण समूहगत हिसाबले राखेका हुन्छन् ताकि आवश्यक परेका बेला सहजै ग्राहकको बारेमा पूरा जानकारी प्राप्त होस्,’ बालाजीले भने ।

ग्राहकको माग स्वीकृत हुने वा नहुने भन्ने विषय यकिन गर्न थप तथ्यहरु प्रदान गरिन्छन् ।

‘यो निरन्तर अघि बढ्छ,’ एचडीएफसी बैंककी चिफ डिजिटल अफिसर राठौरले भनिन्, ‘एआई उपकरण विकसित हुँदै जाँदा तिनीहरुले तथ्यांकका बाह्य स्रोतहरु पनि साथै समावेश गर्दै लैजान्छन् ।’

कर्जा दिने कि नदिने भन्ने निर्णय लिन पनि एआई प्रयोग हुन्छ, जहाँ बैंकको परम्परागत अन्डरराइटिङ मोडललाई तथ्यांकका विषयमा जानकारी लिन इन्टेलिजेन्ससँग संयोजन गरिन्छ ।

‘यो प्रविधिले जोखिम कम गर्न र बैंकहरुलाई थप कर्जा प्रवाह गर्न सक्षम बनाउन पनि सहयोग गर्छ,’ उज्जीवन स्मल फाइनान्स बैंकका चिफ डिजिटल अफिसर श्रीराम श्रीनिवासनले भने ।

यता, एक जना बैंकरले भने निजी क्षेत्रका बैंकहरुले अहिले पनि ५०–६० प्रतिशत स्वचालित (अटोमेटेड) निर्णय प्रक्रिया अवलम्वन गरिरहेको उल्लेख गरे । बाँकी चाहिँ अझसम्म पनि परम्परागत प्रणालीमै छ । यो जोखिम मुक्त छैन ।

मानौं तपाईं खानेकुरा या किराना सामान किन्दा प्राय:जसो क्रेडिट कार्ड स्विप गरेर पैसा तिर्नुहुन्छ । एक रात, यदि प्रणालीले सूचित गर्छ र भन्छ, रातिको समयमा सुन या अरु केही विगतमा नकिनेको सामान किन्न स्विप गर्नुहुन्छ भने तपाईंलाई तत्कालै भेरिफिकेसन कल आउँछ ।

एआईले बिमा कम्पनीहरुलाई पनि सहयोग गर्छ । एआई उपकरणहरु ग्राहकले अपलोड गरेका कारका तस्बिरहरु, उदाहरणका लागि, दाबी भुक्तानी लिन पहिलो चरणको मूल्यांकनमा प्रयोग हुन्छन् ।

हामी धेरै बिमा कम्पनीहरुमा काम गरिरहेका छौं, र एआईलाई उहाँहरुले हार्दिकतापूर्वक ग्रहण गरिरहनुभएको छ,’ आईबीएम टेक्नोलोजीका सीटीओ तथा आईबीएम इन्डिया एन्ड साउथ एसियाकी टेक्निकल सेल्स लिडर गीता गुर्नानीले भनिन्, ‘एआई प्रविधिबाट क्षतिपूर्ति दाबी गर्दा ४०–७० प्रतिशतसम्म सही पाइएको छ ।’

एआईले रोजगारी प्रभावित हुन्छ ?

मानिसको सहयोगमा भइरहेका केही काम एआईले प्रतिस्थापन गर्न सक्ने गुर्नानी बताउँछिन् ।

एचडीएफसी बैंककी राठौर थप्छिन्, ‘भविष्यमा अदक्षबाट हुने काम, दोहोरिरहने काम र सामान्य कामहरु कम्प्युटर, प्रणाली र प्रविधिमार्फत नै सम्पन्न हुनेछन्, मानिसहरु चाहिँ ठूला काममा सहभागी हुनुपर्नेछ ।’

बैंकहरुले पहिला नै तथ्यांक इन्जिनियरहरू, तथ्यांक वैज्ञानिकहरु, यूएक्स डिजाइनर्सहरुलगायतका श्रमशक्ति भर्ती गरेका छन्, जतिबेला एआईको चर्चा नै थिएन । ‘जनशक्ति भर्ती समानुपातिक रुपले नहुन सक्छ तर कुनै पनि प्रविधिले मानव श्रमशक्तिलाई विस्थापित गर्न सक्दैन,’ निजी बैंकका प्रविधि प्रमुख भन्छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स उपकरणहरुका पनि निश्चित सीमा हुन्छन् । तिनीहरु ब्ल्याक बक्स जस्ता हुन्छन् । मेसिनले कसरी निर्णय गर्छ भन्ने कसैले भन्न सक्दैन ।

‘एआई प्रविधिमा सत्यता र आत्मविश्वासका लागि परिणाममा एकरुपता चाहिन्छ, यसले एआई उपकरणको विश्वसनीयता र शुद्धता सुनिश्चित गर्छ,’ बालाजी भन्छन् । एआई मोडलको अडिट गर्नुपर्ने आवश्यकता पनि हुनेछ ।

‘हामीले एआईले व्याख्या गर्न सक्ने केही प्रोडक्टहरु सार्वजनिक गरेका छौं । यसले आर्टिफिसियल इन्टेलिजेन्स गभर्नेन्सको सबै क्षेत्र कभर गर्छ, यसको अर्थ जुनसुकै मोडल सिर्जना गरिन्छन्, कुनै पनि समयमा तिनको दृढता, निष्पक्षता र व्याख्याका लागि लेखापरीक्षण गर्नुपर्ने र छानबिन गर्नुपर्ने हुनसक्छन्,’ गुर्नानीले भनिन् ।

बैंकिङ क्षेत्रमा एआईलाई लैजान अझै हतार गर्ने बेला भएको छैन किनकि एआई प्रविधि कारोबारका लागि अझै पनि विश्वसनीय भइसकेको छैन ।

साथै, बैंकिङ उपकरण अहिले च्याटजीपीटी बराबर छन्, जसले इन्टरनेटमा उपलब्ध सबै कुरा सिकाउँछन् र सेवाग्राहीको सहजताका लागि बैंकलाई सहयोग गर्न सक्छन् ।

‘तपाईंको बारेमा हामीसँग जति धेरै तथ्यांक छन्, बैंकका रुपमा हामी उति नै घनिष्ठ हुनेछौं,’ राठौरले भनिन् ।

(बिजनेश टुडेबाट अनुवाद गरिएको)


क्लिकमान्डु