बढ्यो घरजग्गा क्षेत्रमा लगानी, चैतमा सबैभन्दा बढी कर्जा प्रवाह



काठमाडौं । घरजग्गामा लगानी बढ्न थालेको छ । आर्थिक संकट तथा सरकारले जग्गा कित्ताकाटमा गरेको निर्णयले गर्दा घरजग्गा क्षेत्रमा लगानी ह्वात्तै घटेको थियो । तर, पछिल्ला दिनहरुमा घरजग्गा क्षेत्रमा लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

आर्थिक संकटले गर्दा अधिकांश क्षेत्रमा उच्च प्रभाव परेको छ । बजारमा माग घटेको छ भने व्यापार पनि ह्वात्तै घटेको छ । तर, घरजग्गा क्षेत्रमा भने विस्तारै लगानी बढ्न थालेको हो ।

घरजग्गा क्षेत्रमा लगानी बढेसँगै कारोबार पनि बढेको छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागअनुसार चैतमा ४९ हजारभन्दा बढी घरजग्गा किनबेच भएको थियो । उक्त कारोबार संख्या चालू आर्थिक वर्षको हालसम्मकै उच्च हो ।

सरकारले गत जेठमा भू‑उपयोग नियमावली जारी गरेपछि कारोबार निरन्तर ओरालो लागेको थियो । साथै, कर्जा प्रवाह पनि घटेको थियो । तर, पुसयता कर्जा प्रवाह बढ्न थालेसँगै कारोबारमा सुधार आएको देखिन्छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा तथा रियल इस्टेट क्षेत्रमा लगानी बढाएको देखाउँछ ।

चालू आर्थिक वर्षको साउनमा १६ अर्ब ७९ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । साउनपछि भने कर्जा प्रवाह निरन्तर घटेको पाइन्छ । तर, चैतमा घरजग्गा तथा रियल इस्टेट क्षेत्रमा साउनपछि हालसम्मकै उच्च कर्जा प्रवाह भएको छ । 

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा तथा रियल इस्टेट क्षेत्रमा २२ अर्ब ९ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष घरजग्गा तथा रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह ६१.५ प्रतिशतले घटेको छ ।

गत वर्षको ९ महिनाको अवधिमा ५७ अर्ब ३६ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो वर्ष आर्थिक संकट तथा सरकारले कित्ताकाटमा गरेको कडाइले गर्दा कारोबार घटेको विभागको भनाइ छ ।

साउनमा १६ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा भदौमा १ अर्ब ९६ करोड ७० लाख रुपैयाँ, कात्तिकमा ६६ करोड ५२ लाख रुपैयाँ, पुसमा २ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, माघमा २ अर्ब ५९ करोड ५७ लाख रुपैयाँ र फागुनमा १ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तर, मंसिर र पुसमा भने रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाह भएको देखिँदैन । साथै, असोजमा डेढ करोडसम्मको आवासीय व्यक्तिगत कर्जा प्रवाह भएको थिएन ।

आर्थिक संकट र सरकारले कित्ताकाटमा गरेको कडाइका कारण ह्वात्तै घटेको घरजग्गा कारोबार चैतदेखि सुधार देखिएको छ ।

त्यसैगरी, चैतमा साउनपछि उच्च कर्जा प्रवाह भएको छ । चैतमा बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा तथा रियल इस्टेट क्षेत्रमा विभिन्न विधामा सीमा तोकेर ऋण प्रवाह गर्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा डेढ करोडसम्मको आवासीय क्षेत्रमा १० अर्ब ६६ करोड १० लाख रुपैयाँ र रियल इस्टेट क्षेत्रमा ११ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले रियल इस्टेट क्षेत्रमा पनि विभिन्न प्रयोजनका लागि छुट्टैछुट्टै प्रकारका ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसमा चैत मसान्तसम्ममा डेढ करोड रुपैयाँसम्म आवासीय व्यक्ति घर ऋणबाहेक आवासीय रियल इस्टेट क्षेत्रमा २ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ र व्यावसायिक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रमा ३ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आम्दानी गर्ने व्यावसायिक कम्प्लेक्स क्षेत्रमा ४ अर्ब ३९ करोड रुपैयाँ र अन्य रियल इस्टेट (जग्गा खरिद तथा प्लटिङ) क्षेत्रमा ७९ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अन्य रियल इस्टेट क्षेत्रअन्तर्गत पर्ने जग्गा खरिद र प्लटिङ क्षेत्रमा ३ अर्ब १५ करोड ३८ लाख रुपैयाँ र पाँच महिना अथवा पाँच महिनाभन्दा बढी अवधिका लागि उद्देश्यविहीन रहेको क्षेत्रमा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ कर्जा भएको उल्लेख छ ।


अरिष्मा मोक्तान