१० करोड रुपैयाँसम्मको विदेशी लगानी अब अटोमेटिक रुटबाट



काठमाडौं । सरकारले विदेशी लगानीलाई स्वचालित मार्ग (अटोमेटिक रुट)बाट सेवा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी  अटोमेटिक रुटबाट विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७९ को पहिलो संशोधन गरी १० करोड रुपैयाँसम्म अटोमेटिक रुटबाट लगानी गर्न सक्ने व्यवस्था गरेको उद्योग विभागका विदेशी लगानी शाखा तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताए । उनका अनुसार अहिले राजपत्रमा अटोमेटिक रुटको मात्रै व्यवस्था छ । अबको केही दिनमा सरकारले लगानीको क्षेत्र र सीमा तोक्नेछ ।

यसअघि अटोमेटिक रुटबाट विदेशी लगानीको सेवा प्रदान गर्न सक्ने व्यवस्था थिएन । सरकारले यसअघि कुनै पनि लगानी भित्र्याउनका लागि कम्पनी रजिस्ट्रार र उद्योग विभागमा उद्योग दर्ता गर्नुपर्ने व्यवस्था थियो ।

राजपत्रअनुसार विदेशी लगानीकर्ताले शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल कायम रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।

यस्तो छ प्रक्रिया

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गर्नेछ ।

लगानीसम्बन्धी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजात प्रविष्ट गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीबाट पेस गर्नुभन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्न र सच्याउनुपर्ने भएमा सच्याउन सक्नेछ ।

‘प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले उपनियम (४) बमोजिम जाँच गरी आवश्यकताअनुसार सच्याएपछि विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सक्नेछ,’ राजपत्रमा उल्लेख छ ।

विभागको विद्युतीय प्रणालीमा पेस भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बरसहित लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइनेछ । जानकारीको अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ ।

विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा यस नियमावलीबमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिने विभागले जनाएको छ ।


क्लिकमान्डु