सन् २०२२ मा २६ करोड मानिस खाद्यसंकटको चपेटामा: राष्ट्रसंघ



एजेन्सी । द्वन्द्व, आर्थिक संकट र जलवायु विपत्तिका कारण गत वर्ष करिब २५ करोड ८० लाख मानिसलाई आपतकालीन खाद्य सहायता आवश्यक परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ ।

‘एक अर्बभन्दा बढी मानिस अहिले भोकमरीको चरम स्तरको सामना गरिरहेका छन् र केही भोकमरीको संघारमा छन् । यो अकल्पनीय छ, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘भोकमरीको अन्त्य गर्न, खाद्य सुरक्षा हासिल गर्न र सबैका लागि उन्नत पोषण प्राप्त गर्न मानवजातिले नसकेको यो तीतो याथार्थ हो ।’

सन् २०२२ मा ५८ देश वा क्षेत्रमा २५ करोड ८० लाख मानिसले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ४० प्रतिशतभन्दा बढी द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कंगो, इथियोपिया, अफगानिस्तान, नाइजेरिया र यमनमा बसोबास गर्दै आएका छन् ।

प्रतिवेदनमा समावेश गरिएका ५८ मुलुकमध्ये पाँच वर्षमुनिका तीन करोड ५० लाखभन्दा बढी बालबालिका कुपोषित भएको उल्लेख छ । भोकमरी र कुपोषणविरुद्ध लड्न आवश्यक पर्ने मानवीय सहायता आवश्यकताको तुलनामा कम भएको गुटेरेसले बताए ।

संयुक्त राष्ट्रसंघका अधिकारी तथा गैरसरकारी संस्थाका अनुसार गत महिना जलवायु परिवर्तन र द्वन्द्वका कारण कृषि उत्पादनमा भएको कमीले खाद्यान्न अभावजस्ता कारणबाट अफ्रिकामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

इथियोपिया, केन्या र सोमालियामा हरेक ३६ सेकेन्डमा एक जनाको भोकमरीका कारण मृत्यु हुने गरेको संयुक्त राष्ट्रसंघीय बाल संगठन युनिसेफ र गैरसरकारी संस्था केयर एन्ड अक्सफामले जनाएका छन् ।


क्लिकमान्डु