अमेरिकामा फेरि डुब्यो अर्को बैंक: फर्स्ट रिपब्लिक बैंक टाट पल्टियो, जेपी मोर्गनले किन्यो



एजेन्सी । अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ । फर्स्ट रिपब्लिक टाट पल्टिएको हो । यसअघि सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका थिए । पछिल्लो दुई महिनामा अमेरिकामा ३ बैंक डुबेका हुन् ।

सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक अमेरिकाको १४ औं सबैभन्दा ठूलो बैंक थियो। धनाड्यलाई कमशल धितो राखेर ठूलो ऋणी दिएका कारण यो बैंक डुबेको हो ।

नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले धनाड्यलाई चालु पुँजी कर्जाका नाममा कमशल धितोमा १७ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । उक्त ऋण जोखिममा रहेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको छ ।

तर, व्यवसायीहरुको चर्को विरोधका कारण चालु पुँजी कर्जामा गरिएको कडाइलाई केही समयका लागि पर धकेलिएको छ । यसको अर्थ नेपालका बैंकहरुको जोखिमलाई गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीको दबाब थेग्न नसकेर ०८२ सालसम्मका लागि धकेलेका छन् ।

अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेस एण्ड कम्पनीले संकटग्रस्त फस्र्ट रिपब्लिक बैंकलाई किनेको छ । बैंकलाई बचाउने सबै प्रयास विफल भएसँगै फर्स्ट रिपब्लिक बैंकलाई जेपी मोर्गनले किनेको हो ।

फस्र्ट रिपब्लिकको अवस्था संकटमा पुगेसँगै यसलाई नियामकहरुले आफ्नो नियन्त्रणमा लिएका थिए । अमेरिकी केन्द्रिय बैंकको फेडेरल रिजर्भले आफ्नो नियन्त्रणमा लिएको बैंकलाई सोमबार जेपी मोर्गनले किन्ने सम्झौता भएको हो ।

अब अमेरिकाको ८ राज्यमा रहेका फर्स्ट रिपब्लिक बैंकको ८४ कार्यालय जेपी मोर्गन चेस बैंकको रुपमा पुनः खुलेका छन् । फर्स्ट रिपब्लिक बैंकका खाताबहाक तथा ग्राहकहरु अब जेपी मोर्गनको ग्राहक बन्नेछन् । उनीहरुले अब आफ्नो एकाउन्टलाई जेपी मोर्गन चेस बैंकमा सञ्चालन गर्नेछन् । अर्थात ग्राहकहरुले फर्स्ट रिपब्लिकमा जम्मा गरेको पैसा पूर्ण रुपमा सुरक्षित रहेको छ ।

अमेरिकी नियामको बिमाको कोषलाई फस्र्ट रिपब्लिक बैंकले नोक्सान गरेका कारण करिब १३ अर्ब अमेरिकी डलर बराबरको जरिवाना भने बैंकले तिर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ । जेपी मोर्गन र फेडेरल डिपोजिट इन्सोरेन्स कर्पोरेसनले एकल परिवार तथा कमर्सियल ऋणको नोक्सानलाई पनि साझा गर्दै लैजाने बताइएको छ ।

जेपी मोर्गनले फस्र्ट रिपब्लिकको सम्पूर्ण सम्पत्ति पनि किन्नेछ । १३ अप्रिल २०२३ सम्ममा फस्र्ट रिपब्लिक बैंकसँग कुल सम्पत्ति करिब २२९.१ बिलियन अमेरिकी डलर थियो भने कुल जम्मा रकम १०३.९ बिलियन अमेरिकी डलर थियो ।

नियामको कब्जामा गएसँगै यो बैंकको स्वामित्व लिनका लागि जेपी मोर्गनबाहेक सिटिजन फाइनेन्सियल ग्रुप, पिएनसि फाइनेन्सियल सर्भिसेज ग्रुप, युएस बैंककर्प र बैंक अफ अमेरिकाले पनि बोलपत्र लगाएका थिए ।

यो वर्ष मार्चपछि बैंकको सेयर ९७ प्रतिशत सम्मले कम भएको थियो । मार्चमा १२२ अमेरिकी डलर प्रति सेयर रहेको सेयर मूल्य अहिले ३.५१ डलरमा सिमित रहेको छ ।

सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक जस्तै फस्ट रिपब्लिक बैंक डुब्नुको कारण पनि ऋण र लगानीको बोझ रहेको छ । अमेरिकी फेडेरल रिजर्वले महंगीसँग जुँध्नका लागि ब्याज दरमा गरेको बृद्धिले अमेरिकाको बैंकिङ क्षेत्रमा प्रत्यक्ष असर गरेको छ। जसको परिणामस्वरुप बैंकिङ क्षेत्रमा यसता घटनाहरु भइरहेका छन् ।

गत सोमबार फर्स्ट रिपब्लिक बैंकले बताएअनुसार ग्राहकहरुले यो वर्षको पहिलो तीन महिनामा नै १०२ बिलियन अमेरिकी डलरको भुक्तानी लिएका थिए। २०२२ को अन्त्यसम्ममा बैंकमा डिपोजिट १७६ बिलियन अमेरिकी डलर थियो ।

तर, यो वर्षको सुरुवातमा नै आधाभन्दा धेरै भुक्तानी गरिएको छ । बैंकले यो समयमा ९२ बिलियन अमेरिकी डलरको ऋण पनि लिएको थियो ।

गत बिहीबार राती फस्र्ट रिपब्लिकका लगानीकर्ता तथा सल्लाहकारहरुले अब आफूसँग सरकारको नियन्त्रणमा जानेबाहेक कुनै बाटो नभएको भन्दै सोही कदम चालेका थिए । अब भने यो बैंक जेपी मोर्गनको नियन्त्रणमा आएको छ ।


क्लिकमान्डु