स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.९०% पुग्दा एनआइसी एशिया बैंकको कसरी ०.८५% मात्रै ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको चैत मसान्तको तथ्यांक अनुसार २१ बाणिज्य बैंकको औषत खराब कर्जा ३.०२ प्रतिशत छ ।

चालू आर्थिक वर्षको ९ महिनामा भएको सुस्त आर्थिक कारोबारले कर्जा असूली नहुँदा बाणिज्य बैंकको खराब कर्जा बढेको हो ।

बैंकहरुले प्रकाशित गरेको ०७९ चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणको जानकारी अनुसार ४ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ ।

नेपाल एसबिआई बैंकको खराब कर्जा ०.९७ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ०.९० प्रतिशत, एनआईसी एशिया बैंकको ०.८५ प्रतिशत र एभरेष्ट बैंकको ०.७० प्रतिशत छ ।

हिमालयन बैंकको खराब कर्जा सबैभन्दा बढी छ । गत आर्थिक वर्षको चैत मसान्तमा ०.९९ प्रतिशत रहेको हिमालयनको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.५६ प्रतिशत पुगेको छ ।

धेरै खराब कर्जा हुने बैंकको सूचिमा कृषि विकास बैंक र नेपाल बैंक पनि छन् । कृषि विकास बैंकको खराब कर्जा गत वर्ष चैतमा २.३२ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४.३५ प्रतिशत पुगेको छ । यस्तै, नेपाल बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ ।

३ प्रतिशतभन्दा बढी खराब कर्जा हुने १० वटा बैंक छन् । चैत मसान्तमा सिटिजन्स बैंकको खराब कर्जा ३.९८ प्रतिशत, कुमारी बैंकको ३.९७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ३.९६ प्रतिशत, सिद्धार्थ बैंकको ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकको ३.९४ प्रतिशत पुगेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८८ प्रतिशत, नबिल बैंकको ३.८७ प्रतिशत, सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकको ३.४८ प्रतिशत, प्राइम बैंकको ३.०६ प्रतिशत छ ।

एनएबि बैंकको खराब कर्जा २.९६ प्रतिशत पुग्दा माछापुच्छ्रे बैंकको खराब कर्जा २.३७ प्रतिशत, सानिमा बैंकको २.२७ प्रतिशत, लक्ष्मी बैंकको १.८२ प्रतिशत छ ।

बैंकको पुँजीकोष अनुपात टाइट भएकाले थप कर्जा विस्तारका लागि पूरानो कर्जा असूलीमा आक्रामक बन्नु परेको हो । गैरबैंकिङ सम्पत्तिका रुपमा नसकारेको भए उक्त रकम बराबरको प्रोभिजन गर्नुपर्यो, जसले बैंकको पुँजीकोष अनुपातलाई अझै टाइट बनाउँथ्यो । त्यसकारण, बैंकले एनबीए बुक गरेर खराब कर्जा कम गर्ने र पुँजीकोषमा थप चाप पर्न नदिने रणनीति अबलम्बन गरेको हो 

ऋणीहरुले नियमित सावाँ ब्याज नतिर्दा खराब कर्जा बढेको राष्ट्र बैंक अधिकारीहरु बताउँछन् । यदि खराब कर्जा बढेमा राष्ट्र बैंकको नियमअनुसार कर्जा लगानी गरिएको रकम बराबरको रकम प्रोभिजन गर्नुपर्छ ।

कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको सावा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।

ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म साँवा–ब्याज भुक्तानी नगरेमा त्यस्तो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ ।

१ वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यसमा शतप्रतिशत प्रोभिजन बैंकले गरेर उक्त कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

खराब कर्जा सम्बन्धी विवरण प्रकाशित हुनुभन्दा अगाडि एनआइसी एशियाको खराब कर्जा ह्वात्तै बढ्ने चर्चा बजारमा चलेको थियो । त्यसकापछि दुई वटा तर्क थिए । पहिलो- पछिल्लो ५ वर्षमा लिएका आक्रामक नीति । दोस्रो, साना व्यवसायीमा अधिक कर्जा ।

एनआइसी एशियाले साना उद्यमीलाई बढी लगानी गरेकाले ब्याज नतिर्ने भन्दै चर्किएको आन्दोलनले एनआइसी एशियाको खराब कर्जा बढ्ने आंकलन कयौं व्यवसायी र बैंकरको थियो ।

तर, २१ बैंकमध्ये १७ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा बढी हुँदा एनआइसी एसिया १ प्रतिशतभन्दा कम खराब कर्जा हुने बैंकको सूचिमा छ ।

गत वर्ष चैत मसान्तमा ०.५१ प्रतिशत रहेको बैंकको खराब कर्जा यो वर्ष सोही अवधीमा ०.८५ प्रतिशत पुगेको छ ।

राम्रो भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा ०.९० प्रतिशत पुग्दा एनआइसी एशियाएको कम कसरी भयो ? राष्ट्र बैंकका अधिकारीहरुका अनुसार एनआइसी एशिया बैंकले करिब ३ अर्ब रुपैयाँ बराबरको धितो सकार्दै गैरबैंकिक सम्पत्तिमा गणना गरेकाले यो वर्ष खराब कर्जा कम देखिएको हो ।

खराब कर्जा रापसाफ गर्दा बैंकले सम्पत्तिले निश्चित प्रतिशत रकम मुल्यांकन गर्दै ऋण असुल भएको मान्ने र सम्पत्ति सकार्दा पनि केही रकम बाँकी रहेमा त्यस्तो रकमलाई नोक्सानमा देखाउने गरेका छन् ।

‘लिलाम गर्दा जग्गा बिक्री भइरहेको छैन । जसले गर्दा केही बैंकले आफैं सम्पत्ति सकार्दा कर्जा रापसाफ गरेको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘सम्पत्ति सकार्ने बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ । त्यसले कर्जा प्रोभिजन गर्नु पर्ने बाध्यता हट्नुका साथै खराब कर्जा घटाउँछ । एनआइसीको पनि यही भएको हो ।’

आफूहरुको कर्जा असूलीको प्रभावकारी नीतिका कारण खराब कर्जा अन्य बैंकको तुलनामा निकै कम रहेको एनआइसी एशिया बैंकका अधिकारीहरु बताउँछन् ।

‘हामी जे जति काम गर्छौं प्रष्ट भिजन र रणनीतिका साथ गर्छौं भन्ने दृष्टान्त हो खराब कर्जाको तथ्यांक,’ बैंकका एक अधिकारीले भने ।

बैंकको पुँजीकोष अनुपात टाइट भएकाले थप कर्जा विस्तारका लागि पूरानो कर्जा असूलीमा आक्रामक बन्नु परेको हो । गैरबैंकिङ सम्पत्तिका रुपमा नसकारेको भए उक्त रकम बराबरको प्रोभिजन गर्नुपर्थ्यो, जसले बैंकको पुँजीकोष अनुपातलाई अझै टाइट बनाउँथ्यो । त्यसकारण, बैंकले एनबीए बुक गरेर खराब कर्जा कम गर्ने र पुँजीकोषमा थप चाप पर्न नदिने रणनीति अबलम्बन गरेको हो ।

त्यसो त बैंकले कर्जा असूलीका लागि ‘आउट सोर्सिङ’ गरेर ‘लडाकू दस्ता’ नै गठन गरेको छ । त्यसको प्रभाव पनि कर्जा असूलीमा देखिएको हो ।

राष्ट्र बैंकले पछिल्लो त्रैमासमा कुन बैंकको गैरबैंकिङ सम्पत्ति कसरी बढ्यो भनेर अध्ययन गरिरहेको ती अधिकारीको भनाइ छ ।

‘सँधै बैंकहरुले आफैैं सम्पत्ति सकार्न सक्दैनन् । त्यसैले नेपालमा सम्पत्ति व्यवस्थापन सम्बन्धी काम गर्ने कम्पनी स्थापना गर्न जरुरी भइसकेको छ,’ ती अधिकारीले भने, ‘यदि आगामी दिनमा बैंकले आफैं सम्पत्ति सकार्न सकेनन् भने खराब कर्जा झनै बढ्छ ।’


क्लिकमान्डु