वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानीमा ४८ प्रतिशत वृद्धि, कुनको आम्दानी धेरै ?



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ह्वात्तै बढेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ४७.९२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुले ९३ अर्ब १७ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । चालू आवको सोही अवधिमा बैंकहरुले १ खर्ब ३७ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका छन् ।

बैंकका आम्दानीका अन्य स्रोत पनि हुन्छन् तर खुद ब्याज आम्दानी महत्वपूर्ण आम्दानीको स्रोत हो । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा सबै बैंकको खुद ब्याज आम्दानी बढेको छ । चैत मसान्तसम्म बैंकहरुको खुद ब्याज आम्दानी ११.६ देखि ९९.४९ प्रतिशतसम्म बढेको छ ।

बैंकहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा बढी खुद ब्याज आम्दानी नबिल बैंकले गरेको छ । बैंकले समीक्षा अवधिमा १२ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेको हो ।

यस्तै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । बैंकको गत आवको तेस्रो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ५८.५ प्रतिशतले बढेर ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ थियो ।

राष्ट्रिय वाणिज्य बैंकले ९ महिनामा ९ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमाससम्मको तुलनाम बैंकले ब्याज आम्दानी ५०.२२ प्रतिशतले बढाएको हो । यस्तै ९ महिनाको अवधिमा एनआईसी एसिया बैंकको खुद ब्याज आम्दानी ११.६ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड ५१ लाख, कुमारी बैंकको ८४.७५ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड ७१ लाख, प्रभु बैंकको ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड १४ लाख र हिमालयन बैंकको ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बैंकले ९ महिनाको अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३७.२ प्रतिशतले बढी हो । एनएमबी बैंकको खुद ब्याज आम्दानी ९ महिनामा ४६.४७ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ४६ लाख, कृषि विकास बैंकको ११.८४ प्रतिशतले बढेर ६ अर्ब २४ करोड ७३ लाख, सिद्धार्थ बैंकको २७.६१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ६१ लाख, एभरेस्ट बैंकको ५९.३७ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख र प्राइम बैंकको खुद ब्याज आम्दानी ९ महिनामा १८.०६ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड २५ लाख पुगेको छ ।

यस्तै सानिमा बैंकको खुद ब्याज आम्दानी ४७.०८ प्रतिशतले बढेर ४ अर्ब ९३ करोड ८१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७८.३५ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७२ लाख, सिटिजन बैंकको १९.५४ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ९१ लाख, सनराइज बैंकको ३७.५१ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ८३ लाख, लक्ष्मी बैंकको ८५.८८ प्रतिशतले बढेर ४ अर्ब १९ करोड ३२ लाख, माछापुच्छे्र बैंकको १४.७८ प्रतिशतले बढेर ४ अर्ब १३ करोड ५५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको ४४.७७ प्रतिशतले बढेर ४ अर्ब १३ करोड २१ लाख रुपैयाँ छ ।


क्लिकमान्डु