भन्सार कार्यालयहरुको चरम लापर्बाहीः फरक दरबन्दीमा जाँचपास गर्दा १ अर्ब राजस्व गुम्यो



काठमाडौं । देशभरका विभिन्न भन्सार कार्यालयहरुले वस्तुको जाँचपासमा चरम लापर्बाही गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनअनुसार भन्सार कार्यालयले वस्तुको आयात तथा निर्यातको दरबन्दी फरक शीर्षकमा जाँचपास गरेको पाइएको हो ।

विश्वको जुनसुकै मुलुकबाट वस्तु आयात गर्दा भन्सार कार्यालयमा वस्तुको पहिचान गरी सोहीअनुसार भन्सार महसुल अन्तःशुल्क र सोको मूल्य अभिवृद्धि कर लिइँदै आएको छ । आयातित तथा निर्यातित वस्तुको पहिचानसहित कर उठाउँदै आएकोमा भन्सार कार्यालयहरुले फरक दरबन्दी राखेर जाँचपास गर्दा राज्यले ठूलो नोक्सानी व्यहोरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा अधिकांश भन्सार कार्यालयले आयातित वस्तुमा फरक दरबन्दी लगाएर जाँचपास गर्दा राज्यले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार फरक दरबन्दी लगाई जाँचपास गर्दा १ अर्ब १४ करोड रुपैयाँ राज्यले राजस्व गुमाएको हो ।

भन्सार कार्यालयहरुले महसुल छुट, भाडा तथा बीमा छुट, सडक निर्माण दस्तुर, साफ्टा सुविधालगायत अन्य विभिन्न वस्तुको आयात तथा निर्यात गर्दा १ अर्ब १४ करोड रुपैयाँ छुट दिएका छन् । त्यसमा दरबन्दी फरक पर्न जाँदा अधिकांश वस्तुको आयातमा छुट भएको छ ।

महालेखाले उक्त छुट दिएको रकम असुल गर्नुपर्ने औंल्याएको छ । भन्सार विभागको महसुल मूल्यांकन तथा पुनरवलोकन शाखाले २०७८ असोज ४ को निर्णयअनुसार भाडा तथा बीमाको बिल पेस नगरिएको अवस्थामा भाडाबापत मूल्यको १० प्रतिशत र बीमाबापत २ प्रतिशत लिने गरी परिपत्र गरेको छ ।

तर, भन्सार कार्यालयले भारतीय आयल निगमबाट पैठारी हुने गरेको ग्याँसको बिलिङ गर्दा सम्बन्धित ग्याँस उद्योगको नाममा नेपाल आयल निगममार्फत् आपूर्ति उल्लेख गरी कारोबार भएकोमा नेपालको भन्सार विन्दुमा ग्याँसको बीमा र ढुवानीबापत ७ प्रतिशत रकम लिएको पाइएको छ । भन्सार विन्दुमा बीमा र भाडाको वास्तविक बिल र रकम घोषणा भएको देखिँदैन ।

यस्तो अवस्थामा थप छानबिन गरी परिपत्रअनुसार १० प्रतिशत भाडा र २ प्रतिशत बीमाको आधारमा महसुल लिनुपर्नेमा ७ प्रतिशतमात्र हिसाब गरी लिएकाले ५ प्रतिशत रकममा भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट भएको छ ।

उक्त भाडा बीमाको वास्तविक रकम निगमले भुक्तानी नगरी सम्बन्धित ग्याँस उद्योगले नै भुक्तानी गर्ने हुँदा निगमको अभिलेखबाट यकिन गरेर भैरहवा, वीरगन्ज, विराटनगरलगायतका ७ भन्सार कार्यालयका सम्बन्धित ग्याँस उद्योगसँग ५७ करोड ८५ लाख ११ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।

मेची भन्सार कार्यालयले पूर्ण तयारी विद्युतीय रिक्सा आयात गर्दा प्रतिसवारी १० हजारका दरले सडक निर्माण दस्तुर नलिई जाँचपास गर्दा छुट भएको राजस्व ६९ लाख ८३ हजार र विराटनगर भन्सार कार्यालयले भन्सार विन्दुको ९ पटकको आयातमा ७ प्रतिशत सडक निर्माण दस्तुर नलिई जाँचपास गर्दा छुट भएको राजस्व ३० लाख ८४ हजारसमेत गरी १ करोड ६७ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ ।

विराटनगर भन्सार कार्यालयबाट पैठारीकर्ताले पैठारी गरेको स्ट्रक्चर तथा सोको पार्ट्सबाट २० प्रतिशत भन्सार र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा साफ्टा छुट लिई ७.२५ प्रतिशत भन्सार र मूल्य अभिवृद्धि कर र एक्रिलिक इमुल्सनलाई भन्सार महसुल २० प्रतिशत, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरिएको छ ।

दरबन्दीअनुसारकै रकम असुल हुनुपर्नेमा साफ्टा सुविधा लगाई जाँचपास गरेकाले छुट भएको ७.२५ प्रतिशत भन्सार महसुल तथा सोको मूल्य अभिवृद्धि करसमेतको राजस्व ९५ लाख ९९ हजार रुपैयाँ, भैरहवा भन्सारको २७ लाख १७ हजार रुपैयाँ र वीरगन्ज भन्सार कार्यालयको छुट ९४ लाख ४४ हजार रुपैयाँसमेत २ करोड १७ लाख ६० हजार रुपैयाँ असुल गर्न बाँकी छ ।

भैरहवा र विराटनगर भन्सार कार्यालयबाट आयातकर्ताले ट्यांक आयात गर्दा (५० लिटरभन्दा कम क्षमताको फलाम वा इस्पातबाट बनेका अन्य सामान) बाट १५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा चिलरबाट १ प्रतिशत भन्सार महसुलमात्र लगाई जाँचपास गरेको कारणबाट छुट भएको भन्सार महसुल र सोको मूल्य अभिवृद्धि करसमेत ७३ लाख ६६ हजार असुल गर्नुपर्ने जनाएको छ ।

त्यस्तै, भैरहवा, विराटनगर, वीरगन्ज र नेपालगञ्ज भन्सार कार्यालयबाट पैठारीकर्ताहरूले बोन्डेक्स पैठारी गर्दा भन्सार दरबन्दी एक्रेलिक इमल्सन (एक्रेलिक म्याक्रिल, पिडिक्रिल, बोण्डेक्स, एक्रोसोल, रिभोसिस, भिसिक्रिल, इटिआइ ६०, रोडोलाइन, फ्विक्रिल एक्रेलिक, पोलिहाइड, प्राइमलएसी र अन्य) बाट साफ्टा सुविधा नपाउने गरी पेन्ट उद्योगको हकमा २० प्रतिशत र अन्यको हकमा ३० प्रतिशत भन्सार महसुल, ७ प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा फरक उपशीर्षकबाट १० प्रतिशत र साफ्टा सुविधा लिई ६ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि करमात्र लगाई जाँचपास गर्दा छुट भएको भन्सार महसुल अन्तःशुल्क र सोको मूल्य अभिवृद्धि करसमेत ४ करोड ३ लाख १२ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

भैरहवा र विराटनगर भन्सार कार्यालयबाट पैठारीकर्ताहरूले सोडियम कार्बोनेटमा १० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल गरी जाँचपास गर्नुपर्नेमा ५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लिई जाँचपास गरेको कारण छुट हुन गएको भन्सार महसुल र सोको मूल्य अभिवृद्धि करसमेत ५० लाख १९ हजार असुल गर्न निर्देशन दिइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार, विराटनगर, तोतोपानी, सुक्खा बन्दरगाह भन्सारबाट विभिन्न पैठरीकर्ताहरुले इन्टरक्टिभ डिस्प्ले पैठरी गर्दा कम्प्यूटर उल्लेख गरी जाँचपास गरेकामा स्पेसिफिकेसन म्यानुअल परीक्षण गर्दा बहुउपयोगी डिसप्ले भएको देखियो । यी मालवस्तु ठूला आकारका डिस्प्ले मनिटर भएको र तालिम तथा बैठकमा प्रस्तुतीकरणमा प्रयोग हुने प्रकृतिका मनिटरहरू रहेको र मुख्यतया मनिटर डिस्प्लेको उपयोगिता अधिक हुने हुँदा त्यस मालवस्तुलाई फरक भन्सार उपशीर्षकबाट जाँचपास गरेको छुट हुन गएको महसुल १ करोड ६ लाख २७ हजार असुल गनुपर्नेछ ।

उडवर्किङ मेसिन पैठारी गर्दा भन्सारबाट यान्त्रिक औजार अन्यबाट जाँचपास गरी ५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा भैरहवा र विराटनगर भन्सार कार्यालयबाट पैठारीकर्ताले पैठारी गरेको उडवर्किङ मेसिनलाई अन्य भन्सार उपशीर्षकबाट जाँचपास गरेको कारण १ करोड ६७ लाख २२ हजार रुपैयाँ छुट भएको छ ।

नुडल सिजनिङलाई भन्सार दरबन्दी २१०३९०९० बाट २० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा २१०३९०१० उपशीर्षकबाट १५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि करमात्र लगाई जाँचपास गर्दा वीरगन्ज भन्सार कार्यालयमा छुट भएको भन्सार महसुल र सोको मूल्य अभिवृद्धि कर  ४५ लाख ६ हजार रुपैयाँ र भैरहवा भन्सार कार्यालयको ११ लाख ४० हजार समेत ५६ लाख ४६ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

पर्ल प्याकेजिङलाई एसेटिक प्याकेजिङ कागजबाट २० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा भैरहवा र वीरगन्ज भन्सार कार्यालयबाट पैठारीकर्ताले पैठारी गरेको पर्ल प्याकेजिङलाई अन्य कागत र कागतगाताअन्तर्गत समावेश गरी १५ प्रतिशत भन्सार र मूल्य अभिवृद्धि करमात्र लगाई जाँचपास गर्दा छुट भएको भन्सार महसुल र सोको मूल्य अभिवृद्धि करसमेत ९१ लाख ७४ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ ।

त्यस्तै, भन्सार उपशीर्षक ८४१३४० मा उल्लिखित कंक्रिट पम्पहरूमा उल्लिखित मापक यन्त्र जोडेको वा नजोडेको कंक्रिट पम्पहरू र भन्सार उपशीर्षक नं. ८७०५९०९० ( मूलतः व्यक्ति वा वस्तुको यातायातको लागि भाडाबाहेकको खास उद्देश्यका मोटर गाडीहरू जस्तै स्प्रेइङ, लहरीहरू, घुम्ती वेबसप अन्य) लाई १० प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्ने व्यवस्था छ ।

रसुवा र वीरगन्ज भन्सार कार्यालयले भन्सार उपशीर्षक (८४२४) ब्लाष्टिक यन्त्रहरू, (८४७९१०) सार्वजनिक निर्माण कार्यका निमित्त इण्डिभिजुअल फड्सन भएका यन्त्रहरू अपलाइन्सेसलगायतबाट ५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाइ जाँचपास गरेकोले भन्सार महसुल र मूल्य अभिवृद्धि कर ३ करोड ७३ लाख ४७ हजार रुपैयाँ छुट भएको छ । उक्त रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

अनम्यानुफ्यक्चर्ड टोबाको भनी पैठारी गरेको सुर्तीको मूल्य प्रतिकिलो भारतीय रुपैंया ३१ देखि ४९५ सम्म रहेको देखिँदा उक्त मालवस्तु एउटै प्रकृतिको हुन सक्ने देखिँदैन । कार्यालयले ३० कारोबारबाट औसत मूल्य भारतीय रुपैयाँ १३० प्रतिकिलोका दरले पैठारी गरेको अनम्यानुफ्यक्चर्ड टोबाकोलाई भन्सार उपशीर्षक २४०३९९३० लगाई ३ करोड २६ लाख ९४ हजार मूल्यको १ लाख २८ हजार ४६५ किलो कच्चा सूर्तिमा ३० प्रतिशत भन्सार, प्रतिकिलो ४१८ रुपैयाँका दरले अन्तःशुल्क र मूल्य अभिवृद्धि करसमेत असुल गरेको छ ।

सामान्यतया भारतीय रुपैयाँ ३१ देखि १३० प्रतिकिलो पर्ने सुर्तीहरू अनम्यानुफ्याक्चर्ड हुने तर प्रतिकिलो ४७७ रुपैयाँ र सोभन्दा बढीमा आफ्नै सम्बद्ध कम्पनीबाट खरिद गरेको, यस्ता सुर्ती खरिद गर्न एक वर्ष अघिदेखि नै एड्भान्स दिएको अवस्थाले यो सुर्ती अर्धप्रशोधित होइनन् भन्ने अवस्था छैन ।

वीरगन्ज भन्सार कार्यालयबाट पैठारीकर्ताले अनम्यानुफ्याक्चर्ड टोबाको भनी जाँचपास गरेको उक्त मालवस्तु भन्सार दरबन्दी २४०१२० बाट जाँचपास गरेको सम्बन्धमा थप छानबिन गरी पैठारी गरेको प्रतिकिलो भारतीय रुपैयाँ ४७७ भन्दा बढी मूल्यका सुर्तीमा भन्सार उपशीर्षक २४०३९९३० बाट जाँचपास नगर्दा घटी असुल भएको महसुल तथा कर १७ करोड ८७ लाख १४ हजार र सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट छुट भएको १ करोड ६७ लाख ७६ हजारसमेत असुल गर्न निर्देशन दिएको छ ।

महालेखा प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न प्रकारको वस्तुमा अन्य दरबन्दी  लगाई जाँचपास गर्दा छुट हुन गएको १० करोड १० लाख ८२ हजार रुपैयाँ, वीरगञ्ज भन्सारबाट १५ करोड ६२ लाख ४२ हजार रुपैयाँ, सुक्खा बन्दरगाह कार्यालयबाट २ करोड १० लाख १७ हजार रुपैयाँ, भैरहवा भन्सार कार्यालयबाट २ करोड ५४ लाख रुपैयाँ,  विराटनगर भन्सार कार्यालयबाट १ करोड ८३ लाख ४० हजार रुपैयाँ, मेची भन्सार कार्यालयबाट ४९ लाख रुपैयाँ,  कृष्ण भन्सार कार्यालयबाट  ६७ लाख ७३ हजार रुपैयाँ, कैलाली भन्सारबाट २ करोड ८४ लाख ७१ हजार रुपैयाँ र रसुवा भन्सार कार्यालयबाट १ करोड ९० लाख ४६ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ ।


अरिष्मा मोक्तान