बीमा कम्पनीलाई पुँजी वृद्धिको मौका, हकप्रद सेयर जारी गर्ने सुविधा पाउँदै



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजी वृद्धि गर्ने मौका दिने भएको छ । प्राधिकरणले असार मसान्तसम्म कम्पनीहरुलाई पुँजी बढाउने समय थप गरिदिएको हो ।

कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्न निर्देशन दिएको थियो । जसअनुसार तोकिएको समय सीमाभित्र ४ वटा कम्पनीले मात्रै न्यूनतम चुक्ता पुँजी पुर्‍याएका छन् ।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफले मात्रै तोकेबमोजिमको न्यूनतम पुँजी कायम गरेको छ । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीले पुँजी पुर्‍याएका हुन् ।

तोकिएको समयमा अधिकांश कम्पनीले न्यूनतम पुँजी कायम गर्न सकेका छैनन् । जसले गर्दा प्राधिकरणले असार मसान्तसम्म समय थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त समयभित्र पनि कम्पनीहरुले तोकिएबमोजिमको न्यूनतम पुँजी कायम नगरेमा हकप्रदमार्फत पुँजी बढाउन निर्देशन दिइने उनको भनाइ छ ।

‘अधिकांश कम्पनीले पुँजी बढाउन सकेनन्, जसले गर्दा असार मसान्तसम्ममा समय दिने निर्णय प्राधिकरणले गरेको हो,’ पौडेलले क्लिकमान्डुसँग भने, ‘असार मसान्तसम्म पनि पुँजी नजुटाउने कम्पनीलाई हकप्रद सेयरमार्फत पुँजी पुर्‍याउन सुविधा दिइनेछ ।’

असार मसान्तसम्ममा कम्पनीहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक कारोबार बन्द भएपछि कम्पनीहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्छन् । कम्पनीहरुले बुझाएको अपरिष्कृत वित्तीय विवरणको नाफालाई मूल्यांकन गरी नाफाको आधारमा हकप्रद सेयर जारी गर्न दिने पौडेलको भनाइ छ ।

‘कम्पनीहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफाका आधारमा पुँजीकरण गर्न दिनुपर्छ,’ उनले भने, ‘प्राय: कम्पनी नोक्सानीमा छैनन् । नाफामै छैन । सोही आधारमा हकप्रद सेयर जारी गर्न दिइनेछ ।’

हालसम्म पनि पुँजी वृद्धिका लागि कुनै पनि योजना नबनाएका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई भने ऐनअनुसार कारबाही गरिने प्राधिकरणको भनाइ छ । हालसम्म २१ वटा बीमा कम्पनीले मर्जरमा जाने निर्णय लिएका छन् ।

जीवन बीमा कम्पनीतर्फ ९ कम्पनी चारवटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन् । यस्तै, १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका हुन्  । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये ८ निर्जीवन बीमा कम्पनी चारवटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । अन्य चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

हालसम्म निर्जीवनतर्फ ४ र जीवनतर्फ २ वटा मर्जर सफल भइसकेको छ । नियामकले तोकेबमोजिमको पुँजी पुर्‍याउन भन्दै १९ मध्ये ९ वटाले एक-आपसमा गाभ्ने तथा गाभिने निर्णय लिएका हुन् । ९ मध्ये ४ कम्पनी २ वटामा कायम भई एकीकृत कारोबार थालनी गरिसकेका छन् ।

हाल ९ बीमा कम्पनी मर्जर प्रक्रियामा छन् । निर्जीवन बीमा कम्पनीतर्फ अजोड, युनाइटेड र प्रुडेन्सियल र आईएमई जनरल मर्जर प्रक्रियामा छन् । यस्तै, जीवन बीमातर्फ प्राइम, युनियन र गुराँस, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर प्रक्रियामै छन् ।

प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्नेछन् । मर्जरपछि यो कम्पनीको पुँजी पुग्नेछ । महालक्ष्मी लाइफ र प्रभु लाइफले महालक्ष्मी प्रभु लाइफको नामबाट कारोबार गर्नेछन् । यो कम्पनीको पुँजी पुग्दैन । यस्तै, मर्जरपश्चात सूर्यज्योतिको र सानिमा रिलायन्सको पनि पुँजी पुगेको छैन । यी कम्पनीलाई प्राधिकरणले हकप्रद सेय जारी गर्न दिनेछ ।

प्रुडेन्सियल र आईएमएमई मर्ज भई बन्ने नयाँ बन्ने कम्पनी आईजीआई प्रुडेन्सियलको पुँजी पुग्नेछ । यस्तै, अजोड र युनाइटेडले भने युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यो कम्पनीलाई पनि प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिनेछ । कम्पनीहरुले वैशाखभित्रै एकीकृत कारोबार गर्ने योजना पेस गरेका छन् ।

मर्जरपश्चात बनेको हिमालयन एभरेस्ट र सानिमा जीआईसीको चुक्ता पुँजी पुगेको छैन । यी कम्पनीले हकप्रद सेयरमार्फत पुँजी पुर्‍याउनेछन् ।

नेसनलको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीको १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्नेछ । एसियनले हकप्रद सेयरमार्फत पुँजी बढाउने योजना पेस गरेको छ । एलआईसीले भने हकप्रदमार्फत पुँजी बढाउने प्रक्रिया अघि बढाइसकेको छ ।

यस्तै, चारवटा जीवन कम्पनी भने सर्वसाधारणका लागि आईपीओ जारी गरी पुँजी वृद्धि गर्ने योजनामा सामेल भएका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र आईएमईले सर्वसाधरणका लागि साधारण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र नेको इन्स्योरेन्सले पनि पुँजी पुर्‍याउन सकेका छैनन् । यस्तै, सरकारी स्वामित्वमा रहेका कम्पनीले भने पुँजी वृद्धिको ठोस योजना नै बनाउन सकेका छैनन् ।


क्लिकमान्डु