९ महिनामा करिब २ खर्ब लगानी प्रतिबद्धता, नाफासहित साढे १६ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब २ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ खर्ब ८० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता जनाइएको हो ।

९ महिनाको अवधिमा देशभर विभिन्न स्थानमा २१६ वटा उद्योग दर्ता भएका छन् । सोही उद्योगबाट करिब २ खर्ब लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ । उक्त दर्ता भएको उद्योगबाट १६ हजार ३६० जनाले रोजगारी प्राप्त गर्नेछन् ।

विभागमा दर्ता भएको उद्योगमध्ये सबैभन्दा बढी साना उद्योग छन् । देशभर २१६ वटा उद्योग दर्ता हुँदा १०४ वटा साना, ६० वटा मझौला र ५२ वटा ठूला उद्योग छन् । जसमा ९ महिनाको अवधिमा उत्पादन क्षेत्रमा १ वटा, पर्यटन क्षेत्रमा ४१ वटा, विद्युत क्षेत्रमा ३ वटा, सेवामूलक क्षेत्रमा ३७ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ८ वटा, कृषि क्षेत्रमा ६ वटा, खनिज क्षेत्रमा ४ वटा र इन्फ्रास्ट्रक्चर क्षेत्रमा १ वटा उद्योग दर्ता भएका छन् ।

विभागमा चैत महिनामा मात्रै ३३ वटा उद्योगले २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साथै, हालसम्ममा ८ हजार ९० उद्योग दर्ता भई २ खर्ब ७ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, सोही अवधिमा विभागमा विदेशी लगानीमा १९२ वटा नयाँ उद्योग दर्ता गरेका छन् । उक्त दर्ता भएको उद्योगले २८ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै, सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) गरी १०६ वटा उद्योगमार्फत् १३ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागमा स्वीकृत भएको नयाँ उद्योग र एसपीए/एसएसए र टीटीए गरी करिब ४२ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । साथै, विदेशी लगानी प्रतिबद्धता जनाएको उद्योगबाट १० हजार ९२७ जनाले रोजगारी पाउनेछन् ।
त्यसैगरी, चैत महिनामा मात्रै विदेशी लगानीमा ३३ वटा उद्योग दर्ता भएका छन् । उक्त उद्योगबाट ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

नाफासहित साढे १६ अर्ब रुपैयाँ लैजान प्रस्ताव

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब ४२ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिँदा सोही अवधिमा विदेशी कम्पनीहरुले नाफासहित रोयल्टीवापतको साढे १६ अर्ब रुपैयाँ लैजान प्रस्ताव गरेका छन् ।

विभागअनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा नाफासहित रोयल्टीवापत १६ अर्ब ५३ करो ८६ लाख रुपैयाँ लैजान प्रस्ताव आएको छ । उक्त अवधिमा नेपाली रुपैयाँ २ अर्ब ११ करोड रुपैयाँ, १२ लाख ४५ हजार अमेरिकी डलर, ३० करोड ६३ लाख रुपैयाँ भारतीय रुपैयाँ र ७ हजार युरो रोयल्टीवापत लैजान प्रस्ताव पेस गरिएको छ ।

साथै, कम्पनीले गरेको आम्दानीबाट १३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ लाभांस लैजान पनि सिफारिस गरेको विभागको भनाइ छ ।

त्यसैगरी, चैत महिनामा मात्रै रोयल्टीवापत २ करोड ६ लाख नेपाली रुपैयाँ, ७३ हजार अमेरिकी डलर, १५ लाख ४५ हजार रुपैयाँ भारतीय रुपैयाँ र ३ अर्ब १४ करोड ५३ लाख रुपैयाँ लाभांस विदेश लैजान प्रस्ताव आएको विभागले जनाएको छ ।


क्लिकमान्डु