भन्सार विभागले उठायो लक्ष्यको ५८ प्रतिशत राजस्व, गत वर्षभन्दा २३ प्रतिशत कम



काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म भन्सार विभागले २ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले चैत मसान्तसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । ९ महिनाको अवधिमा विभागले लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

विभागले गत वर्ष चैत मसान्तसम्म ३ खर्ब ७१ रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष सोही अवधिमा गत वर्षभन्दा २३ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्का गत वर्षभन्दा आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको बताउँछन् ।

चालू आर्थिक वर्षको ९ महिनामा गत वर्षभन्दा १७ प्रतिशतले आयाट घटेपनि सोही अवधिमा राजस्व संकलन भने २३ प्रतिशतले घटेको छ । गत वर्ष चैत मसान्तसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा करिब १२ खर्ब १३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

पूर्व अर्थ सचिव रामेश्वर खनाल आयातमा भएको गिरावट भन्दा राजस्व संकलन बढी प्रतिशतले घट्नु संकास्पद भएको बताउँछन् ।

‘आयात बराबर राजस्व घट्नुलाई स्वभाविक मान्न सकिन्थ्यो,’ खनालले भने,‘भन्सार बिन्दुबाट चुहावट नभएको भए यो परिणाममा राजस्व घट्ने थिएन । आयात घटेकाले राजस्व घटेको हो भन्ने तर्कमा दम छैन ।’

भन्सार विभागका सूचना अधिकारी खड्का भने बढी राजस्व संकलन हुने सवारी साधन, पेट्रोलियम पदार्थ जस्ता समाग्रीको आयात घटेकाले गत वर्षभन्दा काम राजस्व संकलन भएको बताउँछन् ।

‘भन्सार बिन्दुमा ४ हजारभन्दा बढी गाडी थन्किएका छन्,’ खड्काले भने,‘यदी नेपाल राष्ट्र बैंकले केही लचिलो मौद्रिक नीति लियो भने गाडीको आयात बढ्न सक्छ । र, त्यसले राजस्व पनि बढ्छ होला ।’

पछिल्लो दिनमा आयात बढे पनि भन्सार विभागले चैतमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन ।

फागनुमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा चैत महिनामा करिब १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । विभागले चैतमा ५७ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३४ अर्ब ७६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ६० प्रतिशत मात्रै हो ।

चैत सम्मको राजस्व संकलनको आधारमा चालू आर्थिक वर्षमा विभागले ४ खर्ब रुपैयाँ बढी राजस्व संकलन गर्ने सम्भावना छैन ।
भन्सार विभागका सुचना अधिकारी खड्का पछिल्लो दिनहरुमा दैनिक १ अर्ब रुपैयाँ राजस्व संकलन भईरहेकाले आगामी ९० दिनमा ९० अर्ब रुपैयाँ भन्दा केही बढी राजस्व संकलन हुन सक्ने बताउँछन् ।

‘मौद्रिक नीति लचिलो नहुँदा सम्म भन्सार बिन्दुमा पुगेका ४ हजार सवारीसाधान आयात हुने सम्भावना नरहेको व्यवसायीहरुले बताएका छन्,’ खड्काले भने,‘सवारी साधानको आयात वृद्धि नहुँदा सम्म राजस्व संकलन उल्लेख बढ्दैन् ।’

यो वर्ष गत वर्ष बराबर अर्थात् १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको आयात नहुने भएकाले गत वर्ष बराबर राजस्व संकलन नहुने भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागलाई चालू आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिईएको छ । विभागलाई गत वर्ष भन्दा ३२ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य दिइएको हो ।

यदी विभागले ४ खर्ब रुपैयाँ राजस्व संकलन गर्यो भने पनि गत वर्षभन्दा २० प्रतिशत कम राजस्व संकलन हुनेछ ।


क्लिकमान्डु