के नेपालका बैंकहरु लुटेरा हुन् ?



अमेरिकाका ४ वटा ठूला बैंकहरु जेपी मर्गन चेजको नाफा ५१.८१ प्रतिशत, वेल्स फार्गोको ३२ प्रतिशत, सिटिग्रुपको ६.९८ प्रतिशत र पीएनसीको नाफा २० प्रतिशतले बढेको समाचार आइरहँदा भारतको एचडीएफसी बैंकको आर्थिक वर्ष २०२२/२३ को वित्तीय विवरण सार्वजनिक भयो ।

एचडीएफसी बैंक भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो र एसबीआई पछिको भारतको दोस्रो ठूलो बैंक हो । यसको निक्षेप (१८८३४ अर्ब भारतीय रुपैयाँ) नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपभन्दा साढे ५ गुणा बढी हो ।

एचडीएफसी बैंकले प्रकाशित गरेको आव २०२२/२३ को वित्तीय विवरणअनुसार खुद नाफा (४४१ अर्ब भारु) अघिल्लो वर्षको तुलनामा १९.३४ प्रतिशतले बढेको छ । नेपालका वाणिज्य बैंकहरुको खुद नाफा चालू आव २०२२/२३ को दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा २.८६ प्रतिशतले घटेको छ । मर्जर तथा प्राप्ति भएका बैंकहरुको नाफा समायोजन गर्दा नकारात्मक नाफा वृद्धिमा केही कमी आउला ।

एचडीएफसी बैंकले आव २०२२/२३ का लागि लाभांश प्रतिसेयर १९ भारु (अघिल्लो आवमा भारु १५.५० प्रतिसेयर) प्रस्ताव गर्ने घोषणा गरेको छ । चुक्ता पुँजी कम (भारू ५.५८ अर्ब) तथा रिजर्भ बढी (भारू २७९६.४१ अर्ब) र प्रतिसेयर अंकित मूल्य १ भारू भएको बैंकले १९०० प्रतिशत लाभांश घोषणा गरेको भन्दा अतिशयोक्ति होला । तर, सम्पूर्ण पुँजीमा प्रतिफल १५.७७ प्रतिशत (अघिल्लो आवमा प्रतिफलः १५.३९ प्रतिशत) कमाएकोमा सबैको ध्यान आकृष्ट हुनै पर्छ ।

नेपालका बैंकहरुको पुँजीमा प्रतिफल (आरओई) ११ प्रतिशतको हाराहारीमा रहेको छ । वितरणयोग्य नाफाको कुरा गर्दा त अझ दयनीय अवस्था छ । नेपालका अधिकांश व्यवसायहरुको वित्तीय विवरण प्रकाशित हुने गरेको छैन । तर, बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासिकरुपमा (राष्ट्र बैंकमार्फत मासिकरुपमा) प्रकाशित गर्ने वित्तीय विवरणमा रकम हेर्ने तर, पुँजीको प्रतिफल नहेरि नेपालका बैंकहरुले अर्बौं नाफा कमाए, लुटे, चुसे, ठगे भन्ने भाष्य स्थापित गर्दै सर्वसाधारणमा भ्रम सृजना गर्नेहरुको जमात बढ्नु चिन्ताको विषय हो ।

व्यापार व्यवसाय राम्रो नभएको बेलामा बैंकहरुले अर्बौं नाफा गरेर लुट्ने काम गरिरहेका छन् भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ । हाम्रा व्यवसायीले पहिला कस्तो गरेका थिए र अहिले कस्तो गरेका छन् भन्ने थाहा पाउन वित्तीय विवरण हेर्न नपाए पनि अर्थतन्त्रको अवस्था हेर्दा कतिपय व्यवसायीले सामान्यतया राम्रो गर्न नसकेको हुन सक्ने अनुमान गर्न सकिन्छ । तर, के सम्झन र बुझ्न जरूरी छ भने, बैंकिङ ढिलो गरी अर्थतन्त्रको प्रवृत्ति पछ्याउने (Lagging Cyclical) व्यवसाय हो । यो भनेको पहिला अर्थतन्त्र /व्यवसायले नराम्रो गर्दछन् र त्यसपछि बैंकहरुले नराम्रो गर्दछन् ।

बैंकहरुले ऋणीबाट अन्तिम रुपैयाँसम्म साँवा र व्याज असुल्न कोशिस गर्छन् । आफूले दिएको कर्जाको व्याजसमेत उठाउने बैंकको दायित्व हो । बैंकहरुले प्रवाह गरेको कर्जाको रकम बैंकहरुको होइन, यो रकममा सर्वसाधारणले रगत पसिना बगाएर आर्जेको रकमबाट खाइनखाइ, आफ्ना बालबच्चाको गाँस काटेर बचाएर बैंकमा जम्मा गरेको रकमसमेत समाविष्ट छ।

सर्वसाधारणले बैंकहरुमा राखेको पैसालाई हामी ‘निक्षेप’ भन्छौं । तर, यसलाई अर्को दृष्टिकोणले हेर्ने हो भने, यो रकम निक्षेपकर्ताले बैंकलाई दिएको कर्जा हो र यस्तो कर्जा सर्वसाधारणले बैंकलाई दिँदा कुनै किसिमको धितो लिएका हुँदैनन् ।

बैंकहरुले मागेको बेलामा निक्षेप फिर्ता दिन्छन् र जम्मा गरेको निक्षेपमा व्याज दिन्छन् भन्ने विश्वासका आधारमा कुनै धितोविना सर्वसाधारणले बैंकमा पैसा राखेका हुन्छन् । निक्षेपकर्ताको त्यो विश्वास कायम राख्नु बैंकहरुको धर्म हो, कर्तव्य हो । यदि सबै कर्जा ग्राहकले लिएर साँवा व्याज तिरेनन् भने बैंकहरुले पनि निक्षेपकर्तालाई न त व्याज तिर्न सक्छन् न त साँवा नै फिर्ता गर्न सक्छन् । यस्तो अवस्थामा निक्षेपकर्ताले बैंकप्रति विश्वास गर्ने छैनन् र बैंकमा निक्षेप जम्मा गर्ने छैनन् । फलस्वरुप, बैंकिङ प्रणालीको अस्तित्व मेटिने छ । आजको युगमा बैंकिङविनाको अर्थतन्त्र कल्पनासमेत गर्न सकिँदैन ।

तसर्थ, बैंकिङ प्रणालीको अस्तित्व रक्षाका लागि पनि ऋणीले सम्पत्ति बेचेर भए पनि कर्जाको साँवा तथा व्याज तिर्न कोशिस गर्दछन् । जब ऋणीले अब साँवा व्याज तिर्न सकिँदैन भनेर दुबै हात ठड्याउन थाल्छन् तब बैंकहरुको व्यवसाय पनि बिग्रन थाल्छ । संसारभरि हुने यही नै हो ।

चालू आवमा नेपालका वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा कर्जा वापतको नोक्सानी व्यवस्था ह्वात्तै बढेको देखिन्छ । आव २०२१/२२ को पहिलो अर्धवार्षिक समयावधिमा कर्जा नोक्सानी व्यवस्था समेतको इम्पेरिमेन्ट खर्च ३ अर्ब ९० करोड रुपैयाँ भएकोमा चालू आवको सोही समयावधिमा सो खर्च बढेर १६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यसले बैंक र व्यवसायहरुको व्यापार सन्तोषजनक नभएको प्रष्ट संकेत गर्दछ ।

ग्राहकले सधैं सम्पत्ति बेचेर भए पनि कर्जाको साँवा-व्याज तिर्न सक्दैनन् । ऋणीले दिगोरुपमा साँवा तथा व्याज तिर्न नाफा पनि दिगो रुपमै कामउनु पर्ने हुन्छ । ऋणीहरुको व्यवसाय जति लामो समयसम्म नराम्रो भइरहन्छ, त्यति समयसम्म उनीहरुले कर्जाको साँवा तथा व्याज तिर्न सक्दैनन् र बैंकहरुको व्यवसाय पनि स्वत: खराब हुँदै जान्छ । तसर्थ ऋणी, बैंक र अन्य सरोकारवालाहरु एकै ठाउँमा आएर अप्ठेरोमा परेका ऋणीको पहिचान गरी उनीहरुको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेर व्यवसायीको आत्मविश्वास बढाउँदै उपयुक्त व्यावसायिक वातावरण सृजना गर्न आवश्यक छ । विगतमा पनि यस्ता सहुलियत र छुट प्रदान गरिएको थियो र अहिले पनि जरुरी छ ।

भारतलगायत अन्य देशहरुमा बैंकिङलगायत अन्य व्यवसायले नाफा गरेको समाचारहरु सगर्व प्रस्तुत गरिन्छ र त्यसलाई सबै तहमा सकारात्मक रुपमा लिने गरिएको छ । तर, नेपालमा बैंकिङलगायत सबै नाफा कमाउने व्यवसायहरु लुटेरा हुन् भन्ने भाष्य फैलाइदिने प्रवृत्ति बढ्दै गएको छ । यो भयानक दुर्घटनाको संकेत हो । हामी कहिलेसम्म यस्तो नकारात्मक भइरहने ? विहानदेखि बेलुकासम्म चोकमा, पसलमा र बिभिन्न सामाजिक सञ्जालहरुमा नकारात्मक टिप्पणी मात्रै सुनिन्छ । के हाम्रा यस्ता कृयाकलापले समाज खुसी र सुखी होला ? हामीमध्ये कसैले नबुझेर नकारात्मक टिप्पणी गरिरहेका छौं भने बैंक तथा वित्तीय संस्था, मिडिया र हामीमध्ये कै बुझ्नेहरुले प्रशिक्षण गर्न नसकेको कमजोरीको रुपमा लिएर आवश्यक प्रशिक्षण गर्न ढिला भइसकेको छ । तर, हामीमध्ये कै कसैले जानी बुझी नकारात्मक टिप्पणी गर्ने, भ्रम फैलाउने काम गरेको छ भने यो कार्य देश र समाजको लागि घातक हुनेछ र हामी सबै यस्ता तत्वहरुबाट समयमै सचेत हुन आवश्यक छ ।

(लेखक क्षेत्री पूर्वबैंकर हुन् ।)


क्लिकमान्डु