१३ बीमा कम्पनीका सञ्चालक अयोग्य, वैशाख २ गतेभित्र हट्नुपर्ने



काठमाडौं । गत कात्तिक २२ गतेदेखि लागू भएको बीमा ऐन, २०७९ को दफा ५० मा बीमा कम्पनीको सञ्चालकको अयोग्यताको बारेमा व्यवस्था छ ।

ऐनअनुसार बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत सेयर लिएको बहालवाला संचालक वा कर्मचारी बीमा कम्पनीको सञ्चालक हुन अयोग्य हुनेछन् । उक्त व्यवस्था ऐनको दफा ५० को ‘ङ’ मा उल्लेख छ ।

ऐनको दफा ५० को ‘ट’ अनुसार सार्वजनिक पद धारण गरेको वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक, बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारी समेत बीमकको सञ्चालक हुन अयोग्य हुनेछन् ।

उक्त व्यवस्थाले सरकारी स्वामित्वमा सञ्चालित बीमा कम्पनीसहित १३ कम्पनीका सञ्चालक अयोग्य देखिएका हुन् । तर, नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले सेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनीत गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

बीमा ऐनको उक्त व्यवस्थाअनुसार हाल बीमा कम्पनीहरुको सञ्चालक पदमा रहेका सञ्चालकहरुलाई १५ दिनभित्र व्यवस्थापन गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको थियो । प्राधिकरणले कम्पनीहरुलाई चैत १७ गते पत्र पठाउँदै ऐनअनुसार सञ्चालकहरुको व्यवस्थापन गरी गराई १५ दिनभित्र जानकारी गराउन भनिएको थियो ।

जसअनुसार वैशाख २ गतेभित्र कम्पनीहरुले सञ्चालकहरुको व्यवस्थापन गरिसक्नुपर्ने भएको हो ।

हालसम्म कम्पनीहरुबाट ऐनमा भएको प्रावधानअुसार सञ्चालकहरुको व्यवस्थापन गरिएको जानकारी नआएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘कम्पनीहरुबाट हालसम्म जानकारी आएको छैन,’ पौडेलले क्लिकमान्डुसँग भने,‘हामीले दिएको समय वैशाख २ गते सकिन्छ ।’ कम्पनीहरुले उक्त समयभित्र पनि सञ्चालकहरुको व्यवस्था नगरेमा कारबाही गरिने उनको भनाइ छ ।

कुन कम्पनीका सञ्चालक अयोग्य ?

ऐनमा भएको व्यवस्थाले नेपाल पुनर्बीमा कम्पनीका ४ जना सञ्चालक नै अयोग्य देखिएका छन् । बीमा कम्पनीहरुको तर्फबाट सञ्चालक बनेका शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सका सिइओ सुनिल बल्लभ पन्त पुनर्बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य देखिएका छन् । यस्तै, इश्वरी प्रसाद अर्याल र मदन पोखरेल अर्थमन्त्रलायका कर्मचारी भएकाले सञ्चालक बन्न अयोग्य छन् ।

नेशनल लाइफमा देवेन्द्र रमन खनाल सञ्चालक पदमा छन् । उनी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी रहेको इन्स्योरेन्सको वेवसाइटमा उल्लेख छ ।

प्राइम लाइफमा अध्यक्षसहित ३ जना सञ्चालकको पद अयोग्य देखिन्छ । इन्स्योरेन्सको अध्यक्ष पद समालिरहेका पियुस राज अर्याल लक्ष्मी बैंकमा कार्यरत कर्मचारी हुन् । उनी लक्ष्मी बैंकका चिफ फाइनान्सियल अफिसर/कम्पनी सचिव हुन् ।

यस्तै, सञ्चालक दिपेश अमात्य कम्पनीका सञ्चालक हुन् । उनी पनि लक्ष्मी बैंकमा नै चिफ रिटेल फाइनान्सियल सिर्भस पदमा कार्यरत कर्मचारी हुन् । यस्तै, कम्पनीका स्वतन्त्र सञ्चालक रेशम थापा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक हुन् ।

नेपाल इन्स्योरेन्सका अध्यक्ष लक्ष्मण पौडेल नेपाल बैंकका चिफ क्रेडिट अफिसर हुन् । जसअनुसार इन्स्योरेन्सको सञ्चालक पदमा रहन उनी अयोग्य देखिन्छन् ।

प्रभु इन्स्योरेन्सका सञ्चालक महेश प्रसाद खनाल कर्मचारी सञ्चय कोषका कामु मुख्य प्रबन्धक हुन् । उनी पनि कम्पनीको सञ्चालक बन्न अयोग्य देखिन्छन् ।

प्रभु लाइफ इन्स्योरेन्सका मणिराम पोखरेल प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । पोखरेल इन्स्योरेन्सको सञ्चालक बन्न अयोग्य देखिन्छन् ।

आइएमई लाइफका दुई जना सञ्चालक अयोग्य देखिन्छन् । युगेश भक्त वादे श्रेष्ठ र दिप चन्द्र रेग्मी अयोग्य देखिन्छन् । श्रेष्ठ आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत हुन् भने रेग्मी ग्लोबल आइएमई बैंक चिफ फाइनान्सियल अफिसर हुन् ।

सानिमा रिलायन्स लाइफका सञ्चालक सुवर्ण दास श्रेष्ठ पनि इन्स्योरेन्सको सञ्चालक बन्न अयोग्य देखिन्छन् । श्रेष्ठ सानिमा माइ हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक अम्बिका प्रसाद पौडेल नेपाल टेलिकमका सञ्चालक हुन् । जसअनुसार पौडेल पनि कम्पनीको सञ्चालक बन्न अयोग्य छन् ।

नेको इन्स्योरेन्सका सञ्चालक विजय रमण पौडेल राष्ट्रिय वाणिज्य बैंकका डेपुटि एक्जुकेटिभ अफिसर हुन् । पौडेल पनि कम्पनीको सञ्चालक बन्न अयोग्य छन् ।

एनएलजी इन्स्योरेन्सका सञ्चालक सुरेश विक्रम खत्री नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । खत्री पनि कम्पनीको सञ्चालक बन्न अयोग्य हुनेछन् ।

राष्ट्रिय बीमा संस्थानमा अर्थमन्त्रालबाट अरुण पोखरेल र नेपाल सरकारको तर्फबाट राजन कृष्ण अर्याल सञ्चालक छन् । यस्तै, राम प्रसाद गौतम नेपाल राष्ट्र बैंकबाट र प्रकाश कुमार अधिकारी नेपाल बैंकबाट सञ्चालक छन् । ऐनअनुसार संस्थानमा यी ४ जना नै सञ्चालक बन्न अयोग्य मानिनेछन् ।

राष्ट्रिय बीमा कम्पनीका सञ्चालकहरु कृष्ण प्रसाद शर्मा, दामोदर प्रसाद सुवेदी र विश्वराज बराल पनि सञ्चालक बन्न अयोग्य छन् । शर्मा अर्थमन्त्रालयका कर्मचारी हुन् भने सुवेदी कर्मचारी संयच कोषमा कार्यरत कर्मचारी हुन् । विश्वराज बराल नेपाल बैंकका कर्मचारी हुन् ।


क्लिकमान्डु