निर्जीवन बीमा व्यवसायको ३३ प्रतिशत हिस्सा मोटर बीमाले ओगट्यो



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, सामुद्रिक बीमा, हवाई बीमा, अग्नि बीमा, मोटर बीमा, इन्ञ्जिनियरिङ तथा सम्पूर्ण ठेकेदार जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसाय गर्दै आएका छन् ।

कम्पनीहरुले गर्ने यी विभिन्न बीमाहरुमध्ये मोटर बीमाको हिस्सा सबैभन्दा धेरै देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आवको फागुनसम्मको तथ्यांकअनुसार मोटर बीमाको व्यवसाय धेरै देखिएको हो ।

प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले ३२.९६ प्रतिशत हिस्सा ओगटेको छ । फागुनसम्ममा कम्पनीहरुले मोटर बीमाबाट ८ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले ११ लाख ९५ हजार ६७७ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् । कम्पनीहरुले यस अवधिसम्ममा कुल २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँको कुल व्यवसाय गरेका छन् ।

नेपालमा मोटर बीमालाई अनिवार्य गरिएको छ । सरकारले मोटर बीमाअन्र्तगत तेस्रो पक्ष बीमालाई समेत अनिवार्य गरेको छ । प्रत्येक सवारीधनीले आफ्नो सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले कम्पनीहरुमा मोटर बीमाको अंश अन्य बीमाको तुलनामा बढी भएको हो ।

सरकारले मोटर बीमालाई अनिवार्य गरेका कारण बीमा कम्पनीहरुको पोर्टफोलियोमा मोटर बीमाको हिस्सा बढी देखिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

‘कसैले अलिकति पैसा कमायो । उसलाई मोटरको आवश्यकता पर्छ । गाडी, मोटरसाइकल किन्छन् ,’ उनले भने,‘जसले गर्दा बीमा गर्नुपरि हाल्यो । यो अनिवार्य पनि छ।’

मोटर बीमा पछि कुल बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा धेरै छ । कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २२.७३ प्रतिशत छ । यस अवधिमा कम्पनीहरुले ५ अर्ब ८८ करोड १५ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् ।

सम्पत्ति बीमापछि निर्जीवन बीमा व्यवसायमा इन्ञ्जिनियरिङ तथा सम्पूर्ण ठेकेदार जोखिम बीमाको हिस्सा धेरै छ । यस अवधिमा कुल बीमा व्यवसायमा इन्जिनियरिङ तथा सम्पूर्ण ठेकेदार जोखिम बीमाको हिस्सा १७.१० प्रतिशत छ । कम्पनीहरुले यस बीमाबाट ४ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, यस अवधिमा निर्जीवन बीमाको कुल व्यवसायमा विविध बीमाको हिस्सा १०.९४ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्सा ५.६८ प्रतिशत, हवाई बीमाको हिस्सा ५.२६ प्रतिशत र सामुद्रिक ५.१४ प्रतिशत प्रतिशत छ ।

कम्पनीहरुले विविध बीमाबाट २ अर्ब ८३ करोड, कृषि तथा बाली बीमाबाट १ अर्ब ४६ करोड ९६ लाख, हवाई बीमाबाट १ अर्ब ३६ करोड १६ ला र सामुद्रिक बीमाबाट १ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

लघुबीमाको हिस्सा न्यून

सरकारले कम्पनीहरुलाई आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबीमा व्यवसाय गर्न निर्देशन दिएको थियो  । सरकारले लघुबीमा कार्यक्रमलाई विस्तार गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ को बजेट उक्त सीमा तोकेको थियो ।

तर, कम्पनीहरुले उक्त निर्देशनलाई मान्दै आएका छैनन् । फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले गरेको कुल बीमा व्यवसायमा लघुबीमाको हिस्सा ०.१९ प्रतिशत मात्रै हुन आउँछ ।

कम्पनीहरुले लघुबीमाबाट ४ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा लघुबीमाका २५ हजार २२६ वटा बीमालेख जारी गरेका छन् । जुन निर्जीवन बीमा कम्पनीहरुमा जारी भएको कुल बीमालेखको १.३४ प्रतिशत हुन आउँछ ।

लघुबीमाको प्रिमियम सानो भएका कारणले ठूला बीमा कम्पनीहरुको आकर्षण लघुबीमा व्यवसायमा पर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।

लक्ष्यअनुरुप लघु बीमाले गति नलिएको भन्दै बीमा प्राधिकरणले छुट्टै लघुबीमा कम्पनीको परिकल्पना गरी ७ वटा कम्पनीलाई लघुबीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो । जसमध्ये २ वटा कम्पनीलाई प्राधिकरणले कारोबारका लागि लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ ।


बिजया बास्कोटा