उद्योग वाणिज्य महासंघलाई काबिल हातहरुको जिम्मा लगाउँदै छुः शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको जिम्मा काबिल हातमा हस्तान्तरण गर्न लागेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको ५७ वार्षिक साधारणसभा स्वागत मन्तव्य राख्दै अध्यक्ष गोल्छाले आफूले महासंघको जिम्मा काबिल हातमा दिन लागेको बताएका हुन् ।

‘हाम्रो प्रतिकुलतालाई अनुकुलतामा बदल्ने गर्भिलो इतिहास हामीसँग छ,’ उनले भने, ‘यो अबको दिनमा पनि सम्भव छ । किनभने अब महासंघलाई मैले काबिल हातको जिम्मा लगाउँदै छु ।’

उनले महासंघको जिम्मेवारी बहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनु पर्ने पनि बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू, उद्योगमन्त्रीज्यू यो अवसर यहाँहरुले सिर्जना गरिदिनु पर्छ । हाम्रो खुट्टामा अवरोधको जञ्जिर लगाउने सुविधा अब छैन । हामी चाहन्छौं, हाम्रो संगठित संघर्ष सरकार विरुद्ध आन्दोलनका लागि कहिल्यै पनि नहोस ।’

उनले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारणको समुन्नती र सरकारका लागि होस् भन्ने उल्लेख गर्दै सरकारले अवसर दिएमा मुलुकमा सम्मुन्नति ल्याउने बताए ।

‘यो सम्भव छ,’ गोल्छाले भने, ‘नीजि क्षेत्र अघि बढेपछि भारतमा १.४ प्रतिशतले गरिबीको दर घटेको छ । हामीजस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुगेको छ । ३० वर्षअघि १ सय दिनको अवधीमा ८ लाख मानिस गुमाएको रुवान्डाको २० वर्ष यताको वार्षिक आर्थिक बृद्धिदर औसतन ८ प्रतिशत रहेको छ । अहिले अफ्रिकाको दोस्रो व्यवसायिक नीति भएको मुलुक पनि बनेको छ ।’

विभिन्न देशहरुमा भएको अवस्थालाई उदृत गर्दै उनले नेपालले पनि यस्तो गर्न सकिने बताए । उनले भने, ‘यदि यो देशहरुले गर्न सक्छन् भने हामीले किन सक्दैनौं? अरु अगाडि बढ्न सक्छन् भने हामी कहाँ अल्झाईरहेका छौं, यसलाई पहिल्याउन पर्छ ।’

सँगै उनले अहिलेको आर्थिक गतिविधि डेढ वर्षअघिको अवस्थामा आधा घटेको बताए । उत्पादन लागत, औपचारिक रुपमा ९ महिनादेखि ८ प्रतिशतको दरमा रहेको मूल्यले खर्च गर्ने शक्ति कम भएको पनि गोल्छाले बताए ।

उनले भने, ‘सरकारले राष्ट्र बैंकले उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्छ । बैंकहरुले पनि उद्यम व्यवसाय चल्न सकेन भने बैंक पनि समस्यामा पर्ने बुझ्नु पर्छ । नीजि क्षेत्रले काम गर्न सकेन भने सरकार पनि अफ्ठ्यारोमा पर्छ भन्ने सबैले बुझेका छन् ।’

कर्मचारीलाई तलब दिन नसक्नेलगायतका विषयमा चिन्ता उत्पन्न भएको बताउँदै गोल्छाले राजनीतिक दल तथा सरकारले नीजि क्षेत्र बिना बिकास सम्भव छैन भन्ने बताएतापनि बोलीमा भएको कुरा व्यवहारमा नदेखिएको बताए । राज्य चलाउने रकम नीति क्षेत्र र सर्वसाधारणको उपक्रमबाट आउँछ भन्ने कुरा राजनीतिक व्यक्तित्व, सरकारी कर्मचारीलगायतले बुझ्नुपर्ने उनले बताए ।


क्लिकमान्डु